शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा विद्यार्थीसँग ठगीका लागि यसरी रचिँदैछ षड्यन्त्र

मङ्गलबार, १३ साउन २०७७, ०७ : ४९
मङ्गलबार, १३ साउन २०७७

अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत चिनियाँ विद्यार्थीसँग ठगीका लागि ठूलो षड्यन्त्र रचिएको खुलासा भएको छ । चिनियाँ विद्यार्थीलाई निशानामा पारेर ठगीमा संलग्न मानिसहरुले ठूलो रकम हात पार्न सफल भएका छन् ।

प्रहरीका अनुसार थुप्रै मामिलामा त ब्ल्याकमेलिङको शिकार चिनियाँ विद्यार्थीले आफ्नै अपहरणको नाटक गरेर चीनमा भएका आफ्नो परिवारसँग पैसा माग्नका लागि भिडियो बनाएर पठाउनु परेको छ  ।

प्रहरीका अनुसार सन् २०२० मा हालसम्म यस्ता ८ वटा ‘भर्चुअल अपहरण’ को केस सार्वजनिक भइसकेको छ र तीमध्ये एकमा त ११ लाख पाउन्ड (१६ करोड रुपैयाँ) को फिरौती दिइएको थियो ।  

यसबाट शिकार मानिसहरुले आफ्ना नजिकका आफन्त खतरामा भएको विश्वास गर्दै फिरौती दिन तयार हुने गर्छन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रहरीका अनुसार सन् २०२० मा यो स्क्याम निकै तीब्र रुपमा बढेको छ र यसलाई अब उद्योगको रुपमा सञ्चालन गरिँदैछ ।

प्रहरीले विद्यार्थीलाई कुनै धम्कीयुक्त फोन आएको खण्डमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ ।

यो स्क्यामले कसरी काम गर्छ ?

अधिकारीका अनुसार ‘कल सेन्टरजस्तो’ यो स्क्याम विदेशबाट सञ्चालित भइरहेको छ, तसर्थ यसलाई ट्रेस गर्न मुश्किल भइरहेको छ ।

यसमा फोन गर्ने व्यक्तिले आफूलाई चिनियाँ दूतावास वा अन्य अधिकारी बताउँदै ती विद्यार्थीलाई चीनमा हुँदा कुनै अपराधमा समावेश भएको वा उनीहरुलाई अन्य कुनै प्रकारको खतरा भएको जानकारी दिँदै तर्साउने गर्छन् ।

चिनियाँ भाषामा कुरा गर्ने यी नक्कली अधिकारीले त्यसपछि विद्यार्थीलाई यदि उनीहरु गिरफ्तारी वा निर्वासित हुनबाट जोगिन चाहन्छन् भने यसका लागि शुल्क तिर्नुपर्ने बताउँछन् ।

प्रहरीका अनुसार केही मामिलामा त विद्यार्थीलाई आफ्नो परिवार वा साथीहरुसँग सम्पर्क नगर्न र कुनै होटलमा बसेर नक्कली अपहरणको भिडियो बनाएर उक्त भिडियो परिवारलाई पठाएर आमा–बुवा वा आफन्तसँग पैसा माग्न लगाइएको छ ।

एक घटनामा त एक पिताले आफ्नी छोरीलाई कुनै अपरिचित स्थानमा हात–खुट्टा बाँधिएको स्थितीमा मुख बन्द गरिएको भिडियो पाउनु अघि नै ११ लाख पाउन्ड फिरौती रकम पठाएका थिए ।

उनका पिताले जब सिड्नी प्रहरीसँग सम्पर्क गरे तब प्रहरीले एक घण्टा भित्र नै ती युवतीलाई शहरको एक होटलमा ठिक अवस्थामा पाएका थिए ।

केही अन्य मामिलामा २० देखि ३० हजार अष्ट्रेलियन डलरको फिरौती दिइएको थियो ।

प्रहरी धिकारी डेरेन बेनेटले भने, ‘केहीले त आफ्नो पूरा सम्पत्ति नै फिरौतीका लागि बुझाएका छन् ।’

प्रहरीले परिवारबाट अपहरणको जानकारी पाएपछि कथित अपहरणका शिकार धेरैजसोलाई भोलिपल्ट नै सुरक्षित पाएका छन् । कतिपटक त यसबाट शिकार मानिसहरुले यति लज्जित महसुस गरे कि उनले प्रहरीलाई यसबारे केही बताउँदै बताएनन् ।

न्यू साउथ वेल्स प्रहरीले भन्यो, ‘भर्चुअल अपहरणका शिकार भएका मानिसहरु जे जति भयो त्यसबाट निकै भयभीत भएका थिए । उनीहरुलाई लागेको थियो कि उनीहरुले आफूलाई पनि आफ्नो परिवारका सदस्यलाई साँच्चै नै खतरामा पारेका थिए ।’

मानिसहरु यसको शिकार कसरी भए ?

प्रहरीका अनुसार यो पूरा स्क्याम भयंकर रुपमा अघि बढिरहेको छ । यसमा फोनबुकमा भएका कोही पनि चिनियाँ थर भएका व्यक्तिलाई अटोमेटिक फोन गरिन्छ ।

प्रहरी अधिकारी बेनेटले भने, ‘उनीहरुले आफ्नो ठूलो जाल फैलाइरहेका छन् । केही मानिसहरु उनीहरुको जालमा सजिलै फस्छन् जसले यस्तो अभियान चलाउनेहरुका लागि ठूलो फाइदा पुर्याउँछ ।’

उनका अनुसार पछिल्ला केही महिनामा यो तीब्र रुपमा फैलिएको छ र हरेक हप्ताको अन्त्यमा कोही न कोही व्यक्ति यसको शिकार बन्ने गरेको खबर पाइन्छ ।

अष्ट्रेलियामा विदेशी विद्यार्थीका वकिलका अनुसार कोरोना महामारीको कारण खतरा थप बढेको छ किनभने थुप्रै विद्यार्थी फ्रिलान्सिङ वा असंगठित क्षेत्रमा काम गर्नका लागि बाध्य भएका छन् जहाँ उनीहरुले सरकारी कल्याणकारी योजनाको लाभ पाउँदैनन् ।

प्रहरीका अनुसार केही मामिलामा ‘सांस्कृतिक कारक’ र केही अन्य मामिलामा विदेशी विद्यार्थी एक्लै र छुट्टै बस्दा पनि उनीहरुलाई सजिलै निशानामा पारेको हुन्छ ।

न्यू साउथ वेल्स प्रहरी भन्छन्, ‘यस्तो प्रकारको अपराधबाट बच्नका लागि विद्यार्थीले दुई प्रकारको महत्वपूर्ण काम गर्न सक्छन् । सुरुमा त उनीहरुले यस्ता अपराधी पनि छन् भनेर सावधान रहनुपर्छ र अर्को भनेको, आफू वा आफूले चिन्ने कुनै पनि व्यक्ति यसको शिकार हुनसक्छन् भनेर शंका लागेको खण्डमा तत्काल प्रहरीलाई जानकारी दिनसक्छन् ।’

अमेरिका र न्यूजिल्याण्डमा पनि यस्तै प्रकारको घटना सार्वजनिक भइरहेको  छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप