सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा गर्ने सिलवालको तयारी, किर्ते कागजबारे अनुसन्धान हुँदै

मङ्गलबार, २७ भदौ २०७४, ०४ : ००
मङ्गलबार, २७ भदौ २०७४

काठमाडौँ - आइजीपी नियुक्तिमा अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गर्ने निर्णय गरेपछि उनले राजीनामा दिने तयारी गरेका छन् ।

सर्वोच्च अदालतको बृहत इजालसले कार्यसम्पादन मूल्यांकनमा सिलवाल भन्दा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालअघि देखिएको भन्दै सोमबार उनको रिट खारेज गरेको हो ।

स्रोतका अनुसार अदालतको निर्णयपछि उनी प्रहरीबाट राजीनामा दिएर सामान्य जीवनमा फर्कने तयारी गरेका हुन् ।

सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गरेपछि सिलवालले आफूलाई अन्याय भएको जनाई निवेदन दिएका थिए ।  त्यसको सुनुवाइमा अदालतले कार्यसम्पादन र मूल्याङ्कनका आधारमा बढुवा गर्न परमादेश दिएको थियो । अदालतको उक्त आदेशपछि सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई बढुवा गरेको थियो । अर्यालविरुद्ध पनि सिलवालले निवेदन दायर गरेका थिए । 

यता, सर्वोच्च अदालतले कार्यसम्पादन मूल्यांकनमा अर्याल नै अघि रहेको निर्णय गरेपछि सिलवालले अदालतमा किर्ते कागज प्रस्तुत गरेको पुष्टि भएको भन्दै यसबारे अनुसन्धान पुनः शुरु भएको छ ।

यसबारे अनुसन्धान गर्ने जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौँलाई जिम्मा दिइएको स्रोतले जानकारी दिएको छ ।

सिलवालले प्रस्तुत गरेको किर्ते कागजातकै आधारमा तत्कालिन प्रधानन्यायाधीस सुशीला कार्की नेतृत्वको इजलासले कार्यसम्पादन मूल्यांकनमा कूल औसत अंक नवराज सिलवालको भएको आदेश दिएको थियो ।

कार्की नेतृत्वको इजलासले चैत ८ गते गरेको आदेशको पूर्ण पाठमा भने ४ वर्षको कार्यसम्पादन मूल्याङ्कनमा कूल औसत अङ्क सबैभन्दा बढी नवराज सिलवालको र दोस्रोमा प्रकाश अर्याल रहेको उल्लेख गरेको थियो ।

अदालतको निर्णयपछि सिलवालमाथि कारवाही हुने सम्भावना बढेर गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप