शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज निवेदन, भोलि मात्रै पास

बिहीबार, २२ साउन २०७७, १९ : १७
बिहीबार, २२ साउन २०७७

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ ।

कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए । 

प्राप्त विवरणअनुसार आज मात्रै मुलुकभर ३६० जनामा कोरोना देखिएकोमा उपत्यकाका मात्रै ८७ जना छन् । अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौँ प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने हुन्छ । निवेदन दिएर सोही दिन पास लिन कुर्दा मानिसको भीडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेबाट पास वितरण गरिने छ । त्यसका लागि गेटमै निवेदन दिने र सोही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँमा पछिल्लो समयमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले आवागनमा कडाइ गरिएको तथा सीमा नाकामा निगरानी बढाइएको छ । 

गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी गरिसकेको छ । मन्त्रालयले आजदेखि लागू हुने गरी यातायातमा जोर बिजोर प्रणाली लागू गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप