शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षमा दोस्रो बजारमा ११० अर्बको सेयर थपियो

शनिबार, २४ साउन २०७७, ११ : ४८
शनिबार, २४ साउन २०७७

काठमाडौं । दोस्रो बजारमा एक वर्षमा १ खर्ब १० रुपैयाँ बराबरका सेयर थपिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १ सय ३६ वटा स्क्रिपका ९९ अर्ब ८४ करोड ३३ लाख कित्ता बराबरको स्टक सूचीकृत भएका हुन् । सो आर्थिक वर्षमा १३६ कम्पनी मध्ये ८१ कम्पनीले बोनस सेयर वितरण गरेका थिए । बोनस सेयर वितरण गर्ने ती कम्पनीहरुको २८ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ बराबरका २८ करोड ६८ लाख ९८ हजार कित्ता सेयर बजारमा सूचीकृत भएका छन् । ती सेयरहरु दोस्रो बजारमा कारोबारयोग्य सेयर हुन् । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रारम्भिक पुँजीको २५ प्रतिशत बराबर डिबेञ्चर अनिवार्य रुपमा जारी गर्नुपर्ने निर्देशन दिएसँगै यो वर्ष ऋणपत्रको सूचीकरण उल्लेख्य रुपमा बढेको छ । यो वर्ष १६ वटा कम्पनीले डिबेञ्चर जारी गरेकोमा ३१ अर्ब ९४ करोड रुपैयाँको डिबेञ्चर बिक्री भई दोस्रो बजारमा सूचीकृत भएको छ । १ हजार रुपैयाँ प्रतिकित्ता मूल्य रहेको त्यस्तो डिबेञ्चर १० देखि १२ बैंक तथा वित्तीय संस्थाहरुले प्रतिशत ब्याजदरमा बिक्री गरेका थिए । 

प्रारम्भिक साधारण निष्कासन (आईपीओ) तर्फ भने आर्थिक वर्ष २०७६/७७ २३ अर्ब रुपैयाँका नयाँ सेयर थपिएको छ । यो वर्ष जम्मा ८ वटा कम्पनीका आईपीओ निष्कासन भएका थिए । साञ्जेन, रसुवागढी र हिमाल दोलखा गरी तीनवटा हाइड्रोपावर कम्पनी तथा सबैको लघुवित्त, आँधिखोला लघुवित्त, घोडाघोडी लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी एनआईशी एशिया लघुवित्तको सेयर मात्रै सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । पुनर्बीमा कम्पनी अहिले सेयर बजारको सर्वाधिक ठूलो कम्पनीमध्ये ५ औं नम्बरमा छ ।  

त्यस्तै, यो वर्ष ६ वटा म्युचुअल फण्डको ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको ५७ करोड ४० लाख इकाई आईपीओ समेत बिक्री भएर दोस्रो बजारमा सूचीकृत भएको छ । यो उल्लेखित आईपीओ बाहेकको ईकाई आईपीओ हो । नबिल ब्यालेन्स फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २, एनआईसी एशिया ब्यालेन्स फण्ड, सनराइज म्युचुअल फण्ड, सिटिजन्स म्युचुअल फण्ड २ तथा एनएमबी ५० समेत गरी सो मात्रामा इकाई बिक्री भएको नेप्सेको तथ्यांक छ । यो प्रतिईकाई १० रुपैयाँमा बिक्री हुने गरेको छ । 

यो वर्ष १३ वटा कम्पनीले हकप्रद सेयर जारी गरी सो सेयर दोस्रो बजारमा सूचीकृत गरेका छन् । ३ वटा निर्जीवन बीमा कम्पनी, एउटा जीवन बीमा कम्पनी, ५ वटा लघुवित्त, एउटा विकास बैंक तथा ३ वटा फाइनान्स कम्पनीका हकप्रद सेयरहरु यो वर्ष जारी भएकोमा ४ अर्ब ६८ करोड रुपैयाँ बराबरका सेयर यो अवधिमा थपिएका छन् । त्यसमध्ये जीवन कीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र फाइनान्स कम्पनीहरुले न्यूनतम चुक्तापुँजी पुर्याउने प्रयोजनका लागि यस्तो सेयर जारी गरेका हुन् भने लघुवित्त र विकास बैंकले पुँजी वृद्धिको प्रयोजनका लागि मात्रै यस्तो हकप्रद सेयर जारी गरेका हुन् । यो वर्षदेखि राष्ट्र बैंकले भन आफ्नो नियमनमा रहेका बैंक तथा वित्तीय संस्थाको हकप्रद बिक्री बन्द गरिदिएको छ । 

२० संस्था गाभिएर ९ वटामा सीमित
आर्थिक वर्ष २०७६/७७ मा विभिन्न संस्थाहरु मर्जर तथा भई १० वटा कायम भएका छन् । ओमी लघुवित्तसँग नागरिक लघुवित्त, ग्लोबल आईएमई बैंकसँग जनता बैंक, कालिका लघुवित्तले जनसेवी लघुवित्तसँग, देव विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकसँग, सुर्योदर लघुवित्त र त्रिलोक लघुवित्त, तिनाउ विकास बैंकसँग मिसन डेभलपमेन्ट तथा एनएमबि बैंकसँग ओम डेभलपमेन्ट बैंक मर्जरमा गएका थिए । 

त्यस्तै, प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंक र बन्काई विकास बैंकलाई तथा  साइन रेसुङ्गा बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक आफूमा गाभेको छ । मर्जर तथा प्राप्तिपछि १५ अर्ब रुपैयाँ बराबरका सेयर स्वाप भएर नयाँ कम्पनीको सेयरमा रुपान्तरण भएका छन् । 

साउन लागेपछि थप ६ अर्बको सेयर
नयाँ आर्थिक वर्ष सुरु भएको ३ सातामै ६ अर्ब रुपैयाँ बराबरका सेयर थपिएका छन् । यो अवधिमा ६ वटा एक्विजिसन र मर्जर, १५ वटा कम्पनीको बोनस सेयर र ३ वटा कम्पनीको आईपीओ सूचीकृत हुँदा थप ६ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर थपिएको हो । 

यो अवधिमा देव विकास बैंक अहिले कुमारी बैंकमा विलय भएर एकीकृत कारोबार गरेको छ । त्यस्तै, मेगा बैंक लिमिटेडले गण्डकी विकास बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु समेत गरेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स, साधना लघुवित्त, एनआईशी एशिया लघुवित्त लगायतको आईपीओ समेत सूचीकृत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप