शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी देखेपछि ‘सुनको झोला’ फालेर भाग्ने तीन जना पक्राउ

बिहीबार, १५ साउन २०७७, ११ : ५८
बिहीबार, १५ साउन २०७७

काठमाडौं । कमलादीस्थित नविल बैंकको मोडमा प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा  तीन आरोपीलाई दुम्कीबासबाट पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् । 

तीन आरोपी पक्राउ गरिएको पुष्टि गर्दै महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेलले भने, ‘शंकास्पदलाई नियन्त्रणमा लिइएको हो, उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।’ 

मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा.६च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो भागेको प्रहरीको दावी छ । कोर्पियोमा चालक बाहेक तीनजना सवार थिए । 

स्कोर्पियोबाट उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन, सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको थियो । 

स्कोर्पियो भने अझै फेला परेको छैन । स्कोर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा रहेको यातायात व्यवस्था विभागको रेकर्डबाट थाहा भएको छ । 

बिहान ९ बजे डिएसपीको नेतृत्वमा भएको अपरेशनमानै शंकास्पद देखिएपछि महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशील यादवको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । 


‘पक्राउ गर्न सक्ने अवस्था हुँदाहुँदै गाडी कसरी भाग्यो’ भन्नेबारे समितिलाई पाँच दिनभित्र छानविन प्रतिवेदन पेश गर्ने कार्यादेश समितिलाई दिइएको छ । 

त्यस्तै, घटना अनुसन्धान गर्ने जिम्मा महानगरीय प्रहरी परिसरबाट खोसेर महाशाखालाई दिइएको छ । ‘सुन अप्रेशन’ सुन्धारामा भएको तर, घटनास्थल परिवर्तन गरिएको महानगरीय प्रहरी परिसरका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । 

सो अप्रेशनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसी) श्यामलाल ज्ञवाली र डीएसपी दाहालको भूमिका शंकास्पद देखिएको छ । 

बा.६च ५५१९ नम्बरको स्कोर्पियो साउन ३ मा फर्पिङको बाटो हुँदै काठमाडौं आएको थियो । सो गाडी काठमाडौं बाहिर गएको रेकर्डमा देखिएको छैन । 

प्रहरीले रोक्न खोजेपछि सुन र पेस्तोल फालेर तस्कर समूह ट्याक्सीमा नवलपरासी पूर्वको दुम्कीबास पुगेको बताइएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप