बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतीक्षा उडानको : गौतमबुद्ध विमानस्थल निर्माणको काम अब ९ प्रतिशत मात्र बाँकी

शुक्रबार, २३ साउन २०७७, १० : २५
शुक्रबार, २३ साउन २०७७

बुटवल ।  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ ।

आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले रातोपाटीसँग भने, ‘हामीले अब उपकरण जडानसहित ९ प्रतिशत काम गर्न बाँकी छ । अन्य काम सकिएको छ ।’ उनका अनुसार अहिले रनवे लाईट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी काम भइरहेको छ ।

निर्माणको क्रममा आईसीबी १ र आईसीबी २ गरी छुट्याएर ठेक्का लगाएको थियो । जसमा आईसीबी–१ अन्तर्गत अधिकांश उपकरण जडानका काम भइसकेका छन् भने आइसीबी–२ अन्तर्गतका कम्युनिकेशन, नेभिगेशन र सर्भिलेन्स (सिएनएस) लगायतका काममध्ये डिभिओआर/डीएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरणहरु ९५ प्रतिशत भन्दा बढी आइसकेका र जडानको क्रममा छन् ।

यस्तै फिनिसिङ्ग बाहेक अर्को ठूलो काम धावनमार्ग वरिपरि पेरिमिटर सडक निर्माण बाँकी  छ । बाँकी उपकरण र विशिष्ट दक्ष प्राविधिकहरु आउने क्रममा रहेको जनाइएको छ । लकडाउनका कारण हाल अन्तर्राष्ट्रिय उडान बन्द रहेका कारण उपकरण र प्राविधिकहरु आउन ढिलाइ भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेपछि ती प्राविधिक आउने र उपकरण ल्याएर जडान गर्ने काम हुनेछ । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल निर्माणको काम लकडाउनमा समेत भएको थियो ।

चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएर काम शुरु गरेको थियो ।

लकडाउनमा पनि काम जारी

विमानस्थल विस्तार आयोजनाका अनुसार बन्दाबन्दीको अवधिमा विमानस्थल निर्माणमा करिव तीन प्रतिशत भौतिक प्रगति थपिएको छ ।  

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनमा धेरै क्षेत्रको काम रोकिन पुग्यो । चार महिना लामो लकडाउनका कारण अधिकांश निर्माण काम रोकिए पनि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने जारी रहेको थियो ।

छुट्टीमा चीन गएका केही चाईनिज कामदारहरु कोरोना महामारीका कारण भएको लकडाउनले गर्दा फर्कनसमेत पाएनन् । उनीहरु नआए पनि भैरहवामै रहेका चिनियाँ र सहित स्वदेशी कामदर, प्राविधिकबाट काम गरिएको थियो ।

विमानस्थल आयोजना प्रमुख अधिकारीले बन्दाबन्दी भएपछि करिव एक महिना भने विमानस्थल निर्माणको काम रोकिए पनि त्यसपछिका दिनहरुमा काम जारी गर्दा ३ प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको रातोपाटीलाई बताए । हाल विमानस्थल निर्माणमा २९ जना चिनियाँसहित तीन सयभन्दा बढी कामदारले काम गरिरहेका छन् ।

राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा काम आगाडि बढाएको उनले बताए । जसको परिमाण लकडाउनबीचमा पनि ट्याक्सी वे, तारबार र माटो फिलिङ, रङरोगन, एसी वायरिङ र रनवे लगायतका विद्युतीय काम पूरा भएको अधिकारीले बताए ।

विमानस्थल निर्माणमा चाहिने नदीजन्य पदार्थको मौज्दात यही बीचमा आवश्यकमात्रामा राखिएको छ । बन्दाबन्दीकै बीचमा करिव पाँच करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको उनले बताए ।

एसियाली विकास बैंकको ऋण सहयोगमा ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थलमा दैनिक १६ हजार यात्रुलाई सेवा दिने दीर्घकालीन लक्ष्य छ । विमानस्थल अन्तर्गत प्राधिकरणकै करिब एक अर्ब लगानीमा कार्गो भवन निर्माण प्रक्रियामा रहेको छ ।

२०७१ पुसमा तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले शिलान्यास गरेको विमानस्थल निर्माणको काम सुरुवाती दिनमा मधेश आन्दोलन, नाकाबन्दी लगायतका कारणले लक्षित समयभन्दा पर सरेको थियो ।

‘उडानको मिति ठ्याक्कै भन्न सकिँदैन’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएपछि उडानको जिम्मा दिने पर्यटन मन्त्रालय हो । अबको केही महिनापछि उडानको जिम्मा, मिति आदिबारे निर्णय हुने आयोजना प्रमुख अधिकारीको भनाइ छ ।

अधिकारीले भने, ‘हामीले जतिसक्दो छिटो काम पुरा गरिदिने भनेर नै कामलाई गति दिएका छौं, उडानको विषयमा माथिबाटै निर्णय हुन्छ, हामीले कहिलेबाट उडान हुन्छ भनेर ठ्याक्कै भन्न सक्ने विषय रहेन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप