शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अयोध्या जान हिँडेका जानकी मन्दिरका महन्तलाई प्रहरीले फर्काइदियो

मङ्गलबार, २० साउन २०७७, १७ : ०५
मङ्गलबार, २० साउन २०७७

जनकपुर । भगवान रामको ससुराली मानिने जनकपुरधामबाट प्रतिनिधित्व गर्दै अयोध्या जान लागेका जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवलाई नेपाल प्रहरीले रोकेको छ । लामो समयको प्रतिक्षापछि भारतको अयोध्यामा निर्माण हुन लागेको राममन्दिरको शिलान्यास कार्यक्रममा सरिक हुन हिँडेका दासलाई प्रहरीले सिमानाकाबाट नै फर्काइदिएको हो ।

अयोध्यामा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर शिलान्यास गर्दैछन् । सो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सरिक हुने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा विशिष्ठ अतिथि विश्व हिन्दु परिषद्का अध्यक्ष मोहन भागवतलाई बनाइएको छ । 

विश्व हिन्दु परिषद्ले कोरोना महामारीका कारण शिलान्यास कार्यक्रममा सीमित व्यक्तिलाई मात्रै निमन्त्रणा गरेको छ । ती सीमित व्यक्तिहरूमध्ये जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवलाई समेत निमन्त्रणा पठाइएको थियो ।
भारतको अयोध्यास्थित श्रीराम जन्मभूमी तीर्थ क्षेत्र नामक संस्थाका महासचिव चम्पन रायले दासलाई पठाएको पत्रमा ‘राम मन्दिर निर्माण कार्य प्रारम्भ हुने ऐतिहासिक क्षणको आमन्त्रण दिन पाउँदा हामीलाई हर्ष र उल्लासको अनुभूति’ भएको उल्लेख छ । 

दास सीमानाका महोत्तरीको भिठ्ठामोडबाट भारततर्फ प्रस्थान गर्न गाडी लिएर गणन्तव्य हिँडेलगत्तै  प्रहरीले अनुमति दिएन । उनी अहिले जनकपुरधाम फर्किएका छन् । सीमा नाकाबाट आवतजावत गर्न पूर्ण प्रतिबन्ध रहेको भन्दै सुरक्षाकर्मीले अनुमति नदिएपछि  दास सहितको टोली फकिएको हो ।

जानकी मन्दिरका महन्त दासले शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्न अयोध्याका लागि हिडेपनि प्रहरीले सिमानाकाबाट जान अनुमति नरहेको भन्दै जान दिएनन् । दासले चाँदीको ईटा सहितका सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेका थिए । उनीले पिसिआर रिपोर्ट देखाएर जान आग्रह गर्दा समेत प्रहरीले नाकाबाट आवतजावत पूर्णरुपमा बन्द रहेको भन्दै फर्काएको दासले बताए ।

दासले भने– ‘माता जानकीको घर (ससुराली) भारतको अयोध्यामा ऐतिहासिक राम मन्दिरको शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्ने चाहना पूरा भएन ।’ उनले भने– ‘राम मन्दिरको शिलान्यास कार्यक्रममा अयोध्या जान नपाएपनि बुधबार जानकी मन्दिरमै विशेष कार्यक्रमको आयोजना गर्नेछौँ ।’

जनकपुर र अयोध्याबीच वर्षौंदेखि धार्मिक र सांस्कृतिक सम्बन्ध रहिआएको छ । सिताराम विवाहपञ्चमीमा सहभागी हुन हरेक वर्ष भारतको अयोध्याबाट साधु सन्तहरू जन्तीको रूपमा जनकपुरधाम आउने गरेका छन् भने नेपालको जानकी मन्दिरबाट पनि विभिन्न धार्मिक सांस्कृतिक उत्सवहरुमा त्यसतर्फ जाने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप