बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘बेरुत रोइरहेको छ, बेरुत चिच्याइरहेको छ, बेरुतलाई खाना चाहिन्छ, बेरुतलाई कपडा चाहिएको छ’

शुक्रबार, २३ साउन २०७७, ०७ : ५३
शुक्रबार, २३ साउन २०७७

लेबनानको राजधानी बेरुतका निवासीले सरकारमाथि असन्तुष्टि व्यक्त गरेका छन् । बेरुत पोर्ट नजिकै रहेको एक गोदाममा भएको भयानक बिस्फोटको पछाडि सरकारको लापरवाही भएको लेबनानका जनताले आरोप लगाएका छन् ।

राष्ट्रपति मिशेल आउनले असुरक्षित तरिकाले पोर्टको गोदाममा राखिएको २७५० टन अमोनियम नाइट्रेटका कारण बिस्फोट भएको बताएका छन् ।

कति मानिसहरुले अधिकारीमाथि भ्रष्टाचार, लापरवाह र कुप्रबन्धनको आरोप लगाएका छन् ।

मंगलबार भएको यो बिस्फोटमा कम्तीमा १ सय ३७ को मृत्यु भएको छ र करिब पाँच हजार घाइते भएका छन् ।  अहिले पनि थुप्रै मानिसहरु हराइरहेका छन् ।

राजधानी बेरुतमा दुई हप्ताका लागि आपतकाल घोषणा गरिएको छ ।

फिल्मी क्षेत्रसँग सम्बन्धित जूड चेहाबले बीबीसीलाई भने, ‘बेरुत रोइरहेको छ, बेरुत चिच्याइरहेको छ, मानिसहरु मानसिक रोगसँग जुधिरहेका छन््, मानिसहरु थाकिसकेका छन् ।’

उनले घटनामा जिम्मेवार व्यक्तिलाई कानूनी कारवाहीमा ल्याउन भनेका छन् ।

बेरुतका निवासी चाडिया एलमेओची नाउन यतिबेला अस्पतालमा छन् । उनले भने, ‘मलाई पहिलादेखि नै राम्रोसँग थाहा थियो कि हाम्रो नेतृत्व अयोग्य व्यक्ति र अयोग्य सरकारको हातमा छ । उनीहरुले अहिले जे गरिरहेका छन्, त्यो आपराधिक हो ।’

बुधबार लेबनानको सरकारले अनुसन्धान पूरा नहुञ्जेल बेरुत पोर्टका थुप्रै अधिकारीलाई उनको घरमा नजरबन्द गरिएको घोषणा गरेको थियो ।

देशको सर्वोच्च सुरक्षा परिषद्ले घटनामा जिम्मेवार जो सुकैलाई अधिकतम सजाय दिइने कुरामा जोड दिएको छ ।


यसैबीच एमनेस्टी इन्टरनेशनल र ह्यूमन राइट्स वाचले बिस्फोटको स्वतन्त्र अनुसन्धानको माग गरेका छन् ।

एक बयानमा ह्यूमन राइट्स वाचले आफूलाई लेबनानको न्यायपालिकाले आफ्नै बलबूँतामा एक विश्वसनीय र पारदर्शी अनुन्धान गर्ला त भन्ने कुरामा गम्भीर चिन्ता प्रकट गरेको छ ।

बिस्फोट कसरी भयो ?

खेतलाई उर्भर बनाउन र बिस्फोटकको रुपमा प्रयोग गरिने अमोनियम नाइट्रेट बेरुत पोर्ट नजिकैको एक गोदाममा विगत ६ वर्षदेखि राखिएको थियो । सन् २०१३ मा एउटा जहाजलाई समातिएको थियो र त्यसै जहाजबाट यो अमोनियम नाइट्रेट निकालिएको थियो ।

बेरुत पोर्टका प्रमुख र कस्टम्सका प्रमुखले स्थानीय मिडियासँगको कुराकानीमा उनले न्यायपालिकालाई यसबारे थुप्रैपटक पत्राचार गरेको बताए । उनीहरुले पोर्टको सुरक्षा सुनिश्चितताका लागि कि त रसायन निर्यात गरियोस् कि त बेचियोस् भन्ने माग राखेका थिए ।

पोर्टका जनरल म्यानेजर हसन कोरेटेमले ओटीवीसँगको कुराकानीमा अदालतले यसलाई गोदाममा भण्डार गर्न आदेश दिएका बेला आफूहरुलाई यो सामग्री खतरनाक छ भन्ने लागेको त थियो तर यतिसम्म खतरनाक होला भनेर अन्दाज नगरेको बताए ।

लेबनानका सूचनामन्त्री मनाल अब्देल समदका अनुसार जून २०१४ देखि यो अमोनियम नाइट्रेटलाई भण्डार गर्ने, यसको निगरानी गर्ने र कागजी काम कारवाहीसँग जोडिएका सबै पोर्ट अधिकारीलाई घरमा नजरबन्द गरिनेछ ।

उद्दारकार्य कस्तो चलिरहेको छ ?

सुरक्षाबलले बिस्फोट स्थल वरिपरिको ठूलो इलाकालाई पूर्ण रुपमा सील गरेको छ । उद्दारकर्मीले अहिले पनि भग्नावशेषमा पुरिएका मानिसहरुको खोजी गरिरहेका छन् । अहिले पनि थुप्रै मानिसहरु हराइरहेका छन् ।

देशका स्वास्थ्यमन्त्री हमाद हसनले अस्पतालमा बेडको कमी भएको बताएका छन् । उनले घाइतेको उपचारका लागि आवश्यक उपकरण पनि कम भएको र स्थिती गम्भीर भएका बिरामीले सुविधा पाउन नसकेको पनि बताए ।

बेरुतका गभर्नर मरवान अबूदले बिस्फोटका कारण बेरुतमा तीन लाख व्यक्ति घरबार बिहिन भएको बताएका छन् ।

उनले बीबीसीलाई भने, ‘बेरुतलाई खाना चाहिएको छ, बेरुतलाई कपडा चाहिएको छ, घर चाहिएको छ, पुनर्वासका लागि सामग्री चाहिएको छ । बेरुतलाई आफ्नो नागरिकका लागि बासस्थान चाहिएको छ ।’

अर्थमन्त्री राउल नेहमेले देशले पुनर्निर्माणका लागि विदेशी सहायतमा निर्भर हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘देशको क्षमता निकै सिमित छ । यस्तै स्थिती देशको केन्द्रीय बैंक र अन्य बैंकको पनि छ ।’

थुप्रै देशले लेबनानलाई मद्दतको प्रस्ताव राखेका छन् । फ्रान्सका तीन विमान लेबनान पुग्दैछन् । फ्रान्सले आफ्ना ५५ उद्दारकर्मी पठाएको छ । साथै, स्वास्थ्य उपकरण र मोबाइल क्लिनिक पनि पठाएको छ जसमार्फत् ५ सयको उपचार गर्न सकिन्छ ।

बिहिबार फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले लेबनानको भ्रमण गरे । लेबनान पहिले फ्रान्सको उपनिवेश थियो ।

युरोपेली संघ, रुस, ट्युनिशिया, टर्की, इरान र कतारले पनि राहत सामग्री पठाइरहेको छ । बेलायतले पनि राहत सामग्री र स्वास्थ्य विज्ञ पठाइरहेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप