शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा राजापाक्षको पार्टी अत्यधिक मतका साथ विजयी

शुक्रबार, २३ साउन २०७७, २२ : २१
शुक्रबार, २३ साउन २०७७

एजेन्सी । श्रीलङ्कमा बुधबार भएको संसदीय निर्वाचनबाट सत्तारुढ दल अत्यधिक मतका साथ विजयी भएको छ ।  प्रधानमन्त्री महेन्दा राजापाक्ष नेतृत्वको श्रीलङ्का पुडुजाना पेरामुना (एसएलपीपी) ले संसदमा अत्यधिक बहुमत ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ ।  सो पार्टीले कुल २२५ सिटमध्ये १४५ सिटमा सफलता हासिल गरेको आयोगको जनाएको छ । यो जित सङ्ख्या सर्वेक्षणकर्ताहरुले देखाएको पुर्वानुमान नतिजाभन्दा पनि बढी हो । सर्वेक्षणकर्ताहरुले १३० देखि १३५ सिटसम्म विजयी हुनसक्ने अनुमान गरेका थिए । 

आयोगले सार्वजनिक गरेको नतिजासँगै सत्तारुढ दल दुईतिहाइ बहुमतसहित संसदमा उपस्थित भएको छ ।  सत्तारुढ दलभन्दा धेरै पछाडि रहेको पूर्व राष्ट्रपति सजिथ प्रेमादास नेतृत्वको युनाईटेड पिपल्स फ्रन्टले ४५ जना मात्रै सांसदलाई जिताउन सफल भएको छ । त्यसैगरी अर्को विपक्षी दल आइटिएकेले भने दश सिटमा मात्रै विजयी हासिल गरेको छ ।  

पूर्व प्रधानमन्त्री रनिल विक्रमादित्यले नेतृत्व गरेको श्रीलङ्काको सर्वाधिक पुरानो पार्टी युनाईटेड नेशनल पार्टीले भने २२५ मध्ये एक ठाउँमा पनि आफ्नो उम्मेदवारलाई जिताउन नसकेर संसदमा शून्य भएको छ ।   पछिल्लो नतिजा सार्वजनिक भएसँगै वर्तमान प्रधानमन्त्री महेन्दा राजापाक्षले नै फेरि नयाँ प्रधानमन्त्रीका रूपमा सपथ खाने सम्भावना देखिएको छ । यही हप्ता उनले सपथ खाएर अर्को हप्ता मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने अनुमान गरिएको छ । श्रीलङ्काको संविधान अनुसार मन्त्रीपरिषद् बढीमा ३० जनाको मात्रै गराउन सकिने छ । 

निर्वाचन आयोगले नतिजा सार्वजनिक गरेको केही समयपछि राष्ट्रपति गोटावाया राजापाक्षले सरकार गठनका लागि दुई तिहाइ ल्याएको पार्टीका नेता मेहन्दा राजापाक्षलाई आह्वान गरिसकेका छन् । श्रीलङ्कामा सहोदर दाइ प्रधानमन्त्री र भाइ राष्ट्रपति भएका छन् । श्रीलङ्काको राजनीतिमा दुई दशकदेखि राजापाक्ष परिवारको प्रभाव रहेको छ । राजपक्ष दाजुभाई विभिन्न विवादमा पनि मुछिदै आएका छन् ।

गत नोभेम्बरदेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका दाइ राजापाक्षले यसअघि सन् २००५ देखि २०१५ सम्म देशको राष्ट्रपतिका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । श्रीलङ्कामा ठूलो समस्याका रुपमा रहेको तमिल विद्रोहीले मच्चाउदै आएको हिंसालाई त्यतिबेला अन्त्य गराउन राजापाक्ष दाजुभाईको नै भूमिका रहेको ठानिन्छ । कतिपयले भने तमिल विद्रोह दमनपूर्वक अन्त्य गर्न उनीहरूले बर्बर सैनिक कारबाही गरेको आरोप पनि लगाउने गरेका छन् । 

गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि गोटाबाया राजापाक्षविरुद्ध लागेका भ्रष्टाचारका सबै अभियोगहरू फिर्ता भएका थिए । राष्ट्रपतिलाई प्राप्त हुने कानुनी उन्मुक्तिका आधारमा ती अभियोग फिर्ता गरिएको थियो ।  उनीहरूलाई अहिलेको निर्वाचनसँगै प्राप्त व्यापक जनमतका आधारमा केही संवैधानिक व्यवस्थाहरु पनि परिवर्तन गर्न बाटो खुलेको छ ।

श्रीलङ्कामा कोरोनाभाइरसको महामारी फैलिरहेकै बेला गत बुधबार संसदीय निर्वाचन भएको हो । यसअघि दुई पटक मतदानको मिति तोकेर पनि सारिएको थियो । महामारीका बीचमा भएको निर्वाचनमा पनि झण्डै ७१ प्रतिशत मतदाता मतदानमा सहभागी भएका थिए ।  श्रीलङ्कामा अहिलेसम्म तीन हजारभन्दा कम मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने कम्तीमा ११ जनाको मृत्यु भएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप