बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गलत समूहको रगत दिँदा सुत्केरी महिलाको मृत्यु

शुक्रबार, २३ साउन २०७७, १४ : ०९
शुक्रबार, २३ साउन २०७७

जनकपुरमा एक सुत्केरी महिलालाई अर्कै समुहको रगत चढाएपछि मृत्यु भएको छ । रेडक्रस सोसाईटी जनकपुर शाखाले नमुना परीक्षण नै नगरी दिएको रगत रामजानकी अस्पतालले चढाउँदा महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ११ भरतपुर बस्ने २२ वर्षीया गंगादेवी महतोको मृत्यु भएको हो ।

ती महिलालाई ‘ओ’ पोजेटिभ रगत समुहको दिनपुर्नेमा ‘बी’ पोजेटिभ रगत समुहको रगत अस्पतालले चढाउँदा शुक्रबार विहान गंगा देवीको मृत्यु भएको छ । सुत्कोरी महिलालाई व्यथा लागेपछि बिहीबार साँझ उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अप्रेशनमार्फत गंगा देवीले छोरी जन्माइन् । पछि शरीरमा रगत अभाव भएको र थप अपरेशन गर्नुपर्ने आवश्यकता देखिएपछि चिकित्सकले रगतको माग गरेका थिए । अस्पतालले सुत्केरीको रगत नमुना सहित रेडक्रस सोसाइटी जनकपुरमा रगत ल्याउन परिवारजन गएका थिए ।

रेडक्रसले सुरुमा बी पोजेटिभ समूहको रगत पठाएको थियो । सो रगत रामजानकी अस्पतालले चढाउदाँ गंगा देवीलाई केही असहज देख्नासाथ चिकित्सकले तत्कालै रगत बन्द गरी परीक्षण गरेर अर्को ओ पोजेटिभको रगत समुह ल्याउन भन्दै पुनः रेडक्रस सोसाइटी पठाएको थियो । त्यसको केहि बेरमै सुत्केरीको मृत्यु भएको मृतककी पति राजकिशोर महतोले बताए ।

अस्पतालले भने अनुसार नै नमुना लिएर रेडक्रसबाट रगत ल्याएको तर सोहीमध्येको एउटा पोका बी पोजेटिभ रगत परेको र त्यसैलाई चिकित्सकले चढाएपछि श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसको लापरवाहीको कारणले मारिएको भन्दै कारबाहीको माग गरेका छन् ।

२२ वर्षीया गंगादेवी महतोको सुत्केरी हुने समय नजिकिएपछि श्रीमान राजकिशोरले उनलाई लिएर महोत्तरीको बर्दिवासस्थित स्वस्तिक अस्पतालमा चेकजाँच गराउनका लागि पुगेका थिए । सो अस्पतालमा अल्ट्रासाउण्ड गराउँदा चिकित्सकहरुले बच्चाको तौल साढे ३ किलो रहेको र आमाको स्वास्थ्य अवस्था कमजोर रहेकाले अपरेशन नै गर्नु पर्ने सुझाएका थिए । चिकित्सकको सल्लाहअनुसार नै आफूहरु जनकपुरधामस्थित रामजानकी हस्पिटल पुगेको मृतकका देवर रामहरि महतोले बताए ।

उनले बिहीबार अपरान्ह ४ बजे अस्पतालमा भाउजुलाई भर्ना गराएको बताए । यहाँ पनि गाइनोकलोजिष्ट चिकित्सक शैलेन्द्र साहले अपरेशनमार्फत सुत्केरी गराउन सल्लाह दिएपछि सोही अनुरुप अपरेशनको प्रकृया अगाडी बढाइएको रामहरिले बताए । अपरेसन पछि गंगा देवीले छोरी जन्माएकी थिइन् ।

यसअघि नै गंगा देवीलाई रगतको खाँचो पर्ने भन्दै एक पिन्ट रगतको पोका व्यवस्था गर्न भनेका थिए । रगतको व्यवस्था गर्न श्रीमान राजकिशोर र देवर रामहरि रेडक्रस तर्फ गएका थिए । चिकित्सकहरुले गंगा देवीको रगतको नमुना सहित रगत ल्याउन भनेका थिए । रेडक्रस सोसाइटीले गंगाको रगत समुह बी पोजिटिभ रहेको र श्रीमान राजकिशोरको पनि रगत समुह सोही रहेकाले उनले श्रीमतीका लागि एक पोका रगत दिए ।

रेडक्रसले दिएको रगतको पोका चिकित्सकहरुले चढाउँदा सुत्केरी झनै सिकिस्त हन थालेपछि तत्काल रगत चढाउन आफूहरुले बन्द गरेको रामजानकी अस्पताल प्रशासन शाखाका प्रमुख विकासचन्द्र गुप्ताले भने । पछि अस्पतालकै ल्याबमा सुत्केरी महिलाको रगतको परिक्षण गर्दा  ओ पोजेटिभ ठहरिएको थियो ।

पछि रगत लिन जाँदा रेडक्रसले पनि ‘ओ पोजिटिभ’ रगत नै रहेको भनेको गुप्ताले बताए । उनले भने– ‘बी पोजिटिभ रगत समूह ठहर गरेको रेडक्रसले सोही रगतलाई फेरि कसरी ओ पोजेटिभ ठहर ग-यो हामीलाई थाहा छैन । हामीले ल्याबमा जाँच गरेपछि मात्रै ओ पोजेटिभ रहेको थाहा पाएका थियौँ । यो हाम्रो लापरवाही होइन रेडक्रस सोसाइटीको लापरवाही हो ।’

गंगादेवीको मृत्यु भएपछि परिवारजन आक्रोशित छन् । मृतकका ससुरा अजवलाल महतोले भने– ‘दोषीलाई कारबाही नभएसम्म हामी चुप्प लागेर बस्दैनौँ ।’

रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश सिंहले यस विषयमा अनुसन्धान भइरहेको र कहाँ गल्ती भएको हो भन्ने विषयमा बुझिरहेको प्रतिक्रिया दिए । जनकपुरधामको प्याथोलोजी रिपोर्टमाथि पटक–पटक प्रश्न चिन्ह खडा हुँदै आइरहेको छ । जनकपुरधामकै रामजानकी डाइग्नोष्टिक सेन्टरमा ३ महिना अघि रगत समुहको परिक्षण जाँच गराउँदा बी पोजिटिभ रगत समुह रहेको रिपोर्टमा भनिएको छ । तर अहिले आएर सोही महिलाको रगत समुह जाँच गर्दा ओ पोजेटिभ रहेको पाइएको छ । यस विषयमा रामजानकी डाइग्नोष्टिक सेन्टरका मुकेश सिंहसँग कुरा गर्दा उनले रेडक्रसकै गल्ती रहेको जिकिर गरे । उनले आफ्नो ल्याबको रिपोर्ट सही रहेको ठोकुवा नै गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप