शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बरामद १५ किलोमध्ये आधा किलो मात्र सुन सक्कली* (*सच्याइएको)

मङ्गलबार, १३ साउन २०७७, ११ : ४६
मङ्गलबार, १३ साउन २०७७

‘प्रहरीलाई देखेपछि १५ किलो सुनको झोला फालेर भागे तस्कर, २ थान हतियार पनि बरामद’ शीर्षकको समाचार प्रहरीले नै उपलब्ध गराएको सूचनाको आधारमा प्रकाशित गरिएकोमा फेरि परिक्षणपछि प्रहरीले १५ मध्ये आधा किलो मात्रै सक्कली रहेको बताएपछि समाचार क्षमायाचनासहित सच्याइएको छ । - समाचार डेस्क

अध्यावधिक समाचार

प्रहरीले बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको खुलेको बताए । 

उनका अनुसार  विस्कुट आकारको दर्जनाैँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको छ । बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको ज्ञवालीले बताए । यस्तै प्रहरीले गोली नभएकाे दुई पेस्तोल पनि बरामद गरेकाे छ ।

यसअघि प्रहरीले नै कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सञ्चारमाध्यममा सूचना चुहाएको थियो ।  

प्रहरीले सुन कारोबारी सक्रिय रहेको सूचनाका आधारमा मंगलबार बिहान ९ बजेको समयमा काठमाडौंको कमलादीबाट महेन्द्र शालिकतर्फ जाने सडक खण्डमा चेकजाँच गर्दा कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएको बा ६ च ५५११ नम्बरको स्कार्पियो सवारी रोक्दा खोज्दा गाडीबाट सेतो रङको कपडाको झोला फ्याँकिएको थियो भने गाडीसहितको मानिस भाग्न सफल भएका थिए । सो झोला हेर्दा नक्कली सुन र दुई पेस्तोल बरामद भएको हो । 
फरार भएकाहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।   

काठमाडौं । राजधानीको कमलादीबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ । 

कारोबारीले फालेको झोला सर्च गर्दा १५ किलो सुन र दुईथान हतियार फेला परेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए । सुन बरामदबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइने काठमाडौं परिसरले जनाएको छ । 
सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख  बराबरको रहेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप