शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पिसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने

बिहीबार, २२ साउन २०७७, २० : ५६
बिहीबार, २२ साउन २०७७

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको पिसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ । आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि हाल ३४ खेलाडीलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई साउन १८ गतेदेखि क्वारेन्टिनमा राखेको हो । 

कोरोना भाइरसको महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो । आगामी प्रतियोगितालाई ध्यानमा राख्दै एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई गत साता प्रशिक्षणका लागि काठमाडौँ बोलाएको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार साउन २८ गतेसम्म ती सबै खेलाडीको पिसीआर परीक्षण गरिने छ । पिसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई भदौ १ गतेदेखि प्रशिक्षण दिइने उनले बताए । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा दिइने प्रवक्ता राईले उल्लेख गरे ।

एन्फाले प्रशिक्षणमा सहभागी हुने नेपाली टोलीको प्रशिक्षणका लागि मापदण्ड तयार पारेको छ । कोरोनाबाट सुरक्षित रहनका लागि उक्त मापदण्ड बनाइएको प्रवक्ता राइले बताए । 

खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने, सबै खेलाडी प्रशिक्षक र पदाधिकारीलाई कोरोना भाइरसको विषयमा जानकारी गराउने, अभ्यासका क्रममा दर्शकलाई मैदानमा प्रवेश गर्न नदिने, खाना सामूहिक रुपमा खान नपाइने, सामाजिक दूरी बनाएर खानुपर्नेलगायत मापदण्ड एन्फाले बनाएको छ । 

अभ्यासका क्रममा एउटा खेलाडीले एउटै बोतलले मात्र पानी पिउनुपर्ने, अभ्यास स्थललाई नियमित निर्मलीकरण गर्नुपर्ने तथा अभ्यास स्थलमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने मापदण्ड बनाएको छ । सहभागी सबै खेलाडीले एकै पटकमा अभ्यास गर्न पाउने छैनन् । 

उनीहरुलाई तीन समूह बनाएर मात्र अभ्यासमा सहभागी गराइने प्रवक्ता राईले बताउनुभयो । फिफा र विश्व स्वास्थ्य सङ्गठनको  स्वास्थ्य निर्देशिकाअनुसार नै खेलाडीलाई प्रशिक्षण दिइने उहाँको भनाइ छ । एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एसियन कप, २०२३ को छनोट प्रतियोगिताका लागि तयारी अगाडि बढाएको हो । 

नेपाली टोलीलाई मुख्य प्रशिक्षक योहान कालिन र सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ । बाइस खेलाडी आफ्नो घरमा तथा १२ खेलाडीलाई एन्फाले होटेलमा क्वारेन्टिनमा राखेको छ । शुरुआतमा एन्फाले सरकारलाई कोरोना महामारीका बेला सहयोग गर्ने भन्दै आफ्नो होस्टेललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न ललितपुर उप महानगरपालिकाको जिम्मा लगाएको थियो ।

 हाल सातदोबाटोस्थित उक्त होस्टेललाई एन्फा आफैले लिइ खेलाडीलाई क्वारेन्टिनमा राख्न प्रयोग गरेको छ । होस्टेललाई निर्मलीकरण गरिएको प्रवक्ता राइले जानकारी दिनुभयो । सरसफाइको काम चलिरहेको छ । 

सरकारले २०७६ चैत ११ गतदेखि लकडाउन लागू गरेको थियो । लकडाउन लगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो । सरकारले  लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो । नेपालले विश्वकप छनोटअन्तर्गतको खेलका लागि प्रशिक्षण थाल्नेछ । 

यसअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयमार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० सित अनुमति मागेको थियो । एन्फाले फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि अनुमति मागेको थियो । 

कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ । 

स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । 

समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो । घरेलु मैदानमा हुने तीन खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने नेपाली खेलाडी सामु चुनौती छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप