बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय खेलकुद परिषद बोर्डमा ६ जना मनोनित

बिहीबार, १५ साउन २०७७, २२ : १७
बिहीबार, १५ साउन २०७७

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्डमा छ सदस्य मनोनीत गरेका छन् । राखेपको उपाध्यक्ष र सदस्य सचिवलाई शपथ खुलाएको भोलिपल्ट मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी छ जनालाई बोर्ड सदस्यमा मनोनयन गर्नुभएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 
    
राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ अन्तर्गत राखेपको अध्यक्षमा भने मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ । मन्त्री विश्वकर्माले खेल विज्ञ, खेलकूद प्रशिक्षक, खेलकूद प्राविधिक वा एन्टी डोपिङ विज्ञका रुपमा राखेपका पूर्वअधिकृतसमेत रहनुभएका चितवनका रिम रानाभाट र ओखलढुङ्गाका इन्दिरा निरौलालाई मनोनयन गरेका छन् । निरौला यसअघि पनि राखेप सदस्य थिइन् ।  
    
उनले राष्ट्रिय खेल सङ्घको सिफारिसबाट काठमाडौंका अर्जुन केसी, बागलुङका सम्पन्न श्रेष्ठ र चितवनका सुवास श्रेष्ठलाई पनि मनोनयन गरेका छन् । मन्त्री विश्वकर्माले परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रुपमा नुवाकोटका गोविन्द्रप्रसाद भट्टराईलाई मनोनयन गरेका छन् । मन्त्रालयले यसअघि नै राखेप उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो । उनीहरुले बुधबार पदभार ग्रहण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप