शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत सरकार र भारतीय सेनाको झुट यसरी भयो पर्दाफास : रक्षा मन्त्रालयको वेबसाइटबाट डकुमेन्ट नै हटाइयो

बिहीबार, २२ साउन २०७७, १९ : ५४
बिहीबार, २२ साउन २०७७

काठमाडौं । लद्दाख क्षेत्रमा भारत र चीनका सेनाबीच भएको हिंस्रक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको घटनाले दुई देशबीच सीमा विवाद कुन हदसम्म पेचिलो बनेको छ भन्ने देखाइरहेको छ । तर भारत सरकार र भारतकै एकथरी मिडियाले भने चीनसँगको सीमा विवाद र उक्त झडपमा भएको हताहतीकै बाबजुद भारत हावी भएको प्रचार गरिरहेका छन् ।

गत जुन महिनामा भएको सो झडपमा चिनियाँ पक्षमा कति हताहत भयो भन्ने प्रष्ट छैन तर भारत सरकार र केही भारतीय मिडियाले उक्त घटनामा भारतकै जित भएकोजसरी एकोहोरो प्रचार गर्दै आएका हुन् ।

भारतका विपक्षी नेताहरुले चीनसँगको सीमा मुद्दामा निकै गम्भीर प्रश्न उठाए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको सर्वदलीय बैठकमा उनीहरुले कुन अवस्थामा झडप भयो, चिनियाँ पक्षले सीमा अतिक्रमण गरेको हो या भारतीय सैनिक चिनियाँ क्षेत्रमा पुगेपछि झडप भएको हो भन्नेजस्ता निकै गम्भीर विषय उठाएर सरकारलाई प्रश्न गरे ।

तर, मोदीले ‘कसैले भारतीय क्षेत्रमा घुसपैठ गरेको छैन, न त भारतको कुनै सुरक्षा चौकी कसैले कब्जामा लिएको छ’ भनेर निकै तौलिएका शब्द प्रयोग गरी जवाफ दिए ।

मामिला त्यसपछिका दिनमा पनि सेलाएको छैन । दुवै मुलुकका बीच सैन्यस्तरमा पटक–पटक वार्ता भएका छन् । तर एकथरी भारतीय मिडियाले वार्तामा भारत हावी भएको र चिनियाँ सेनाले सीमा क्षेत्रबाट आफ्नो उपस्थिति हटाउँदै गएको दावी गरे ।

त्यसअघि भारतका रक्षा मन्त्री राजनाथ सिंहले पनि सीमा क्षेत्रमा पहिलाको तुलनामा चिनियाँ सैनिक संख्या केही बढी देखिएको र मामला साम्य भएको भन्दै घटनालाई बढाइचढाइ प्रस्तुत गर्न नहुने उल्लेख गरेका थिए । उनले चिनियाँ सेना वास्तविक नियन्त्रण रेखा पार गरेर भारततर्फ नआएको प्रष्ट पारेका थिए ।

यसरी खुल्यो झुटको पोल

तर मंगलबार भारतको रक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको एउटा दस्तावेजले सरकारकै झुटको पोल खोलेको छ । भारतीय सेनाको कार्यप्रगति विवरणसहित प्रकाशित उक्त दस्तावेजमा भारत–चीन सीमा क्षेत्रमा तनाव कायम रहेको र लामो समयसम्म यो अवस्था रहिरहने सम्भावना औंल्याइएको छ । सीमा क्षेत्रमा चिनियाँ सेनाको उपस्थिति बढेको पनि दस्तावेजमा उल्लेख छ ।

केही भारतीय सञ्चारमाध्यमले रक्षा मन्त्रालयको उक्त दस्तावेजलाई आधार बनाएर समाचार प्रकाशित गरेका छन् । समाचार प्रकाशमा आउनासाथ भारत सरकार र सरकार समर्थित मिडियाले लद्दाख क्षेत्रमा भारत हावी भएको भन्ने सन्देश प्रवाह हुने गरी केही महिना यता चलाएको ‘प्रोपोगाण्डा’को वास्तविकता खुलासा भएको हो ।

उक्त दस्तावेजलाई आधार बनाएर धमाधम समाचार प्रकाशित हुन थालेको र त्यसले सरकारकै झुटको पोल खोल्न थालेपछि रक्षा मन्त्रालयले आफ्नो वेबसाइटबाट उक्त दस्तावेज हटाएको छ ।

तर, दस्तावेज सार्वजनिक भएलगत्तै त्यसको अध्ययन गरी केही सञ्चारमाध्यमले समाचार बनाइसकेका कारण यो मामिलामा सरकारको झुटको पर्दाफास भएको हो ।

के थियो दस्तावेजमा ?

उक्त दस्तावेजलाई आधार बनाएर भारतीय दैनिक पत्रिका ‘अमर उजाला’ले लेखेको छ, ‘रक्षा प्रतिष्ठानले चिनियाँ सेनाले गत मई महिनामा पूर्वी लद्दाखस्थित भारतीय क्षेत्रमा घुसपैठ गरेको आधिकारिक रुपमा स्वीकार गरेको छ ।’

उक्त दस्तावेजलाई उद्धृत गर्दै सो अखबारले लेखेको छ, ‘चिनियाँ पक्षले कुगराङ्ग नाला, गोगरा र पैङ्गोङ्ग तालको उत्तरी तटमा १७–१८ मईमा घुसपैठ गरेको थियो ।’ 

सो दस्तावेजमा सीमा क्षेत्रमा लामो समयसम्म गतिरोध जारी रहने सम्भावना औंल्याइएको छ । हिन्दी भाषामा प्रकाशित हिन्दूस्तान दैनिकको अनलाइन संस्करणमा पनि उक्त दस्तावेजलाई आधार बनाएर समाचार प्रकाशित गरिएको छ ।

रक्षा मन्त्रालयको दस्तावेजलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘पारस्परिक रुपमा स्वीकार्य आमसहमतिमा पुग्नका लागि सैन्य र कुटनीतिक स्तरमा दुवै पक्षबीच वार्ता जारी छ, यस्तोमा वर्तमान गतिरोध लामो समयसम्म जारी रहने सम्भावना छ ।’

चीनको धारणा

चीनले सीमा क्षेत्रमा भारतीय सैनिकको भड्काउपूर्ण गतिविधिका कारण तनाव बढेको प्रष्टिकरण दिँदै आएको छ । केही विवादित क्षेत्रमा भारतले सडक, पुल लगायतका भौतिक संरचना निर्माणमा जोड दिएपछि सीमा सुरक्षामा खटिएका चिनियाँ सुरक्षाकर्मीले भारतीय सेनालाई रोकेको र त्यसक्रममा झडप भएको चिनियाँ पक्षको भनाइ छ ।


 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप