शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कहर: मास्क नलगाउनेमाथि प्रशासन निर्मम, ब्यारेकमा सतर्कता

शुक्रबार, २३ साउन २०७७, १९ : ०८
शुक्रबार, २३ साउन २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखले कोरोना संक्रमणको जोखिमबाट बच्न नयाँ सुरक्षा रणनीति लागू गर्ने निर्णय गरेका छन् । आइतबारदेखि जिल्ला प्रशासन कार्यालयहरुबाट दिइने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको छ ।

कोरोना जोखिमबाट बच्न मास्क प्रयोग नगर्नेमाथि सुरक्षाकर्मी निर्मम बन्ने भएको छ । ‘मास्क प्रयोगबारे जनचेतना पनि जगाउँछौं,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘मास्क नलाउनेलाई १ सय रुपैँया जरिवाना गराउन अझै निर्मम हुने निर्णय गरिएको छ ।’ 

जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा भदौ ८ गतेसम्म बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट अब शान्ति सुरक्षा, सवारी पास र विपद् व्यवस्थापन सम्बन्धि सेवा मात्रै दिइनेछ ।  नयाँ सुरक्षा रणनीति अन्तर्गत स्थानीय प्रशासनले सपिङ मल, डिपार्टमेन्टल स्टोर र होटलको अनुगमन गर्ने भएको छ । भीडभाड हुने क्षेत्रमा सुरक्षा सतर्कताबारे संयन्त्र बनाएर अनुगमन गरिने बताइएको छ ।  

संक्रमण देखिएका क्षेत्रमा स्थानीय प्रशासनले ‘एरिया सिल’ गर्ने रणनीति बनाएको छ । 

ब्यारेक–कार्यक्षेत्र उच्च सतर्कता
प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यकामा कार्यरत प्रहरीमा एकपछि अर्को संक्रमण बढ्न थालेपछि सुरक्षाकर्मीले उच्च सुरक्षा सतर्कता अपनाएका छन् ।  ब्यारेकदेखि कार्यक्षेत्रसम्म उच्च सुरक्षा सतर्कता अपनाउने व्यवस्था गरिएको महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले बताए । 

‘जब नेचरले गर्दा कत्तिपय अवस्थामा प्रहरी असुरक्षित हुनसक्छन्,’ डीआईजी पोखरेलले भने, ‘त्यस्तो अवस्थामा कसैसँग शंका देखिएमा तुरुन्त आइसोलेट गर्छौं ।’  संक्रमण बढेका कारण उपत्यकाको अपराध नियन्त्रण र शान्ति सुरक्षामा असर नपर्नेगरी सुरक्षाको व्यवस्था मिलाएको बताइएको छ । ‘अहिले नै शान्तिसुरक्षा र अपराध नियन्त्रणमा समस्या पर्दैन, आत्तिहाल्नुपर्ने अवस्था छैन्,’ डीआईजी पोखरेलले भने ।  

महानगरीय प्रहरी कार्यालयले संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका सबै सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राख्ने रणनीति लिएको छ । 

यो पनि...


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप