शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विभाजन हुन लागेकै हो त नेकपा ?

शुक्रबार, २३ साउन २०७७, ०८ : ४७
शुक्रबार, २३ साउन २०७७

काठमाडौँ । ‘राष्ट्रपति– झलनाथ खनाल
प्रधानमन्त्री– पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष– माधवकुमार नेपाल
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री– नारायणकाजी श्रेष्ठ
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार उल्लेखित विवरण सामाजिक सञ्जालमा प्रस्तुत गरेका हुन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस्तो टीम बनाउने योजना तयार पारेको उनको दावी थियो ।

चानचुने व्यक्तिले यस्तो चर्चा गरेको भए त्यसले त्यति ठूलो चर्चा र महत्व पाउने थिएन । सामान्य कार्यकर्ता तहबाट यस्ता चर्चा आएको भए शंका गर्न पनि सकिन्थ्यो । तर प्रधानमन्त्री ओलीलाई सूचना र सञ्चारमा सल्लाह दिने जिम्मेवार व्यक्तिबाटै यस्ता चर्चा चलाइएका कारण उनले कतैबाट प्राप्त सूचनालाई नै प्रकाशमा ल्याएका होलान् भन्ने अर्थमा धेरैले यसलाई लिएका छन् ।

त्यतिमात्र होइन, उनी नेकपा प्रचार प्रसार विभागका उपप्रमुख पनि हुन् । त्यसैले उनीबाट सार्वजनिक यो सूचनालाई प्रधानमन्त्री ओली तथा नेकपाको तर्फबाट आधिकारिक नै मान्नुपर्ने हुन्छ । किनभने उनी दुईवटा जिम्मेवारी सम्हालेका व्यक्ति हुन् । उनले सामाजिक सञ्जालमा यो चर्चा ल्याउँदा ‘यो मेरो व्यक्तिगत विचार हो’ भनि उल्लेख गरेका छैनन् । त्यसैले यसलाई प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक भएको आधिकारिक सूचना मान्नुपर्ने विश्लेषकहरुको बुझाइ छ ।

थापाले प्रचण्डका बारेमा १० वर्ष अघिका कुरा पनि स्मरण गराएका छन्, जतिबेला प्रचण्ड माओवादीका अध्यक्ष थिए ।

‘धोवीघाट गठबन्धनको परिणति

संसदीय दलको नेता– बाबुराम भट्टराई

जनसेना ईन्चार्ज– रामबहादुर थापा ‘बादल’

संगठन विभाग प्रमुख– मोहन वैद्य ‘किरण’

उपप्रधानमन्त्री तथा गृहमन्त्री– नारायणकाजी श्रेष्ठ

पार्टी अध्यक्ष तथा संसदीय दलको नेताबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र विप्लवको मोर्चाबन्दी ।’

उल्लेखित विवरणसहित थापाले १० वर्षअघि तत्कालीन माओवादी केन्द्रमा भएको धोवीघाट गठबन्धनकै जस्तो घटना दोहोरिन थालेको आशय व्यक्त गरेका हुन् ।

सत्तारुढ नेकपाका दुईवटै गुटले अहिले एक अर्कालाई पार्टी फुटाउन उद्यत रहेको आरोप लगाउन थालेका छन् । दुवै गुटले आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् । कसले कसरी पार्टी फुटाईरहेको छ, कहिले फुट्छ भन्नेजस्ता प्रश्नको जवाफ समयक्रमले नै दिँदै जानेछ । तर दुवै गुटबाट जसरी धारणाहरु बाहिर आइरहेका छन्, त्यसले यो पार्टी एक रहन सक्दैन भने कुराको स्पष्ट संकेत गरेको विश्लेषकहरुको भनाइ छ ।

बुधबारमात्र नेकपाका अध्यक्ष प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलाई साथमा राखेर पत्रकारहरुसँग अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले पार्टी एकता नचाहेको धारणा राखेका थिए ।

‘यदि प्रधानमन्त्री ओलीले पार्टीको एकता चाहनु भएको छ भने पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको बेला नेकपा (एमाले) पार्टी किन दर्ता गर्न लगाउनुभयो त ?’ प्रचण्डको प्रश्न थियो । पार्टीमा अराजकता फैलाएर प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न लागेको प्रचण्डको आरोप छ ।

‘पार्टीको निर्णय नमान्ने भन्नुको अर्थ के हो ? एकता नचाहेको होइन ?’ प्रचण्डले प्रश्न गरे । उनका अनुसार सचिवालयमा एउटा निर्णय हुन्छ तर दुई घण्टापछि प्रधानमन्त्री ओलीले त्यसलाई मान्दिनँ भनि प्रतिक्रिया दिन्छन् । त्यसको अर्थ एकता नचाहेको स्पष्ट हुने उनको भनाइ थियो ।

यस्तै भनाइ माधवकुमार नेपाल र झलनाथ खनालको पनि थियो ।

प्रचण्ड, खनाल, नेपाल र श्रेष्ठले पत्रकारसँग छलफल गरेको एकघण्टा नबित्दै प्रधानमन्त्री ओलीले प्रचण्डसँग हुने छलफल ‘क्यान्सिल’ गरे । उनले आफ्ना प्रेस सल्लाहकार थापामार्फत प्रचण्डसँगको छलफल ‘क्यान्सिल’ भएको सार्वजनिक गराए । थापाले अध्यक्षद्वयबीच बुधबार साँझ हुने भनिएको छलफल स्थगित गरिएको जानकारी फेसबुकमार्फत सार्वजनिक गरे ।

छलफल स्थगित भएको जानकारी अध्यक्ष प्रचण्डलाई पनि थिएन । प्रचण्डको सचिवालयले छलफल स्थगित भएको थापाकै फेसबुक स्टाटसबाट थाहा पाएपछि प्रचण्डलाई जानकारी गराएका थिए, जतिबेला उनी छलफलकै लागि बालुवाटार जाने तयारी गर्दैथिए । त्यसपछि उनी बालुवाटार गएनन् ।

प्रचण्डसँग मतान्तर बढेपछि प्रधानमन्त्री ओलीले निर्धारित छलफल एवं बैठक स्थगित गराउँदै आएका छन् । यसअघि साउन १३ गते बस्ने भनिएको स्थायी कमिटीको बैठकलाई प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थगित गरेका थिए ।

त्यसबेला पनि स्थायी कमिटीको बैठक बस्नु अघि प्रचण्डले आफ्ना निवासमा आफ्ना पक्षका स्थायी कमिटी सदस्य तथा शीर्ष तहका नेताहरुसँग छलफल गरेका थिए । जुन कुरा प्रधानमन्त्री ओलीलाई मन परेको थिएन र बैठक बस्नुभन्दा एक घण्टा पहिले एकतर्फी रुपमा उनले बैठक स्थगित गराएका थिए ।

त्यसयता स्थायी कमिटीको बैठक बस्न सकेको छैन । यतिमात्र होइन, केही दिन दुई अध्यक्षको बीचमा बोलचाल पनि बन्द रह्यो । दोस्रो तहका केही नेताको प्रयासमा गत आइतबारदेखि दुई अध्यक्षको बीचमा छलफल शुरु त भयो तर त्यसले निरन्तरता पाउन सकेन । दुवै अध्यक्ष आ–आफ्ना अडानमा कायम रहे । तीन दिन छलफल भयो तर कुनै सहमति ननिकाली प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा छलफललाई अनिश्चितकालका लागि स्थगित गरे ।

प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफल स्थगित गर्नुको एउटै कारण थियो– अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग छलफल गर्नु ।

पार्टीको आन्तरिक विवाद मिलाउन छलफल पनि गर्ने, उता पत्रकारलाई बोलाएर सरकारको आलोचना पनि गर्ने भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफल अनिश्चितकालका लागि स्थगित गराएका थिए ।

दुई अध्यक्षबीचमा वार्ताको वातावरण बनाउने भूमिका निर्वाह गरेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्ष प्रचण्डलाई बिहीबार भेटेर यस्तै गुनासो गरे । ‘दुईजना अध्यक्षको बीचमा वार्ता चलिरहेको बेला के जरुरी थियो पत्रकारहरु सँगको अन्तरक्रिया ? कुरा मिल्ला मिल्ला जस्तो हुन्छ अनि तपाईहरु एउटा न एउटा फन्डा ल्याउनुहुन्छ,’ स्रोतका अनुसार नेम्वाङले अध्यक्ष प्रचण्डसँगको भेटमा भनेका थिए, ‘तपाईहरुले नै पार्टी विभाजन हुन्न दिन्न भनि अभिव्यक्ति दिनुहुन्छ तर तपाईहरुबाटै त्यस्तो गतिवधि हुन्छ, अनि समस्याको समाधान कसरी हुन्छ ?’

जवाफमा अध्यक्ष प्रचण्डले वार्ताको वातावरण आफूहरुले होइन, प्रधानमन्त्री ओलीबाट नै बिगार्ने काम भएको बताए । वार्ताको वातावरण जसले जहाँबाट बिगारेको छ, त्यसले त्यहीँबाट सुधार्नुपर्ने धारणा प्रचण्डले राखेका थिए ।

पार्टीभित्र देखिएको विवादबारे नेम्वाङ भन्छन्, ‘जब संवादहीनताको अवस्था हुन्छ, तब पार्टी विभाजनको खतरा हुन्छ, त्यसलै पार्टीमा संवादहीनता हुनुहुँदैन । मेरो प्रयास भनेको दुईजना अध्यक्षको बीचमा संवाद होस्, संवादले समय लिए पनि केही फरक पर्दैन तर संवादबाटै समस्या समाधान गर्नुपर्छ ।’

नेम्वाङले भनेजस्तै पार्टीमा जब संवादहीनता हुन्छ, छलफलहरु हुन छाड्छ, पार्टी कमिटीहरुको बैठक बस्दैनन्, अनि त्यो पार्टी विभाजनतिर जान्छ ।

विगतमा पनि विभिन्न पार्टी विभाजन हुँदा यस्तै भएको थियो । प्रधानमन्त्री ओली र प्रचण्डबीच जुन दिन संवादको अन्त्य हुन्छ, पार्टी त्यहीँ विभाजन हुन्छ भन्नेमा कार्यकर्ता पनि जानकार छन् । तर पनि दुवै पक्ष संवादहीनतातिर नै उन्मुख भइरहेका छन् । आपसमा विश्वासको वातावरण बनाएर अघि बढ्नेभन्दा पनि मनमुटावलाई पालेर बस्ने र एकअर्कामाथि आरोप लगाएर पार्टीलाई विभाजनको परिस्थिति उन्मुख गराउने भूमिका यतिबेला बढेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप