मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुन प्रकरणमा ट्वीस्ट : जवानले बुझे, डीएसपीले गाडीमा हालेर हिँडे

शंकाको घेरामा प्रहरी जवान कठायत
शुक्रबार, १६ साउन २०७७, १२ : १८
शुक्रबार, १६ साउन २०७७

काठमाडौँ । साढे १४ किलो चाँदी र आधाकिलो सुन अप्रेशन प्रकरणमा एकपछि अर्को रहस्य खुल्न थालेको छ । काठमाडौँ प्रहरी प्रमुख श्याममलाल ज्ञवालीले चेकप्वाइन्ट थापेर सुन बरामद गरेको दावी गरेपनि सुन तस्करले प्रहरीको हातमै सुन थमाएको खुलेको छ । सुन्धाराको आकाशे पुलमा प्रहरी जवानले सुन बुझे, अनि डीएसपीलाई दिए । 

महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रन्जन दाहालको नेतृत्वमा मंगलबार सुन अप्रशेन गरियो । डीएसपीलाई काठमाडौँमा सुन आएको सुराक दिने व्यक्ति थिए– ‘दरबारमार्ग वृतमा सादा पोशाकका कार्यरत जवान प्रशन्न श्रेष्ठ ।’ 

श्रेष्ठकै सुराकको आधारमा मंगलबार विहान दाहाल अप्रेशनमा निस्किएका थिए । सुन बोकेको स्कोर्पियो नागपोखरीको अपार्टमेन्टबाट निस्कन्छ भन्ने सुराक प्रहरीले पाएको थियो । 

नागपोखरीबाट सुन बोकेको गाडी दरबारमार्ग वृत्त अगाडिबाट आउने सम्भावना थिएन् । त्यसैले हात्तिसारमा रहेको सिद्धार्थ बैंकको आडमा दाहाल छेल पारेर बसे । 

प्रहरी जवान प्रशन्न श्रेष्ठले डीएसपीलाई फोन गरेर भने– ‘गाडी त माइतीघर पुग्यो ।’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार प्रसन्न मोटरसाइकल लिएर गाडीको फलो गरिरहेका थिए । 

 


माइतीघर हुँदै बा ६ च ५५१९ नम्बरको स्कोर्पियो टेकु पुग्यो । टेकुबाट स्कोर्पियो फेरी घुमेर पुतलीसडकतर्फ लाग्यो । सिसिटिभी फुटेजको दृश्यमा स्कोर्पियोलाई प्रहरीको गाडीले टाढाबाट फ्लो गरिरहेको देखिन्छ । 

सुन्धाराको ट्राफिक आइल्याण्डनजिक मोटरसाइकल रोकेर एक युवा आकाशे पुलमा उक्लिए । उनी थिए– ‘प्रहरी जवान बहादुरसिंह कठायत ।’ 

सुन तस्कर र कठायतको बिच फोनमा कुरा भयो । त्यसपछि, स्कोर्पियो सुन्धारा पुग्यो । अनि, गाडी रोकेर तस्कर समूहका एकजना ओर्लिए । कठायत पनि पुलबाट तल झर्दै थिए, स्कोर्पियोबाट ओर्लिएका युवा पुलतिर लागे । उनले आकाशे पुलमा बहादुरसिंह कडायतलाई सेतो झोला दिए । काठमाडौँका एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलनमा दावी गरे अनुसार सो झोलामा सुन, चाँदी र पेस्तोल थियो । 

पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, एसपी सोमेन्द्र सिंह राठौर र दरबारमार्ग वृत्तका प्रमुख रन्जन दाहाल ।

बहादुरसिंह कठायतले झोला बुझेको केही मिनेटमा डीएसपी दाहाल आकाशे पुलमा पुगे । दाहालले सोधे– ‘खोइ प्रशन्न ?’ प्रशन्न पनि त्यहिँ पुगे ।  कठायतले भने– ‘स्कोर्पियोमा आएका तीनजनाले मलाई यो सामान दिएर गए !’ 

डीएसपीले त्यो झोला आफू चढ्ने दरबारमार्ग वृत्तको गाडीमा हालेर अफिसतिर लागे । अप्रेशन सकियो । 

शंकाको घेरामा कठायत
प्रहरी जवान बहादुरसिंह कठायत महेन्द्र शालिकमा स्ट्याडबाई राखिने प्रहरीको सीआरभी (कम्प्याक रिक्रेशनल भेहिकल)का चालक हुन् । घटनाबारे अनुसन्धानमा संलग्न प्रहरी अधिकृतकाअनुसार कठायत ‘सुन अप्रेशन’ छन् भन्नेबारे डीएसपी दाहाल नै अनभिज्ञता प्रकट गरेका छन् । 

कतै दाहाललाई नै गुमराहमा राखेर प्रशन्न र कठायतले तस्करी समूहसँग मिलेर काम गरेका त थिएनन् भन्ने प्रश्न उठेको छ । त्यसबारे महानगरीय प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक सुशिल कुमार यादव नेतृत्वको समितिले छानबिन गरिरहेको छ । 

प्रशन्न श्रेष्ठको सुराक र उनले भनेअनुसार नै डीएसपी अप्रेशनको कमाण्ड गरेको छानबिन समितिको प्रारम्भिक निष्कर्ष छ । 

डीएसपी दाहाल र काठमाडौँका एसएसपी ज्ञवालीले चेकप्वाइन्ट नै राखेर सुन बरामद गरेको दावी गरेका थिए । सिसिटिभी फुटेज विष्लेषण र प्रारम्भिक अनुसन्धानबाट सो अप्रेशनमा प्रहरीले कतैपनि चेक प्वाइन्ट राखेको देखिँदैन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप