बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिधा र खुला छलफल नगर्दा पार्टीभित्र समस्या आयो : प्रवक्ता श्रेष्ठ

सोमबार, २६ साउन २०७७, १४ : ०३
सोमबार, २६ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो सर्त भएको बताएका छन् । उनले कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आजसम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु गराउनु रहेको समेत बताएका छन् । 

‘त्यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो । अत नेकपाभित्र अन्तरपार्टी जनवाद, छलफल, बहस र अन्तरसंघर्षलाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ । अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले बिचारको परिमार्जन एवं विकास, संगठनको व्यवस्थापन, परिचालन एवं ‬सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उद्देश्यमा योगदान पुर्याउँछ’, श्रेष्ठले भनेका छन् । 
पार्टीभित्रको विवाद उत्कर्षमा पुगका बेला श्रेष्ठको यस्तो भनाइ आएको हो । 

उनले अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्याउन वैचारिक, सैध्दान्तिक ,राजनीतिक, प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाउँमा एउटा कुरा,अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो’, प्रवक्ता श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन ,बरु जटील बनाउँछ। त्यसैले पार्टी, बर्ग,आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा, खुला र स्पष्टरुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं। पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।‬’

पछिल्लो केही दिनयता नेकपाका नेताबीच नै बोलाचाल बन्द जस्तै छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप