शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लेनदेनमा लाग्ने कोषका कर्मचारीलाई कारबाही हुन्छः पर्यटनमन्त्री भट्टराई

शुक्रबार, २३ साउन २०७७, १५ : ४०
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन् ।

उनले आर्थिक लेनदेनलाई प्रशय दिएकै कारण पशुपति क्षेत्र भित्र बाटोबाटोमा पसल राख्ने, पार्किङ जथाभावी गर्ने क्रियाकलाप बढेको भन्दै त्यसमा प्रशय दिनेलाई कारबाही गर्ने बताएका हुन् । उनले स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेलहरु गरी नर्क जाने काम नगर्न समेत आग्रह गरे ।

उनले भने– ‘यहाँभित्र पशुपति क्षेत्रका पदाधिकारी र कर्मचारी साथीहरुलाई पनि भन्न चाहन्छु । कुनै आर्थिक लेनदेनमा कुनै गलत क्रियाकलापमा गलत मानिसहरुलाई प्रशय दिने काम तपाईहरुबाट भएछ भने तपाईहरु माथि पनि म कारबाही गर्छु । मैले प्रस्ट ढंगले भनेको छु । किनभने यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो । धर्म गर्न आउने हो ।

त्यसैले पवित्रता कमाउने धर्म गर्न आउने ठाउँमा अनावश्यक आर्थिक लेनदेन र चलखेलहरु भए भने त्यो नर्कको बाटो हुन्छ । यो स्वर्ग जाने बाटो हो । पशुपति भनेको ।’ उनले पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, तिर्थालुलाई हिँडन अप्ठेरो बनाउने, जथाभावी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरु नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिँडेको र उक्त कदम सरकारलाई स्वीकार्य नहुने प्रस्ट पारे ।

पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय मानिसहरु र राजनीतिक व्यक्ति लगायतले विरोध गरिरहेको उल्लेख गर्दै सरकारले विना विकल्प बासस्थानबाट बेदखल नगर्ने स्पस्ट पारे । तर कुनै राजनीतिक उद्देश्यले, गलत मनसायले र गलत आर्थिक लेनदेनको कारणले सांस्कृतिक सम्पदाहरुको अुनचित ढंगले अतिक्रमण गर्न नपाउने बताए ।

उनले भने– ‘कुनै राजनीतिक उद्देश्यले, कुनै समुदायको गलत मनसायले, कुनै गलत आर्थिक लेनदेनको कारणले अथवा अन्य कुनैपनि कारणले सांस्कृतिक सम्पदाहरुको र संस्कृतिक सम्पदासँग जोडिएका ठाउँहरुको अनुचित ढंगले त्यसमाथि ज्यादती गर्न पाइँदैन । त्यसमाथि थिचोमिचो गर्न पाइँदैन । त्यसमाथि अतिक्रमण गर्न पाइँदैन ।’

मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्र योजना र मापदण्ड बिना बनाइएका संरचनाहरुलाई हटाउने समेत बताए । उनले भने– ‘पशुपति क्षेत्रभित्र पनि बिना मापदण्ड, बिना सोच, बिना योजना कुनै संरचनाहरु बनाइएका छन् भने त्यस्ता संरचनाहरु पशुपतिको मापदण्ड अनुरुप नै ढालिनुपर्छ । तब मात्रै दुनियाँका मानिसहरुको लागि एउटा गन्तव्य स्थानको रुपमा जीवित रहने छ । यसमाथि मानवजातिले अनावश्यक ढंगले अतिक्रमण गरेको छ, पशुपतिमाथि भने त्यो अतिक्रमण गर्न पाइँदैन त्यस्ता अतिक्रमणहरुलाई हटाइने छ ।’

पशुपति कुनै धर्म सम्प्रदाय र कुनै समुदायको मात्र नभएको उल्लेख गर्दै पहिलो अधिकार नेपाल राष्ट्रको भएको र त्यसपछिको अधिकार पशुपतिमाथि आस्था विश्वास राख्ने विश्वभरका करोडौं मानिसहरुको भएको बताए । राजनीतिक दाउपेचले नेपालका धार्मिक, सांस्कृतिक सम्पदाहरु लामो समयदेखि दोहन भएको र अहिलेको बलियो सरकारले त्यस्ता सम्पदाहरुको संरक्षण गर्ने बताए । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रको संरक्षण र विकासका लागि गुरुयोजना प्रस्ताव गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप