शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बामदेव फकाउन होडबाजी, भैँसेपाटी पुगे प्रचण्ड

मङ्गलबार, २० साउन २०७७, ११ : २४
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । एक साताअघि दुई अध्यक्ष सामु ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यससता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको विश्लेषण हुन थालेका बेला प्रचण्ड गौतम भेट्न निवास पुगेका हुन् । 

ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले प्रचण्ड गौतम भेट्न भैसेपाटी आएको पुष्टि गर्दै समसामयिक विषयमा नेताहरुबीच छलफल हुनु सामान्य भएको प्रतिक्रिया दिए । 

यसअघि गौतमले नेकपा विवाद उत्कर्षमा पुगेका बेला सहमतिको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेसँगै ओली गौतमलाई भेट्न उनको निवास पुगेका थिए । गौतमको ६ बुँदे प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ ।

यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ । 

यसबाहेक पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ । 

लगत्तै गौतमलाई आस्वस्त पार्न ओली भैसेपाटीस्थित निवास पुगेर यसअघि गौतमसँग भएका सहमति कार्यान्वयन गर्ने आश्वस्त पारेका थिए । नेकपा विवादमा कहिले प्रचण्ड र कहिले ओली खेमातिर लाग्दै आएका गौतम पछिल्लो समय ६ बुँदेमार्फत ओली कित्तामा उभिन पुगेको भनिएका बेलामा नेकपा सचिवालयमा ओली पक्षको बहुमत पुगेको विश्लेषण हुन थालेको छ । यसपछि प्रचण्ड–नेपाल समूह सचिवालयमा अल्पमतमा पर्दै सशंकित हुन पुगेको छ । 

आजै ओली प्रचण्डबीच वार्ता हुँदैछ । साँझ ५ बजे हुने वार्तामार्फत सहमतिको बिन्दु खोज्न प्रयास हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप