बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको छहारीमा सुनिल थापा : गिरिजाप्रसाद, शेरबहादुर र सूर्यबहादुरको त्यो केमेस्ट्री

मङ्गलबार, १३ साउन २०७७, १६ : ४८
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको छहारीमा पुगेका छन् । मंगलबार (आज) दिउँसो तीन बजे काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुनिलसँगै राप्रपा परित्याग गरेकाहरु औपचारिक रुपमा नेपाली काँग्रेसमा प्रवेश भएका हुन् । सहमहामन्त्री र पाँच केन्द्रीय सदस्य पाउने गरी थापाको समूह काँग्रेसमा प्रवेश गरेको हो ।

लामो समय संयुक्त राष्ट्रसंघमा जागिरे जीवन बिताएर एक दशकअघि राजनीतिमा प्रवेश गरेका सुनिल थापा काँग्रेसमा सहमहामन्त्री हुने पक्का रहेको काँग्रेस स्रोतले जनाएको छ ।

२०७० सालमा सम्पन्न संविधानसभा चुनावमा धनकुटाबाट निर्वाचित थापा तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा आपूर्ति तथा वाणिज्यमन्त्री समेत भएका थिए ।

उनीसँगै काँग्रेस प्रवेश गर्नेमा राप्रपाका १९ जना केन्द्रीय तहका नेता पनि छन् । धनकुटास्थित राप्रपाको सबै तहका कार्यसमिति पनि काँग्रेसमा समाहित गरिएको छ ।

काँग्रेसले पूर्वगृहमन्त्री एवं पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट ‘आउट’ गरेको तीन दिनमै सुनिल थापा समूहको काँग्रेसमा ‘इन्ट्री’ अनौठो संयोग बन्न पुगेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले थापासँग गरेको ‘डिल’बाट झस्किएका नेताहरुले घुमाउरो पारामा त्यसको विरोध जनाएका छन् । यता, राप्रपाले भने सुनिल थापाले पिता सूर्यबहादुर थापाको विरासतलाई निरन्तरता दिन नसकेको आक्षेप लगाएको छ ।

२०४६ सालको जनआन्दोलनले पञ्चायती शासन अन्त्य गरेसँगै पञ्चायती व्यवस्थामा शक्तिमा रहेकाहरुले २०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेका थिए, यद्यपि व्यक्तित्वको टकरावका कारण पञ्चायती व्यवस्थाका दुई धारले अलग अलग पार्टी दर्ता गराएका थिए । त्यसमध्ये एउटा धारको नेतृत्व सूर्यबहादुर थापाले गरेका थिए भने अर्को धारको नेतृत्व लोकेन्द्र बहादुर चन्दले गरेका थिए ।

राप्रपाको संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलले पिताको त्यो राजनीतिक विरासतलाई त्यागेर काँग्रेसबाट आगामी राजनीतिक यात्रा तय गर्ने निधो गरेसँगै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

प्रदेश १ मा देउवाको रणनीति

सुनिल थापा काँग्रेसमा प्रवेश गरेसँगै यसले प्रदेश १ मा काँग्रेसभित्रको शक्ति सन्तुलनमा पनि प्रभाव पर्ने देखिन्छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सुनिल थापाको काँग्रेस प्रवेशलाई तीन दृष्टिकोणबाट ब्याख्या गरेका छन् ।

उनले भने, ‘राप्रपामा सहज महसुस नभएपछि सुनिल थापा काँग्रेसमा प्रवेशका लागि कुरिरहेका थिए । यता काँग्रेसलाई पनि धनकुटामा आजसम्म कुनै निर्वाचन जित्न नसकेकाले सूर्यबहादुर थापाको लिगेसीले जितिन्छ भन्ने लागेको देखिन्छ ।’

आचार्यले सुनिलको प्रवेशलाई काँग्रेसको १४ औँ महाधिवेशनका लागि देउवाको चुनावी अभियानसँग जोडेरसमेत ब्याख्या गरेका छन् ।

उनले भने, ‘काँग्रेसको १४ औं महाधिवेशन अगाडि सुनिल थापालगायतलाई ल्याएर शेरबहादुरजीले आफ्नो चुनावी अभियानलाई सशक्त पार्दै हुनुहुन्छ । किनभने प्रदेशगत रुपमा हेर्दा १ नम्बर प्रदेशमा उहाँको स्थिति कमजोर थियो । भावी महाधिवेशनलाई केन्द्रमा राखेर सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने, मोरङ, सुनसरीलगायतका क्षेत्रमा क्रियाशील सदस्यको नयाँ ड्राप्ट गर्ने काम हुन्छ । यो महाधिवेशन हुनेभन्दा ६ महिना अघि नै भएको छ ।’

प्रदेश १ मा देउवा विरोधी खेमामा कृष्णप्रसाद सिटौला, शेखर कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य लगायतको बर्चस्व छ । देउवाले पनि पछिल्लो समय प्रदेश १ मा आफूलाई बलियो बनाउँदै लगेका छन् ।

०७४ असोजमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा विलय भएपछि देउवाले प्रदेश १ मा केही शक्ति आर्जन गरेका थिए । यतिबेला सुनिल थापालाई भित्र्याएर उनले थप शक्ति आर्जन गरेको देखिन्छ ।

प्रदेश १ मा आफूलाई बलियो बनाउन देउवाले नेविसंघ अध्यक्षमा पनि सुनसरीका राजीव ढुंगानालाई ल्याएको एकथरीको बुझाइ छ ।

यतिबेला काँग्रेसमा आउँदा आफू पनि सुरक्षित हुने र देउवालाई ठूलो सहयोग हुने बुझाइका साथ सुनिलले पार्टी प्रवेश गरेको आचार्यको भनाइ छ ।

सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइरालाको केमिस्ट्री

अब सूर्यबहादुरप्रति काँग्रेसको विगतको दृष्टिकोणमा कसरी परिवर्तन हुन्छ भन्नेबारे सोधिएको प्रश्नमा आचार्यले भने, ‘सूर्यबहादुर थापा राजनीतिक प्राणी थिए । पञ्चायतमा हुँदा केही हार्डलाइनर भए, कहिले  लिबरल भए, कहिले राजासँग झगडा गरे, कहिले काँग्रेससँग नजिक भए ।’

आचार्यका अनुसार सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइरालाको दोस्ती राम्रो थियो ।

‘०४६ सालपछि सूर्यबहादुर थापा र गिरिजाबाबु नजिक आए । सत्ता निर्माणका लागि सूर्यबहादुर थापाको घरमा बैठक हुन्थ्यो । गिरिजाबाबुको निवासमा पनि सूर्यबहादुर थापा जानुहुन्थ्यो,’ कोइरालाका राजनीतिक सल्लाहकार समेत रहेका आचार्यले भने, ‘०५१ पछि बनेका गठबन्धन सरकारमा सूर्यबहादुर र गिरिजाबाबुको साँठगाँठ ठूलै भएको थियो । राजनीतिक कोर्ष चेन्ज गर्ने विषयमा उहाँहरु नजिक हुनुहुन्थ्यो ।’

सुनिल थापाको काँग्रेस प्रवेशलाई विगतमा काँग्रेस र पञ्चायतबीचको संघर्षका दृष्टिकोणले व्याख्या गरिनु गलत भएको आचार्यले बताए ।

काँग्रेसमा सुनिल थापाको प्रवेशले प्रदेश १ मा देउवाको अनुकुल परिस्थिति बन्छ भनेर केही नेताहरुले विरोध गरेको उनको बुझाइ छ ।

‘काँग्रेसले पञ्चहरुलाई लिनुुहुँदैन भन्नेहरुले त्यही बेला भन्न सक्नुपथ्र्याे, बहुदल आएको ५ वर्षमा काँग्रेसको समर्थनमा पञ्चहरु प्रधानमन्त्री भएका थिए,’ आचार्यले भने, ‘काँग्रेसलाई काँग्रेसभन्दा बाहिरकाले हाइज्याक गरिसकेको अवस्था छ । पियोर काँग्रेसभन्दा अनपियोरहरु त्यसको बहुमत भइसकेपछि सुनिल थापा आउँदैमा अनपियोर हुने हो र ? खुला राजनीतिलाई धेरै ब्लक गर्ने कुरा पनि राम्रो होइन ।’

काँग्रेसका पुराना नेता पुरुषोत्तम बस्नेतले भने काँग्रेसले सूर्यबहादुरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गराउने चुनौती सुनिलमाथि रहेको बताए ।

उनले भने, ‘सूर्यबहादुर थापालाई काँग्रेसले हेर्ने दृष्टिकोणअनुसार नै उनको छोरालाई पनि अलिअलि हेरिने हो । तर छोराले राम्रो गर्दै जानुभयो र अरु आउने मान्छेले पनि जनाधार बढाए भने सूर्यबहादुरसँगको तितो सम्बन्ध मेटिँदै जान्छ । यो कुरा सुनिल थापामा निर्भर रहन्छ ।’

नेता बस्नेतले काँग्रेसमा सुनिलको निरन्तरता कति रहन्छ भन्ने कुरा मुख्य भएको बताए । उनले भने, ‘२०५२ मा राप्रपाबाट केशरबहादुर विष्ट पनि काँग्रेसमा आएका थिए । पार्टीले पनि राम्रै सम्मान गरेको थियो । अपर हाउसमा पनि ल्याइएको थियो । तर पछि उनी काँग्रेस छोडेर राप्रपामै फर्किए । अब यिनीहरु कसरी समायोजित हुन्छन्, काँग्रेसको सिद्धान्त, संस्कारलाई कति आत्मसात् गर्न सक्छन् भन्ने कुराले निर्भर गर्छ ।’

थापा परिवासँग देउवाको केमिस्ट्री

सूर्यबहादुरसँग भने देउवाको केमिस्ट्री मिलेको घटनाक्रमले देखाउँछ । २०५१ को मध्यावधि चुनावपछि तत्कालीन एमालेको अल्पमतको सरकार ढलेपछि देउवा प्रधानमन्त्री भएका थिए । उक्त खेलको एक खेलाडी राप्रपा थियो । त्यसको नेतृत्व गरेका थिए सूर्यबहादुर थापाले । थापाको प्रयासपछि देउवा प्रधानमन्त्री बनेका थिए । यतिसम्म कि देउवालाई प्रधानमन्त्री बनाएपछि नै थापाको पार्टीभित्र विवाद बढेर पार्टी नै विभाजसम्म भयो ।

यस्तै, तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरेपछि सूर्यबहादुर थापा विरोधमा उत्रिएका थिए ।

यो घटनासँगै राप्रपामा पुनः फुटको बिजारोपण भएको थियो । राजा ज्ञानेन्द्रको हस्तक्षेपको विपक्षमा सूर्यबहादुर थापा उभिँदा कमल थापाले साथ छोडेका थिए । सूर्यबहादुर र शेरबहादुरको सम्बन्धमा त्यस्तो कुनै तिक्तता नभएको जानकारहरु बताउँछन् ।

सूर्यबहादुरको २०७२ वैशाखमा निधन भइसकेको छ भने उनैका छोरा सुनिललाई देउवाले आफ्नो पार्टीमा भित्र्याएका छन् ।

सूर्यबहादुर र बिपीको सम्बन्ध

बिपी कोइराला ०३३ सालमा मेलिमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको एक महिनापछि धनकुटामा पञ्चभेला गरेर सूर्यबहादुर थापाले बिपीलाई फाँसी दिनुपर्ने प्रस्ताव पास गरेका थिए ।

बिपीले स्थापना गरेको पार्टीमा सुनिलको प्रवेशले उक्त प्रसङ्ग फेरि चर्चामा छ ।

यस्तै, ०३६ सालमा जनमत संग्रह घोषण गर्दा कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए । तर पछि उनलाई हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएपछि बिपीले त्यसमा विमति प्रकट गरेका थिए ।

बिपीले कीर्तिनिधि विष्ट कै नेतृत्वमा सरकार रहेको भए निष्पक्ष चुनाव गराउने थिए भनेर सूर्यबहादुर थापालाई ‘चुनावी जालझेल’ का खेलाडीका रुपमा व्याख्या गरेका थिए । बिपी र सूर्यबहादुरको सम्बन्ध कहिल्यै पनि राम्रो नभएको जानकारहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप