शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानद्वारा थप बहसको कार्यतालिका ल्याउन माग

बिहीबार, २२ साउन २०७७, १९ : ३०
बिहीबार, २२ साउन २०७७

एजेन्सी । राष्ट्रपतीय निर्वाचन आयोगले निर्धारण गरेको बहस कार्यतालिकालाई थप्न र बहस कार्यक्रम सेप्टेम्बरको सुरूदेखि नै सञ्चालन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः निर्वाचन अभियानले माग गरेको छ ।  राष्ट्रपति तथा रिपब्लिक पार्टीका नेता ट्रम्पका निजी वकिलले आयोगलाई बुधबार लेखेको पत्रमा उक्त माग गरिएको हो ।

ट्रम्पका कानूनी सहयोगी तथा न्यूयोर्कका पूर्व नगरप्रमुख रूडोल्फ गिलानीले आयोगलाई लेखेको पत्रमा राष्ट्रपतीय बहसलाई तीनको सट्टा चार बनाउन र थप बहस सेप्टेम्बरको सुरूमा हुनेगरी प्रबन्ध गर्न आग्रह गरिएको हो ।  आयोगले पूरानै प्रचलन अनुसार सेप्टेम्बर २९ मा ओहायो, अक्टोबर १५ मा फ्लोरिडा र अक्टोबर २२ मा टेनिसी गरी तीनवटा बहसका कार्यक्रम सार्वजनिक गरेको थियो । 

गिलानीले पहिलो बहस प्रारम्भ हुँदै गर्दा अमेरिकी १६ राज्यहरूका दशौँ लाख नागरिकहरूले मतदान गरिसकेका हुने भन्दै बहसको मिति अगाडि सार्न र कार्यक्रम थप गर्न आग्रह गरेका छन् । गिलानीले भने, “कोभिड–१९ को विश्वव्यापी महामारीको कारण परम्परागत अभियान तालिकाबाट वञ्चित राष्ट्रका लागि लाखौँ अमेरिकीहरूले लाखौं मतदान गर्नुअघि देशको भविष्यका लागि मैदानमा रहेका दुई प्रतिस्पर्धीहरूलाई बहसमा सुन्न पाउने अवसरबाट पनि वञ्चित गर्नु कुनै अर्थपूर्ण छैन ।” 

उनले सेप्टेम्बर ४ मा उत्तर क्यारोलिनामा पहिलो मतपत्र पठाउनुभन्दा पहिले सेप्टेम्बरको सुरुमा बहस थप्नुलाई उत्तम समाधान बताए । यदि आयोगले थप बहस गर्न अस्वीकार गरेमा अन्तिम चरणको बहसलाई सेप्टेम्बरको पहिलो सातामा सार्नुपर्ने उनले बताए । 

पूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार जो बाइडेनको अभियानका प्रवक्ता एन्ड्र्यू बेट्सले एक विज्ञप्तिमा जारी गरी वाइडेनले बहसको कार्यक्रमलाई स्वीकार गरिसकेको बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ ।   बेट्सले भने, “जो बाइडेन त्यहाँ हुनुहुनेछ । हामी डोनाल्ड ट्रम्पको निर्णयको पर्खाइमा छौ  र सम्भवतः राष्ट्रपतिले निर्वाचनको तयारीका लागि दिएजति यथेष्ट समय कोभिड–१९ को व्यवस्थापनमा पनि खर्च गर्नुपर्दछ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप