शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थाहा पाइराखौं : केराको बोक्रालाई यसरी मलको रुपमा प्रयोग गर्न सकिन्छ

मङ्गलबार, २० साउन २०७७, ०८ : ३९
मङ्गलबार, २० साउन २०७७

सम्भवतः केरा संसारभरि नै सबैको लागि प्रिय फल हो । यो फल खानमा मीठो मात्रै हैन, यसमा प्रशस्त मात्रामा भिटामीन, क्यालोरी र शरीरका लागि आवश्यक तत्वहरु हुने गर्छन् । यस अर्थमा केरा मानिसको लागि उपयोगी फलहरुमध्येमा पर्छन् ।

केरा मात्रै हैन, केराको बोक्रा पनि उत्तिकै उपयोगी हुने गर्छ । केराको बोक्रा विशेष गरेर फूलहरुको लागि अति उपयोगी मल हुन सक्छ । केराको बोक्रामा बोटविरुवाका लागि चाहिने पोषणहरु प्रशस्त मात्रामा पाइन्छ । यसमा विशेष गरेर पोटासियम, फस्फोरस र क्याल्सियम पाइने गर्छ । त्यसबाहेक विरुवालाई आवश्यक पर्ने अन्य थुप्रै खनिज तत्वहरु पनि केराको बोक्रामा हुने गर्छ ।

केराको बोक्रालाई बोटविरुवामा मलका रुपमा विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । यहाँ केही तरिकाहरुको बारेमा उल्लेख गरिएको छ ।

केराको बोक्राको झोल मल

केराको बोक्राहरु एउटा बाल्टीमा जम्मा गर्ने । त्यसमा पानी भर्ने । उपलब्ध भएमा अलिकति सख्खर र मल बनाउने जैविक झोल ( जस्तैः ईएम) हाल्ने । त्यसलाई दुई दिनको लागि छोपेर सोझै घाम नपर्ने ठाउँमा राख्ने ।

दुई दिनपछि त्यो पानी छान्ने । अब त्यो पानीमा समान मात्रामा पानी मिलाएर बोटविरुवाहरुमा झोल मलको रुपमा प्रयोग गर्न सकिन्छ ।

त्यसरी झोल मल बनाएर बँचको केराको बोक्रालाई कम्पोष्ट मल बनाउन सकिन्छ वा सुकाएर पिनेर बोटविरुवामा सोझै हाल्न पनि सकिन्छ ।

यसरी  झोल मल बनाउँदा त्यसलाई दुई दिनभन्दा बढी वा एकाधहप्ता पनि राख्न सकिन्छ । त्यसरी बनाएको मल पनि विरुवाहरुका लागि अति पोसिलो हुने गर्छ ।

टुक्रा पारेर बोटमा हाल्ने

केराको बोक्रालाई मलको रुपमा प्रयोग गर्ने अर्को उपाय भनेको सोझै टुक्रा पारेर बोटविरुवाको फेदमा करिब ४ इन्चजति माटोमुनि पुरिदिने । माटोमा भएका व्याक्टेरियाहरुले त्यस बोक्रालाई कुहाएर विस्तारै विरुवाले मलको रुपमा ग्रहण गर्न सक्छ ।

तर यसरी केराको बोक्रालाई विरुवामा सोझै हाल्दा बोट र जराभन्दा अलि पर गाड्नुपर्छ । अन्यथा बोट र जरा कुहिने खतरा हुन्छ ।

सुकाएर धुलो मलको रुपमा प्रयोग गर्ने

केराको बोक्रालाई मलको रुपमा प्रयोग गर्ने अर्को उत्तम विधि भनेको त्यसलाई घाममा पुरै सुकाउने । त्यसरी सुकाएको बोक्रालाई ग्राइन्डरमा पिनेर धुलो मलको रुपमा प्रयोग गर्न सकिन्छ ।

केराको बोक्रालाई मलको रुपमा उपयोग गर्ने यो विधि सबैभन्दा उत्तम मानिन्छ । यसरी बनाएको मलले जरा वा बोक्रा कुहाउने खतरा रहँदैन, कीरा फट्यांग्रा झिंगाहरु आकर्षित हुने सम्भावना कम हुन्छ । त्यसबाहेक यसरी बनाएको मल गन्हाउँदैन । कतिपय विरुवाहरुका लागि यो तरिकाले बनाएको मल उत्तम मानिन्छ ।

सिंगै बोक्रा गाडिदिने

कतिपय मानिसहरुले चाहिँ केराको सिंगै बोक्रा पनि बारीमा गाडिदिने गर्छन् । यसरी पनि केराको बोक्रालाई मलको रुपमा प्रयोग गर्न सकिन्छ । तर यस  तरिकाले गाडिएको केराको बोक्रा कुहिने प्रक्रिया अलि ढिलो हुने गर्छ र विरुवाले सापेक्षित रुपमा मल पनि सुस्त गतिमा प्राप्त गर्ने गर्छ ।

स्प्रेको रुपमा प्रयोग

तपाईंको विरुवा राम्ररी हुर्किरहेको छ र त्यसलाई अझ बढी पोषण दिएर धेरै फूल फुल्ने वा फल लाग्ने बनाउन चाहनु हुन्छ भने केराको बोक्राको स्पे्र बनाएर प्रयोग गर्न सकिन्छ ।

त्यसरी स्प्रे बनाउनको लागि केराको बोक्रा र अण्डाका खोलहरु जम्मा गरेर एउटा भाडामा पकाउने । करिब १०–१५ मिनेट पकाएपछि त्यो पानीलाई सेलाउन दिने । पानी सेलाएपछि त्यसलाई मसिनो कपडा वा चाल्नीले छान्ने । छानिएको पानीलाई बोतलहरुमा भरेर राख्ने । बाँकी रहेका केरा र अण्डाका छोक्राहरुलाई कम्पोष्ट बनाउने भाँडामा हालिदिने ।

छानिएको झोलमा १ लिटर बराबर ५ ग्राम जति एप्सम साल्ट (म्याग्नेसियम सल्फेट) हाल्ने र बोतल हल्लाएर राम्ररी घोल्ने ।

अब यो झोललाई सोझै बोटविरुवाको पात, डाँठहरुमा स्प्रे गर्न सकिन्छ । यो तरिकाबाट पनि विरुवाले पोषण सोझै प्राप्त गर्न सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप