शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गर्मीमा छालाको समस्या र समाधानको उपाय

शनिबार, २४ साउन २०७७, १२ : ३६
शनिबार, २४ साउन २०७७

 चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ । 
    
टन्टलापुर घाम, अत्यधिक गर्मी, वातावरणीय आद्रताले गर्दा छालाको हेरविचार गर्नुपर्ने हुन्छ । त्यसमाथि वातावरणीय प्रदूषण र धुलो धुवाँले छालाको प्राकृतिक चमकलाई निस्तेज पार्ने वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा हरेन्द्र झा बताउँछन् । यसकै कारण छाला अत्यधिक चिल्लो, दागले भरिएको तथा डढेको कालो जस्तो देखिने उनको भनाइ छ । 

गर्मीको मौसममा बढ्ने तापक्रम र आद्रताले गर्दा छालामा हुने चिल्लो निकाल्ने ग्रन्थी बढी सक्रिय हुन्छन् । जसले गर्दा चिल्लो छाला अझै बढी चिल्लो तथा सुक्खा छाला फुस्रो र दाग पूर्ण देखिने उनको भनाइ छ । उनले भने, “छालामा हुने रंग बनाउने कोशीकाले धेरै रंग बनाउँछन्, जसले गर्दा छाला डढेको र कालो देखिन्छ ।” बढदो तापक्रमले चिल्लो निकाल्ने ग्रन्थीको छिद्र ठूलो भएर जान्छन् जसमा चिल्लो, धुलो, फोहर तथा किटाणु जम्मा हुन्छन् । यी सबै कारणले गर्दा डन्डिफोर, चायाँ, पोतोको समस्या बढेर जाने उनको भनाइ छ । छालामा बुढ्यौलीको लक्षण चाँडै देखिन्छ । साथै छालाको क्यान्सर रोगको सम्भावना पनि बढेर जाने डा झाले बताए ।

डा झाले गर्मी मौसममा छाला बचाउनका लागि विभिन्न उपाय रहेको बताए । चिल्लोरहित वा चिल्लो सफा गर्नसक्ने फेसवासको प्रयोग उपयुक्त हुने उनको भनाइ छ । उनले भने, “सुक्खा छाला वा मिश्रित छालाका लागि फिँज नआउने अनुहार सफा गर्ने क्रिम प्रयोग गर्न सकिन्छ ।” दिनभरिमा चार÷पाँचपटकसम्म अनुहारलाई सफा गर्नु राम्रो हुने उनको सुझाव छ । 

बजारमा पाइने राम्रो खालका एन्टी अक्सिडेन्ट सेरम प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । जसले छालाको चिस्यानलाई जोगाइराख्नुका साथै यसलाई वातावरणीय प्रभावबाट पनि सुरक्षित राख्न मद्दत गर्दछ । सबै प्रकारको छालाका लागि यो राम्रो विकल्प मानिन्छ । हामीले आफ्नो खाने कुरामा पनि एन्टी अक्सिडेन्टको प्रयोग बढाउनसक्छौँ । झाले भने, “हरियो सागसब्जी, कागती, सुन्तला, गोलभेँडा, सुक्खा फल जस्तै छोकडा, किसमिस, ओखर आदिको प्रयोग गर्नाले छाला चम्किलो र जवान देखिन्छ ।” 

यस्तै गर्मीका बेलामा हप्तामा एक वा दुइपटक अनुहारमा फेस प्याकको प्रयोग उपयुक्त हुन्छ । राति सुत्न अगाडि पानीले अनुहार राम्ररी सफा गरिसकेपछि उपयुक्त फेस प्याकको प्रयोग गर्नु पर्ने चिकित्सक बताउँछन् । यसले छाला नरम, मुलायम हुनको साथै चाँया, डन्डिफोरको समस्यालाई पनि कम गर्छ । गर्मीको मौसममा सन स्क्रीनको साथ एकदमै भरपर्दो हुने डा झाको भनाइ छ । राम्रो सनस्क्रीन जसको प्रयोगले विकिरणको शरीरमा प्रभाव कम पर्दछ । सनस्क्रीन बिहान ८ बजे र दिउँसो १२ बजे प्रयोग गरेमा छाला बचाउन सकिने उनको भनाइ छ । गुणस्तरमा एसपिएफ १५ देखिमाथि प्रयोग गर्न उनको सुझाव छ । 

गर्मीको मौसमा कम शृङ्गार गर्न उनले सुझाव दिए । राम्रो स्किन टोनरको प्रयोग गर्नाले छालाको छिद्र खुल्छन् । जसले चिल्लो जम्मा हुन पाउँदैन । घ्युकुमारी वा काँक्रो भएको टोनर प्रयोग गर्नु फाइदा जनक हुने उनको भनाइ छ । राम्रो, नरम, मुलायम छालाका लागि प्रशस्त पानी पिउनु उपयुक्त हुन्छ । गर्मीको बेलामा दैनिक थोरैमा दुई÷तीन लिटर पानी पिउनाले शरीरलाई चाहिने पानीको मात्रा पुग्ने डा झाको भनाइ छ । 

पूरै अनुहारको तुलनामा आँखा वरिपरिको छाला अझै पातलो र नरम हुन्छ । ह्यालोरोनिक एसिड वा काँक्रो एवं महबाट बनेको आँखाको जेल प्रयोग गर्नाले छालालाई चाहिने ओस पुग्छ । जसले गर्दा छालामा चाउरी पर्ने समस्या नहुने उनको भनाइ छ । चर्को घाममा काम नपरी घर बाहिर नहिँड्न, सनस्क्रीनको लगातार प्रयोग गरिराख्ने, अनुहार छोप्ने लुगा वा सनग्लासको प्रयोग गर्ने, चिसो पानीको स्नान गर्ने आदिले पनि छालालाई स्वस्थ, चम्किलो र ताजा बनाइराख्ने डा झाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप