शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बूढानीलकण्ठ वार्ता : आक्रोशित पौडेल समूहलाई ‘शान्त’ बनाउन देउवा सफल !

अब क्रियाशील सदस्यता शतप्रतिशत
बिहीबार, २२ साउन २०७७, १६ : १०
बिहीबार, २२ साउन २०७७

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपधिकारीबीच आसन्न १४ औं महाधिवेशन र भ्रातृ संस्थाको विषयमा छलफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बसेको बैठकमा ९ वटा विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए । पछिल्लो समय काँग्रेसभित्रको विवाद सार्वजनिक रुपमा प्रकट भएपछि पहिलो पटक शीर्ष नेताहरुबीच बैठक भएको थियो । 

सभापति देउवाले धमाधम पार्टीका विभिन्न निकायमा मनोनयन र नियुक्त गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिवाद गरेको थियो ।पौडेल पक्षले देउवाका निर्णय खारेजीको मागसहित पार्टीको निर्वाचन समितिमा उजुरी, देउवालाई ध्यानाकर्षण पत्र र पत्रकारसम्मेलन गरेर विरोध जनाएको थियो । विवादका बीच देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बोलाएको बैठकमा पौडेल पक्षको मागमा सहमतिसाथ अघि बढ्न देउवा सकारात्मक बनेका छन् । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले पछिल्लो विवादबारे छलफल र संवादबाट हल गर्ने सहमतिका साथ छलफल सकिएको जानकारी दिए । आजको बैठक सकारात्मक बनेसँगै देउवाले गरेको नियुक्तिलगायतका विषमा आक्रोशित बनेका पौडेल समूह केही हदसम्म शान्त बनेको बुझिएको छ । 

दुई पक्षबीच दोहोरो संवाद नभएको अवस्थामा सभापति देउवाले बिहान १० बजे वर्तमान र पूर्वपदाधिकारी छलफलका लागि बोलाएका थिए ।बैठकपछि नेता अर्जुननरसिंह केसीले पनि छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । शर्माका अनुसार बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले ९ वटा लिखित प्रस्ताव पेस गरेका थिए ।जसमा पार्टीको आन्तरिम संरचना समायोजन र १३ औँ महाधिवेशन क्रियाशील सदस्य छानविन समितिको निर्णय र कार्यान्वयनसम्बन्धी छलफल भएको थियो ।

यस्तै १३ औँ अधिवेशन लागू हुने गरी क्रियाशील सदस्यता स्थगन गरिएका जिल्ला र फेरि महाधिवेशनपछि कायम हुने गरी आवश्यक प्रक्रिया पुर्‍याइ गरिएको निर्णयका विषयमा पनि छलफल भएको शर्माले जानकारी दिए ।
१३ औँ महाधिवेशनमा एक दर्जनभन्दा बढी जिल्लाले पार्टीको निर्णय विपरीत बढी सदस्यता बाँडेको भन्दै ती जिल्लाका नयाँ सदस्यले अधिवेशनमा भाग नै लिन पाएका थिएनन् । आजको छलफलमा यस विषयमा पनि छलफल भएको छ ।

यस्तै १४ औँ महाधिवेशका लागि क्रियाशील छानबिन समिति गठनका विषयमा पछि छलफल भएको शर्माले बताए । गतवर्ष फागुनमा बसेको केन्द्रीय समितिले ५ सदस्यीय छानविन समिति गठन गर्न सभापति देउवालाई जिम्मेवारी दिएको थियो ।

समितिको संयोजक चयनमा कुरा नमिलेपछि अहिलेसम्म उक्त समिति गठन हुन सकेको छैन । काँग्रेस महाधिवेशनका लागि सबैभन्दा जटिल कार्य क्रियाशील सदस्यता छानबिनको विषय बन्ने गरेको देखिन्छ । 

छलफलमा महामन्त्री खड्काले भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान संशोधन समितिको कामकारबाही र अन्य राजनीतिक दलबाट नेपाली काँग्रेसमा प्रवेश गर्ने समायोजनसम्बधी प्रस्ताव पनि पेस गरेका थिए ।

सबै भ्रातृ संस्थाको विधानमा एकरुपता ल्याउन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वको समितिले गरेका काम काबारहीका विषयमा बैठकमा जानकारी गराइएको शर्माले बताए ।

यस्तै काँग्रेस प्रवेश गरेका सुनिल थापासहितका नेताहरुको व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो । काँग्रेस प्रवेश गरेर केन्द्रीय समितिमा ल्याइएका नेताका नाममा क्रियाशील सदस्य छुट्याउने विषयमा काँग्रेसभित्र विवाद छ ।
सभापति देउवा पक्षले उनीका नाममा केही क्रियाशील सदस्य छुट्याउने तयारी गरेको छ भने पौडेल पक्षले त्यसको विरोध गर्दै आएको छ । 
यस्तै नेविसंघ, तरुण दल र संस्कृति संघ कमिटीलाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो ।


नेविसंघ १० जना पदाधिकारीमा समिति छ भने तरुण दलमा ४ जना पदाधिकारी मात्र छन् । यस्तै संस्कृति संघमा पनि ५ जना पदाधिकारी मात्र रहेका छन् । त्यसलाई चाडै पूर्णता दिइने शर्माले जानकारी दिए ।
यस्तै भ्रातृ तथा शुभेच्छुक संस्थाको म्याद थपका विषयमा पनि छलफलको एजेण्डामा थियो । केही दिन अघि देउवा नेविसंघ र तरुण दल गरी ९ वटा भ्रातृ संस्थाको ६ महिना म्याद थपेका थिए । त्यसमा पनि पौडेल पक्षले विरोध जनाएको थियो । यस्तै पार्टीको तल्लो कमिटीबाट थप क्रियाशील सदस्यता माग भएपछि पहिलेको निर्णय उल्ट्याउने सहमति भएको छ ।

यसअघिको केन्द्रीय कार्यसमितिले नयाँ सदस्यता ५० प्रतिशतभन्दा बढीलाई नदिने निर्णय लिएको थियो । नेता केसीका अनुसार छलफलमा शतप्रतिसत क्रियाशील सदस्यता दिने गरी छलफल भएको छ । काँग्रेसमा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमितिका लागि एउटा वडामा कम्तीमा ४० देखि ५० जनासम्म क्रियाशील सदस्य हुनैपर्छ ।

सदस्यता संख्या बढाउनुपर्ने माग जिल्लामा दुवै पक्षबाट आएको छन् । जिल्लाको माग सम्बोधन गर्न दुवै पक्ष सकारात्मक देखिएको स्रोत जानकारी दियो । सदस्यता लिने र नवीकरण गर्नेको संख्या अघिल्लो महाधिवेशनभन्दा यस पटक बढी देखिएको छ ।

पार्टीको विधानमै क्रियाशील सदस्यताको आधारमा स्थानीय तहको उम्मेदवार बनाउने मापदण्ड तोकिएको छ । स्थानीय तहप्रतिको आकर्षणले सदस्यता लिने र नवीकरणसंख्या बढेको देखिन्छ ।
 महामन्त्री खड्काले प्रस्तुत गरेका एजेण्डा बाहेक पार्टीमा पछिल्लो समय देखिएको विवादबारे पनि छलफल भएको छ ।

वरिष्ठ नेता पौडेले छलफलमा विभाग गठन र विस्तारको विषयमा कुरा उठाएका थिए । उनले यतिबेला विभाग गठनको औचित्य नभएको कुरा छलफलमा पनि दोहोर्याएको थिए । नेता केसीले पनि अन्य विषयद केन्द्रीय कमितिबबाट हल गर्ने सहमिति भए पनि यस विभागका विषयमा आफूहरुको अडान कायमै रहेको बताए । साउन अन्तिमसम्म केन्द्रीय समितिको बैठक बोलाएर सबै विषयमा छलफल गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप