शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शंकास्पद 'सुन अप्रेशन' : डीएसपीकै अगाडिबाट कसरी भाग्यो गाडी ?

मङ्गलबार, १३ साउन २०७७, २१ : ५४
मङ्गलबार, १३ साउन २०७७

काठमाडौँ । मंगलबार बिहान एउटा सनसनीपूर्ण खबर फैलियो, ‘कमलादीबाट १५ किलो सुन बरामद ।’ प्रहरीले चुहाएको सो सूचनाको आधारमा क्षणभरमै अनलाइनहरुमा समाचार फैलिहाल्यो । 

तर, प्रहरीको अपरिपक्व सूचनाले समाचार त गोलमाल भयो नै प्रहरीको अप्रेशन समेत असफल हुन पुगेको खुलेको छ । 

‘सुन सम्बन्धी पत्रकार सम्मेलन’ भनेर मध्यान्ह साढे १२ बजे महानगरीय प्रहरी परिसर काठमाडौंले सञ्चारकर्मीलाई बोलाएको थियो । तर, पत्रकार सम्मेलन सुरु हुँदानहुँदै आधा किलो बाहेक अरु सबै चाँदी भएको पुष्टि हुन पुग्यो । 

एक घण्टा ढिलो शुरु भएको पत्रकार सम्मेलनअघि नै काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले ‘सुन नक्कली भएको’ सार्वजनिक गरे । 

महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाल सुन परीक्षणको लागि न्यूरोडमा थिए । सुन परीक्षणपछि दाहालले नै आधा किलो बाहेक सबै सुन नक्कली रहेको उनले परिसरमा रिपोर्टिङ गराएका थिए । 

असफल अप्रेशन
महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालको नेतृत्वमा भएको ‘सुन अप्रेशन’ मंगलबार बिहान ९ बजेको हो । परिसरले विज्ञप्ति नै जारी गरेर बिहान ९ बजेको अप्रेशन भनेको छ । तर, अप्रेशन नै शंकास्पद छ नै असफल पनि सावित भएको छ । 

प्रहरीले गाडी चेकजाँच गर्दैगर्दा बा ६ च ५५१९ नम्बरको स्कार्पियो कसरी सजिलै भाग्न सफल भयो ? प्रश्न खडा भएको छ । 

डीएसपीको कमाण्डका आकस्मिक चेकप्वाइन्ट राखेको र कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएको स्कार्पियो रोक्न खोज्दा गाडीबाट ‘सुन जस्तो देखिने धातु’ फालेर हिँडेको पत्रकार सम्मेलनमा एसएसपी ज्ञवालीले जानकारी दिएका थिए । 

सुनको झोला र २ थान पेस्तोल फालेर भाग्ने गाडी रोक्न प्रहरीले किन सकेन भनेर प्रश्न गर्ने ठाउँ छ । किनकि, प्रहरीसँग हतियार थियो । टायरमा गोली हानेर पनि गाडी नियन्त्रणमा लिन सकिन्थ्यो । 

‘सामान फाल्यो, गाडी चाहिँ भाग्यो भन्ने तर्क नै हास्यास्पद छ,’ एक उच्च प्रहरी अधिकृत भन्छन्, ‘आफ्नो मान्छे परेपछि जोगाउन नाटक गरेको देखिन्छ, यो अप्रेशन नै शंकास्पद छ ।’ 

काठमाडौँका चोक–चोकमा प्रहरी र ट्राफिक खटिन्छन् । सञ्चार सेटबाट खबर  गरेर एरिया सिल गरेर पनि बा ६ च ५५१९ नम्बरको स्कार्पियो पक्राउ गर्न सकिने अवस्था थियो । तर, त्यसो गरिएन । 

नभए प्रहरीले यातायात व्यवस्था कार्यालयको रेकर्ड तत्काल हेर्न सक्थ्यो । गाडी धनीलाई सम्पर्क गरेर घटनाबारे जानकारी पनि दिन सकिन्थ्यो । तर, यसो गरिएन् । 


आत्तिए, अप्रेशन कमाण्डर 
पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको सामना गर्नुपर्दा अप्रेशन कमाण्डर रन्जन दाहाल अल्मलिए । प्लटिङ नगरिएको घटनामा अप्रेशन कमाण्डर आत्तिनुपर्ने अवस्था आउँदैन ।

प्रहरी आफैले चुहाएको १५ किलो ‘सुन’ पछि आधा किलोमा आइपुग्यो । गाडीबाट फालेको सेतो झोलामा भेटिएको भन्दै दुई थान पेस्तोल प्रहरीले सार्वजनिक गरेको छ । खाली पेस्तोल छ, गोली छैन । यो अप्रेशन रियल नभएर ‘फेक’ त हैन ? ‘सुन अप्रेशन’ विवादमा तानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप