शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आन्दोेलनरत कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई होस्टेलमा बस्ने व्यवस्था मिलाइयो

बुधबार, २१ साउन २०७७, १८ : ३२
बुधबार, २१ साउन २०७७

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गराइएको छ ।  सोमबार प्रादेशिक अस्पतालका २ जना चिकित्सक सहित १७ जना कर्मचारीमा कोरोना संक्रमणको पोजेटिभको रिपोर्ट आएको थियो । 

संक्रमण पुष्टि हुनेमा अस्पतालकै जेनेरल आइसीयुमा खटिने स्वास्थ्यकर्मीहरु समेत छन् । संक्रमित सबै जनालाई प्रादेशिक अस्पतालकै कोभिड अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरियो ।

मंगलबार साँझ आइसोलेसनमा लगिएका उनीहरु व्यस्थित र सुरक्षित नरहेको भन्दै आइसोलेसनमा बस्न मानेन् । ‘आइसोलेसनभित्र लक्षणसहितको संक्रमित रहेको तर, आफूहरुमा कुनै लक्षण नदेखिएकोले छुट्टै व्यवस्था गर्नुपर्ने,’ उनीहरुको अडान थियो ।

आइसोलेसन अव्यवस्थित रहेको भन्दै संक्रमित स्वास्थ्यकर्मीहरुले सुधारका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिए । तर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुलाई जागिरबाट निकालिने धम्की दिइयो ।

अस्पतालको आइसीयु वार्डमा खटिएकी महिला स्वास्थ्यकर्मीहरुलाई कोभिड अस्पतालका संयोजक डा.जामुनप्रसाद सिंहले चेतावनी दिँदै लाइसेन्स खारेजदेखि जागिरबाट निस्कान गरिदिनेसम्मका धम्की दिए ।

अस्पतालका संयोजक डा.सिंहले आफूहरुको लाइसेन्स रद्द गरेर जागिर खाइदिने धम्की दिएको उनीहरुको भनाइ छ । ‘आइसोलेसनभित्र केही व्यवस्था गरिएको छैन्, सुत्ने बस्ने र खाने ठाउँसम्मको छैन । खानापान नामको मात्र दिने गरेको छ । यससँगै हामीलाई अलग्गै व्यवस्था मिलाउन भनेपछि हामीलाई डा.जामुनप्रसाद सिंहले जागिर खाइदिने धम्की दिनुभयो,’ उनीहरुले भनिन्, ‘हामीले त आइसोलेसनलाई व्यवस्थित बनाउन भनेका थियौं, तर जागिर खाइदिने धम्की पो आयो ।’

आइसोलेसन व्यवस्थित नभएसम्म भित्र नजाने भन्दै मंगलबार बाहिरै बसेर रातभर सबै जाग्राम बसिन् । रातभर बाहिरै बस्दापनि आफूहरुबारे कसैले ध्यान नदिएको उनीहरुले गुनासो छ ।

केही दिनअघि धनुषा शहिदनगर नगरपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएकालाई प्रादेशिक अस्पताल जनकपुरको आइसियुमा भर्ना गरेको थियो । 

त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले ती व्यक्तिमा कोरोनाको लक्षण देखिएकोले जेनेरल आइसीयुमा भर्ना नगर्न कोभिड अस्पतालका संयोजक डा. सिंहलाई सुझाएका थिए । तर, संयोजक डा. सिंहले जबरजस्ती आइसियुमा भर्ना गर्न लगाएर आफूहरुलाई पनि संक्रमित बनाएको स्वास्थ्यकर्मीहरुले जिकिर गरे ।

ती स्वास्थ्यकर्मी संक्रमतिले भनिन्, ‘पीसीआर रिपोर्ट आउनुपूजर्व लक्षणको हिसाबले कोरोना संक्रमित हुनसक्ने हामीले भनेका थियौं, आइसियुमा भर्ना भएको एक दिनपछि उनको मृत्यु पनि भयो । संक्रमणपनि पुष्टि भयो । ती संक्रमित स्वास्थ्यकर्मीहरुले मृतकलाई कोरोना पुष्टि भइसकेपछि हामीलाई रामजानकी होटलमा क्वारेन्टिनमै राखियो । तर, मंगलबार एक्कासी आइसोलेसनमा जान भनियो ।’ 

आइसीयुमा भर्ना भएका ती व्यक्तिमा संक्रमण पुष्टि भइसकेपनि डा. सिंहले आफूहरुलाई जबरजस्ती ड्युटीमा खटाइएको एक संक्रमित स्वास्थ्यकर्मीले बताइन् ।

कोभिड अस्पतालका संयोजक डा. सिंहले आफूले ती स्वास्थ्यकर्मीहरुलाई धम्की दिएको स्वीकारे । तर, उनीहरुलाई तर्साउनका लागि मात्रै आफूले धम्की दिएको सिंहले स्पष्ट पारे ।

उनले भने, ‘उहाँहरु आइसोलेसनभित्र जान तयार नभएको र राति वर्षा भइरहेको हुनाले आफुले जसोतसो भएर पनि भित्र जाओस् भन्ने मनसायले जागिर खाइदिनेसम्मको धम्की दिएको थिए । रातको समय थियो, सर्प र किराले टोकेको भए के हुन्थ्यो, त्यसको जिम्मेवारी कसले लिन्थ्यो ? त्रास देखाएपछि आइसोलेसनभित्र जान्छ कि भनेर मात्रै जागिरबाट हटाइदिने धम्की दिएको हुँ । अरु खासै केही छैन् ।’

संक्रमित स्वास्थ्यकर्मीहरु आइसोलेसनमा बस्न नमानेपछि बुधबार बिहान नजिकै रहेको नर्सिङ क्याम्पसको होस्टलमा बस्ने व्यवस्था गरिएको प्रादेशिक अस्पतालका मेसु डा.नागेन्द्रकुमार यादवले बताए । नर्सिङ क्याम्पससँग कुरा गरेर संक्रमित स्वास्थ्यकर्मीहरुलाई कोभिड अस्पताल छेउमै रहेको होस्टलमा राख्ने व्यवस्था भएको गरिएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप