शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बामदेव–प्रचण्ड ४० मिनेट वार्ता : ६ बुँदे प्रस्तावमा छलफल

मङ्गलबार, २० साउन २०७७, १३ : ४९
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद चर्किरहेकै बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार बिहान करिव ४० मिनेट भएको प्रचण्ड–गौतमबीचको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको बुझिएको छ । प्रचण्ड गौतमलाई भेट्न बिहान ११ बजे भैंसेपाटी पुगेका थिए । 

भेटवार्तामा खासगरी यसअघि गौतमले राखेको ६ बुँदे प्रस्तावका विषयमा छलफल भएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच ४० मिनेट कुराकानी भएको थियो । 

यसअघि आइतबार र सोमबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका प्रचण्डले ती भेटवार्तामा पनि सहमतिको संकेत नदेखिएपछि गौतमसँग भेटेका हुन्  । 
गौतमले गत साउन १३ गते नेता कार्यकर्ताको भावनाअनुसार भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरी त्यसबाटै निकास खोज्नुपर्ने जनाउँदै आएका छन् । 


गौतमको उक्त प्रस्तावमा महाधिवेशनसम्म ओलीले दुवै पद छाड्न नपर्ने तर प्रचण्डलाई पार्टीको पूर्ण जिम्मेवारी दिनुपर्ने उल्लेख छ । यो प्रस्तावमा ओली समूह सकारात्मक छ भने प्रचण्ड नेपाल समूह ओलीले अध्यक्ष वा प्रधानमन्त्री एक पद छाड्नुपर्ने अडानमा उभिएको छ ।

प्रचण्डसँगको भेटमा पनि गौतमले आफ्नो प्रस्ताव पार्टी एकतालाई थप मजबुत बनाउन ल्याएको भन्दै त्यसैलाई टेकेर निकास खोज्नुपर्ने बताएको गौतम निकट स्रोतको दावी छ । 
‘पार्टी एकता कायम राख्नु अहिलेको आवश्यकता हो । त्यसलाई जोगाउन तपाईं हामी सवै लाग्नुपर्छ । त्यसैले पार्टीको हितमा सबैले कदम चाल्नुपर्छ’, प्रचण्डसँगको वार्तामा गौतमले भनेका थिए ।  ओली र प्रचण्डबीच मंगलबार साँझ पाँच बजे पुनः वार्ता हुदैछ । 

यसअघि ओली प्रचडबीच भएका वार्तामा सचिवालय बैठक बस्ने वा स्थायी कमिटी बैठक भन्नेमा कुरा मिल्न सकेको थिएन । प्रचण्ड स्थायी समिति बैठक राखेर निकास निकाल्नुपर्ने पक्षमा छन् भने ओली स्थायी कमिटी रोकेर सचिवालयबाटै सहमति खोज्नुपर्ने पक्षमा छन् । 

सोमबारको वार्तामा स्थायी समिति कि सचिवालय भन्नेमा विवाद भएपछि नेताहरु पुनः आज बस्ने भन्दै उठेका थिए । सोमबारको वार्तापछि बालकोट पुगेका ओलीले वार्ता सकारात्मक हुन नसकेको र आफू पद छोड्न तयार नभएको सन्देश दिएका थिए । नेकपाको नौ सदस्यीय सचिवालयमा गौतम जता लाग्छन् उतै बहुमत हुने देखिन्छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप