बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनबारे ओलीलाई आए दुईथरी सुझाव

सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर निर्णयमा पुगिने
मङ्गलबार, २० साउन २०७७, १६ : २२
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । कोरोनाभाइरस संक्रमित धमाधम थपिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका छन् । सो क्रममा विज्ञहरुले प्रधानमन्त्रीलाई दुईथरीका सुझाव दिएका छन् । केही विज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् भने केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सुझाएका छन् । 

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाएको बताए । 

बालुवाटारमा प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पाण्डेले आफूलगायत केही विज्ञहरुले १५ दिन कडाखालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । 

‘पहिले भारतबाट आएका मात्रै संक्रमित हुन्थे भने अहिले कम्युनिटीमा पनि संक्रमित बढेका छन् । हामी अहिले कुन स्टेजमा छौं र के गर्ने भन्नेबारेमा धारणा राखियो’, उनले भने, ‘१५ दिन कडा खालको लकडाउन गर्ने र त्यसपछि जनस्वास्थ्यका मापदण्ड अपनाउने भन्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ ।’

केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षपनि लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्थालाई सहजतातिर लैजानु पर्ने धारणा पनि राखेको उनले बताए । 
यद्यपि कोरोनाको विषयमा केयरलेस हुँदै जाँदा भयावह स्थिति आउन सक्ने भएकाले सरकारले उचित निर्णय गरेर अघि बढ्नुपर्नेमा सबैपक्ष एकमत भएको उनले बताए । उनले भने, ‘विज्ञहरुले दिएको सुझावको आधारमा सीसीएमसी, स्वास्थ्य मन्त्रालय र क्याबिनेटमा छलफल गरेर उचित निर्णय गर्छु भन्नु भएको छ । आशा गरौं कोरोना नियन्त्रणमा सकारात्मक पहल होला ।’

बैठकपछि अर्का जनस्वास्थ्यविद डा समिरमणि दीक्षितले भने  देशभर लकडाउन गर्नुको साटो संक्रमण बढी भएका स्थानमा लकडाउन गर्नुपर्ने र अन्य स्थानमा व्यवस्थित बनाउँदै लैजानुपर्ने सुझाव दिएको बताए । 
उनले समग्रमा सवैतिर लकडाउन गर्दा आर्थिक लगायतका गतिविधि ठप्प हुनसक्ने र त्यसले थप मार खेप्नुपर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने आफ्नो सुझाव रहेको जानकारी दिए । 

सवैको सुझाव सुनिसकेपछि प्रधानमन्त्री केपी ओलीले सीसीएमसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गरिने बताएका थिए । उनले नेपाल र नेपाली कोरोनाको संकटमात्र नभएर विभिन्न संकटहरु पार गर्दै आएकाले यो संकटलाई पनि पार लगाउने विश्वास व्यक्त गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका साथै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको पनि सहभागिता रहेको थियो । यस्तै स्वास्थ्य मन्त्रालय र सिसिएमसीका पदाधिकारी पनि सहभागी थिए । 
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञ तथा सरोकारवालाहरुको बैठकमा आफ्नो ७ बुँदे धारणा राखेका छन् । देउवाले प्रमुख प्रतिपक्षी दलको तर्फबाट आफ्नो २ बुँदे धारणा राखेका हुन् । 

बैठकमा देउवाले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै स्वास्थ सामग्री खरिदमा भएको अनियमिततामा संलग्नलाई कारबाही गर्न सुझाएका थिए । यस्तै आरडीटी परिक्षण स्थायी रुपले अन्त्य गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउन, मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र व्यवस्थापन गर्नुपर्ने, स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्नुपर्नेलगायतका ७ बुँदे सुझाव पनि बैठकमा देउवाले राखेका थिए । 

यस्तै ठाकुरले  सरकारले यसअघि लामो समय लकडाउन गरेपनि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले लकडाउन गरेरमात्रै नहुने यसअघि नै स्पष्ट भएकाले सरकारको आगामी योजना के छ भन्दै प्रश्न समेत गरेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप