बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीयू सेवाको शुल्क अस्पतालपिच्छे फरक किन ?

कोरोना संक्रमितले कति तिर्नुपर्छ ?
बुधबार, २१ साउन २०७७, ११ : २४
बुधबार, २१ साउन २०७७

काठमाडौं । राजधानीका सरकारी तथा निजी अस्पतालहरूले बिरामीलाई आईसीयू सेवा दिएबापत लिने शुल्क अस्वाभाविक रुपमा भिन्नता पाइन्छ । महालेखापरीक्षकको कार्यमुलक प्रतिवेदनमा समेत राजधानीका अस्पतालहरूले बिरामीलाई आईसीयूमा राखेर उपचार गर्दा फरक–फरक शुल्क लिने गरेको उल्लेख छ ।

बिरामीलाई आईसीयूमा राख्दा दिइने सेवा–सुविधा एउटै भए पनि अस्पतालपिच्छे शुल्क फरक पाइएको हो । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा वीर अस्पतालले आईसीयू सेवाबापत प्रतिव्यक्ति दिनमा १ देखि ३ हजार रुपैयाँसम्म शुल्क लिने गरेको उल्लेख छ ।

यस्तै थापाथलीस्थित नर्भिक अस्पतालले बिरामीलाई आईसीयू सम्बन्धी सेवा दिदाँ प्रतिव्यक्ति प्रतिदिन १० हजार रुपैयाँसम्म शुल्क लिने गरेको कार्यमुलक प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनमा आईसीयू सेवा दिएबापत नर्भिक अस्पतालले दिनमा १० हजार शुल्क लिने गरेको उल्लेख भए पनि हालै अस्पतालले १ हजार रूपैयाँ बढाएर ११ हजार रुपैयाँ शुल्क पु¥याएको छ ।

बिरामीलाई आईसीयू सेवा दिदाँ प्रतिव्यक्ति दिनमा ११ हजार शुल्क लिने गरेको अस्पतालका आईसीयू असिस्टेन्ट भुपेन्द्र भट्टले बताए । नर्भिक अस्पताल निजी भएकाले बिरामीलाई आईसीयूमा राख्दा दिइने सेवा–सुविधा अनुसारको शुल्क लिने गरेको उनले जिकिर गरे ।

आईसीयू सेवाभित्र बिरामीको चेकजाँच तथा अनुसन्धानको छुट्टै शुल्क लाग्नसक्ने समेत उनी बताउँछन् । सबै रोगका बिरामीलाई सेवा दिएअनुसार अस्पतालले शुल्क लिने गरेको उनको भनाइ छ ।

यता, वीर अस्पतालले बिरामीलाई दुई किसिमको आईसीयू सम्बन्धी सेवा दिँदै आएको छ । अस्पतालले जनरल आईसीयू सेवा र स्पेशल आईसीयू सेवा दिँदै आएको निर्देशक डा. केदार सेन्चुरीले बताए । बिरामीलाई स्पेशल आईसीयू सेवा दिएबापत प्रतिव्यक्ति दिनमा ३ हजार शुल्क लिने गरेको उनको भनाइ छ । जनरल आईसीयू सेवा लिएमा भने प्रतिव्यक्ति दिनमा १ हजार शुल्क लाग्ने उनी बताउँछन् ।

अन्य अस्पतालको तुलनामा वीर अस्पतालले आईसीयू सेवाबापत कम शुल्क लिएको उनी ठान्छन् । आईसीयू सेवा दिँदा सबै अस्पतालले नर्सिङ केयर, बेड चार्ज सुविधाबापत पनि बिरामीबाट बढी शुल्क लिने गरेको पाइन्छ । कतिपय अस्पतालले भने आईसीयू सेवा दिँदा प्याकेजिङ सेवाका नाममा बिरामीबाट धेरै पैसा असुल्ने गरेका छन् । केही अस्पतालले आईसीयू सेवा दिँदा नर्सिङ केयर, बेड चार्ज, औषधि, इनभेस्टिकेसन आदि सेवाका नाममा बिरामीबाट बढी शुल्क लिने गरेको पाइन्छ ।

तर, वीर अस्पतालले कार्यकारी परिषद्को निर्णयअनुसार आईसीयू सेवा–सुविधा सम्बन्धी शुल्क लिने गरेको उनले बताए । 

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पतालहरूले आईसीयू सेवाबाहेक अन्य सेवा दिँदा पनि अस्पतालको निर्णय र मन्त्रालयको मापदण्डमा टेकेरमात्र बिरामीबाट शुल्क लिनुपर्छ । बिरामीको स्वास्थ्य उपचारका क्रममा कुनै पनि बहानामा बिरामीबाट बढी शुल्क असुल्न नपाइने मन्त्रालयले प्रष्ट पारेको छ ।

सरकारी र निजी अस्पतालहरूले आईसीयू सेवासँगै अन्य सेवा सुविधाका आधारमा शुल्क लिन सक्छन् । तर बिरामीलाई आईसीयू सेवा दिने नाममा अस्पतालहरूले बढी पैसा लिएको पाइएमा कारवाहीको दायरामा ल्याउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितलाई आईसीयू, भेन्टिलेटरमा राख्दा कति शुल्क लाग्छ ?

कोरोना संक्रमित व्यक्तिलाई आइसोलेशनमा राख्दा आईसीयू, भेन्टिलेटरसहितको उपचार सेवामा सरकारले शुल्क तिर्ने गर्दछ । त्यस्तै, लक्षणविहीन कोरोना संक्रमितलाई घरमै पुगेर निगरानीमा राख्दा वा स्वास्थ्य सेवा दिँदा पनि सरकारले शुल्क तिर्ने गर्छ ।

कोरोना पोजेटिभ व्यक्ति घरमै बसेको खण्डमा स्वास्थ्यकर्मीले निगरानीमा राखेर स्वास्थ्य सेवा दिएबापत प्रतिव्यक्ति दिनको दुई सयका दरले शुल्क तिर्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताए ।

यस्तै, कोरोना संक्रमित व्यक्तिको अवस्था सामान्य भएर पनि अस्पताल बसेमा प्रतिव्यक्ति दिनको ३ हजार ५ सय रुपैयाँका दरले शुल्क लाग्ने उनको भनाइ छ ।

कोरोना संक्रमित व्यक्तिको अवस्था जटिल भएमा प्रतिव्यक्तिले दैनिक ७ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने उनले बताए । कोरोना संक्रमितको अवस्था धेरै जटिल भएर भेन्टिलेटरमा राख्न परेमा प्रतिव्यक्ति दिनको १५ हजार रुपैयाँको दरले अस्पताललाई शुल्क बुझाउनुपर्ने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप