बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैङ्कमा पौने २ खर्ब थुप्रियो, ब्याजदर घटाउने प्रतिस्पर्धा

कसले कति ब्याज लिन्छन् ?
शनिबार, १७ साउन २०७७, १० : २२
शनिबार, १७ साउन २०७७

काठमाडौं । बैकिङ क्षेत्रमा अहिले पौने २ खर्ब तरलता (लगानीयोग्य रकम) छ । बैङ्कहरुमा लगानी गर्ने रकम प्रशस्त भएपछि कहाँ लगानी गर्ने भन्ने अन्यौलमा बैङ्कहरु छन् । तरलता बढेसँगै लगानी विस्तारका लागि बैङ्कहरुले आफूले दिने कर्जाको ब्याजदर धमाधम घटाइरहेका छन् ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणकर भट्टका अनुसार अहिले बैंकिङ प्रणालीमा १ खर्ब ८५ अर्ब रुपैयाँ तरलता छ । हिजोमात्र नेपाल राष्ट्र बैङ्कले २० अर्ब तरलता बजारबाट प्रशोचन गरेको भट्टले जनाए । यसअघि पनि राष्ट्र बैङ्कले साउन ८ गते २० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । बैङ्कहरुलाई लगानी गर्न बाध्यात्मक अवस्था सिर्जना गर्नका लागि तरलता नतान्ने भनेको केन्द्रीय बैङ्कले अन्ततः २ पटक गरेर ४० अर्ब तरलता तानिसकेको छ ।

यता बैङ्करहरु कर्जाको माग नै नभएपछि कसरी लगानी विस्तार गर्ने भन्दै केन्द्रीय बैङ्कले तरलता प्रशोचन गर्नुपर्ने बताउँदै आएका थिए । बैङ्कर्स एशोसिएसनका अध्यक्ष भुवन दाहाल आफूहरु लगानी गर्न बसेको र उचित माग आए लगानी गर्न तयार रहेको बताउँछन् ।

उसो त, बैङ्कमा लगानीयोग्य रकम अधिक हुनु ऋणीका लागि फाइदा हो । कारण अहिले धमाधम कर्जाको ब्याजदर घटिरहेको छ । लगानी आकर्षित गर्न ब्याजदर घटाएर बैङ्कहरुले सूचना प्रकाशित गरिरहेका छन् । अर्थतन्त्र सामान्य अवस्थामा आउँदा अत्यधिक कर्जा माग हुने हुँदा अहिलेको तरलता काम लाग्ने बैकिङ विज्ञ अनलराज भट्टराई बताउँछन् ।

ब्याजदर घटाएपनि नयाँ कर्जाको माग न्यून

तरलता अधिक भएपछि बैङ्क तथा वित्तीय क्षेत्रमा कर्जा तथा निक्षेपको ब्याजदर घटिरहेको छ ।  साउन लागेसँगै निक्षेप र ऋण दुवै घटेको छ ।

राष्ट्र बैङ्कका अनुसार, निक्षेप २५ अर्बले घटेको छ भने ऋण ३६ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तमा बैङ्कहरुसँग ३४ खर्ब ६२ अर्बरुपैयाँ निक्षेप थियो । ऋण २९ खर्ब ३ अर्ब रुपैयाँ थियो ।

बैङ्कहरुले निक्षेपको ब्याजदरमा भएको भएका भद्र सहमति समेत खारेज गरिसकेका छन् । कोभिड १९ का कारण अहिले बैकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएको छ ।  बैङ्कको ऋण घट्दा र निक्षेप बढ्दा बैङ्कहरुको कोषको लागत बढिरहेको छ ।

नयाँ ऋणको माग नहुँदा बढी भएको तरलता व्यवस्थापन गर्न बैङ्कले सकिरहेका छैनन् । अहिले बैकमा नयाँ ऋण माग नहुँदा  एउटा बैङ्कमा भएको ऋण अर्को बैङ्कले खोस्न थालेको बैकिङ विज्ञ अनलराज भट्टराई बताउँछन् । भट्टराई जतिसुकै ब्याजदर घटाए पनि नयाँ कर्जा प्रवाह हुने सम्भावना न्यून रहेको बताउँछन् ।

उनी भन्छन्, ‘मानौं कुनै बैङ्कले सवारी साधन कर्जा २ प्रतिशत ब्याजदरमा दिन्छु भन्यो भने सवारी किन्न कोही पनि अगाडि सर्दैनन् । कारण कोरोनाले स्थिति सहज भएको छैन । सवारी किनेर थन्काउन कोही चाहँदैन ।’ अहिलेको अवस्थामा कर्जा जोखिम नबढ्ने उनको धारणा छ । अर्थतन्त्र बुस्ट भएको बेला कर्जा माग ज्यादा हुँदा लगानी आक्रामक हुने र कर्जाको जोखिम पनि उत्तिकै बढ्ने उनको भनाइ छ ।

ब्याजदर घटाउन प्रतिस्पर्धा

चालु आर्थिक वर्षसुरु भएसँगै बैङ्क तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्  । केही बैङ्कको ब्याजदर एकल अंकमा आएको छ । एकल अंकमा नआएका बैङ्कको ब्याजदर पनि घट्ने क्रममा छ ।

कुन बैङ्कले कर्जामा कति लिन्छन् ब्याज ?

नेपाल इन्भेष्टमेन्ट बैङ्क

नेपाल इन्भेष्टमेन्ट बैङ्कलेसेयर धितोमा एकल अंकको ब्याजदरमा ऋण दिने भएको छ । बैङ्कले नयाँ ब्याजदर सार्वजनिक गर्दै सेयर धितो ऋण ९.९९ प्रतिशतब्याजदरमा दिने भएको छ । यस्तै सुनचाँदी धितो, एसएमई र घर कर्जाको पनि ९.९९ प्रतिशत ब्याजदर तोकिएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क

राष्ट्रिय वाणिज्य बैङ्कको साउन ७ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको कर्जाको ब्याजदरमा सबैभन्दा धेरै ९.३२ प्रतिशत ब्याजदर लाग्नेछ । जेठ मसान्तसम्म बैङ्कको आधार दर ६.०७ प्रतिशत रहेको छ । यसमा अधिकतम ३.२५ प्रतिशत प्रिमियम थपेर बैङ्कले कर्जा दिएको छ । बैङ्कबाट ओभरड्राफ्ट, धितो कर्जा, औद्योगिक, व्यापारिक, हाउजिङ, रियल स्टेट, सुन, थोक, प्रत्यक्ष, कृषि, करार कर्जा, गाडी, शैक्षिक, सेयर धितो, मोर्टगेज कर्जा लिँदा ९.३२ प्रतिशत ब्याज लाग्ने छ । यता, न्यूनतम ०.५ प्रतिशत प्रिमियम थपमा पनि कर्जादिइएको छ । सरकारी बैङ्कको कर्जाको ब्याजदर एकल अंकमा आएको छ ।

नबिल बैङ्क

नबिल बैङ्कले ३६ औं वार्षिकोत्सव अवसर पारेर घर कर्जा,  ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा विशेष छुट अफर ल्याएको जनाएको छ । बैङ्कले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । यसअन्तर्गत घर कर्जामा ७.९९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ ।

ग्लोबल आइएमई बैङ्क

ग्लोबल आइएमई बैङ्कले आकर्षक ब्याजदरमा कर्जाप्रवाह गर्ने योजना ल्याएको छ । ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जालिन पाउनेछन् । यस कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहने बैङ्कले जनाएको छ । यसैगरी बैङ्कले ८.९९ प्रतिशत ब्यादरमा गाडी कर्जा र ९.४९ प्रतिशत ब्याजदरमा शेयरको धितो कर्जा प्रवाह गर्नेछ ।

एभरेष्ट बैङ्क

एभरेष्ट बैङ्कले साउन ६ गतदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तसम्ममा बैङ्कको आधार दर ८.५ प्रतिशत रहेको छ । यसैमा प्रिमियम थप गरेर बैङ्कले कर्जाप्रवाह गर्दै आएको छ । बैङ्कले न्यूनतम १.२५ प्रतिशत देखि अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा दिएको छ । कर्पोरेट, साना मझौला कर्जार अन्यमा रेटिङमा न्यूनतम १.२५ प्रतिशत प्रिमियम थप गरेर अर्थात ९.३० प्रतिशत ब्याजदरमा कर्जा दिएको छ । अधिकतम १३.५ प्रतिशतसम्म ब्याज लिएको बैङ्कले जनाएको छ ।

एनसीसी बैङ्क

एनसीसी बैङ्कले चैत मसान्तको आधारदर १०.३६ प्रतिशत लाई आधार मानेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यसमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर तय गरिएको छ । जस अनुसार बैङ्कबाट ऋण लिँदा १५.३६ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैङ्कबाट सेयर धितोकर्जा, होम लोन, शैक्षिक धितो कर्जा लगायत अन्य कर्जालिँदा १५.३६ प्रतिशत ब्याज लाग्नेछ ।

हिमालयन बैङ्क

बैङ्कको चैत समान्तसम्मको आधारदर ८.८७ प्रतिशत लाई आधार मानेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यसमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर बैङ्कले ऋण प्रदान गर्दै आएको छ । जस अनुसार बैङ्कबाट ऋण लिँदा अधिकतम १३.८७ प्रतिशत सम्म ब्याज लाग्नेछ । बैङ्कबाट डिमान्ड लोन, टर्म लोन, एसएमई लोन, शैक्षिक धितो कर्जा, होम लोन, अटो लोन, हायर पर्चेज लोन लिँदा १३.८७ प्रतिशत ब्याजदर लाग्नेछ ।

मेगा बैङ्क

मेगा बैङ्कले साउन ८ गतेदेखि लागू गर्नेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैङ्कले असार मसान्तको आधारदर ८.३२ प्रतिशत लाई आधार मानेर नयाँ ब्याजदर सार्वजनिक गरेको हो । यसमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर बैङ्कले कर्जा प्रवाह गर्नेछ । जस अनुसार बैङ्कले १३.३२ प्रतिशत ब्याजदरमा ऋण दिनेछ ।

सिद्धार्थ बैङ्क

सिद्धार्थ बैङ्कको असार मसान्तसम्म बैङ्कको आधार दर ९.०३ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैङ्कले ऋण दिएको छ । जस अनुसार बैङ्कबाट कर्जा लिँदा १४.०३ प्रतिशत सम्म ब्याज लाग्ने छ । बैङ्कबाट औद्योगिक कर्जा, अटो लोन, शैक्षिक धितो कर्जा, टर्म लोन, शेयर धितो कर्जा लगायतका शीर्षकमा कर्जालिँदा १४.०३ प्रतिशत ब्याज लाग्ने छ ।

सिभिल बैङ्क

सिभिल बैङ्कको असार मसान्तको आधारदर ९.८४ प्रतिशत रहेको छ । यसमा अधिकतम ५.१६ प्रतिशत सम्म प्रिमियम थप गरेर बैङ्कले कर्जा दिएको छ । जस अनुसार अधिकतम १५ प्रतिशतसम्म ब्याज लिएर बैङ्कले कर्जा प्रवाह गरेको छ । जसमा ओभरड्राफ्ट कार्ड, माइक्रो ग्रुप ग्यारेन्टी बेस्ड लोन लिँदा १५ प्रतिशतसम्म ब्याज लाग्ने बैङ्कले जनाएको छ । यस्तै, हायर पर्चेज, रियल स्टेट, अटो, शैक्षिक धितो कर्जालिंदा १४.८४ प्रतिशत ब्याज लाग्ने छ ।

लक्ष्मी बैङ्क

लक्ष्मी बैङ्कको असार मसान्तसम्म आधारदर ९.२३ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएको छ । जस अनुसार एसएमई, अटो लोन, शैक्षिक धितो, घर किन्न, कर्जामा १४.२३ प्रतिशत सम्म ब्याजदर कायम गरिएको छ ।  व्यक्तिगत कर्जातर्फ बेसरेटमा ३ देखि ५ प्रतिशत सम्म ब्याजदर कायम गरिएको छ ।

नेपाल एसबीआई बैङ्क

नेपाल एसबीआई बैङ्कले साउन १ गतेबाट लागू हुने गरेर ब्याजदर सार्वजनिक गरेको छ । बैङ्कले असारको आधारदर ९.२५ प्रतिशतलाई आधार मानेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैङ्कले जनाएको छ । जस अनुसार १४.२५ प्रतिशत ब्याजदरमा बैङ्कबाट व्यक्तिगत, एसएमई, होम लोन, अटो लोन, हायर पर्चेज लोन, शैक्षिक धितो कर्जा, शेयर धितो कर्जा लिन पाइन्छ  ।

माछापुच्छ्रे बैङ्क

माछापुच्छ्रे बैङ्कले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैङ्कले असार मसान्तको आधारदर ९.२१ प्रतिशतलाई आधार मानेर नयाँ ब्याजदर सार्वजनिक गरेको हो । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैङ्कले कर्जा दिएको छ । जस अनुसार कर्जाको अधिकतम ब्याजदर १४.२१ प्रतिशत हुन्छ । बैङ्कबाट होम, अटो, मोर्टगेज, शैक्षिक धितो कर्जा, शेयर धितो कर्जालगायतका शीर्षकमा ऋण लिँदा १४.२१ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

सिटिजन्स बैङ्क

सिटिजन्स बैङ्कले हालसालै घर कर्जा, साना तथा मझौला उद्योग कर्जा (एसएमई) तथा व्यक्तिगत कर्जा (मोर्टगेज) कर्जासम्बन्धी योजना ल्याएको छ । घरकर्जा तथा साना तथा मझौला उद्योग कर्जा ९.५० प्रतिशत तथा मोर्टगेज कर्जा अन्तर्गत वार्षिक १०.९९ प्रतिशत ब्याजदरमा ऋण दिनेगरी बैङ्कले योजना ल्याएको छ ।

हाल बैङ्कको आधार ब्याजदर ९.०४ प्रतिशत छ । कर्पोरेट लोनमा ०.२५ देखि ५ प्रतिशतसम्म, कन्जुमर लोनमा ०.५ देखि ५ प्रतिशतसम्म एसएमई लोनमा १ देखि ५ प्रतिशत, अन्य लोनमा भने २ देखि ८ प्रतिशत ब्याजदरमा ऋण लिनेगरी पछिल्लो ब्याजदर तालिका सार्वजनिक गरेको छ । यसो हुँदा सिटिजन्स बैङ्कका ऋणीले ९.२९ प्रतिशत देखि १७.०४ प्रतिशत ब्याजदरमा ऋण लिनसक्ने अवस्था रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप