शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल–जोशी टकराव : जेलभित्रको प्रतिशोधदेखि निष्काशनसम्म

आइतबार, ११ साउन २०७७, १२ : ०७
आइतबार, ११ साउन २०७७

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको शनिबारको निर्णयले काँग्रेस वृत्तमा तरङ्ग ल्याएको छ ।समितिले पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा काँग्रेस जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्काशित गरेको हो । पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै पूर्व गृहमन्त्री जोशी, पूर्व राज्यमन्त्री ओझासहित कार्यालय सचिव विष्टलाई शनिबार अनुशासन समितिले कारबाही गरेको हो ।

शनिबार बसेको अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५–५ वर्ष र विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद, प्रमाण, अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको अनुशासन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा आमनिर्वाचन भएको करिब तीन वर्षपछि जोशी र ओझालाई पार्टीबाट निकालिएको हो । यस्तै २०७५ माघमा जोशीको नाम नै उल्लेख नगरी कारबाही गरिएको पत्र तनहुँ जिल्ला कार्यसमितिमा पुगेको थियो । उक्त पत्रको वैधानिकतामाथि प्रश्न उठेपछि पछिल्लो समय स्पष्टीकरण लिएर जोशीमाथि कारबाहीको डन्डा बर्साइएको छ ।


किन भयो कारबाही ?
जोशीले गत निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । यद्यपि मन्त्री हुँदा पदीय आचरणविपरीत तीन करोड ९३ लाख ६२ हजार पाँच सय ७६ रूपैयाँ भ्रष्टाचार गरेको मुद्दा विचाराधीन रहेकाले पौडेलले उजुरी दिएपछि उनको उम्मेदवारी खारेज भएको थियो । 

चुनाव लड्न नपाए पनि पौडेलविरुद्ध उम्मेदवारी दिएका जोशीलाई काँग्रेसले पाँच वर्षका निष्काशित गरेको छ । यस्तै ओझाले कैलाली ५ मा काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू देउवालाई हराउन अन्तर्घात गरेको आरोपमा पार्टीबाट निकालिएको छ ।

आरजुविरुद्ध भित्रीरूपमा ‘टुरिस्ट भगाउ अभियान’ सञ्चालन गरेको विषय सम्बन्धमा लिइएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाही गरिएको छ । यस्तै पार्टी अनुशासनको आचरणविपरीत काम गरेका भन्दै विष्टमाथि कारबाही गरिएको छ । उनीसँग तीन चरण स्पष्टीकरण लिएपछि चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको अनुशासन समितिको ठहर छ ।

तर जोशी र ओझामाथि कारबाही गर्ने विषयमा अलमल देखिएको अनुशासन समितिले रामचन्द्र र आरजूको दबाबमा निर्णय लिएको बुझिएको छ । केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे संयोजक गरेको अनुशासन समितिमा संयोजक भीष्मराज आङ्दम्बे, सदस्यहरु देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर, धनराज गुरुङ र उमाकान्त चौधरी र  रहेको छन् । आङ्दम्बे, कँडेल र राठौर देउवा निकट हुन् भने गुरुङ, चौधरी र पौडेल कृष्ण सिटौला निकट मानिन्छन् ।

रामचन्द्रसँग जोशीको लफडा शृङ्खला

तनहुँको व्यास–८ स्थित बाहुनपोखरामा जन्मिएका पौडेल र तनहुँकै भानु नगरपालिका– ११, रूपाकोटमा जम्मिएका जोशी  एकै क्षेत्रका बासिन्दा हुन् । तर उनीहरूबीचको राजनीति सधैँ टकरावमा बितेको त्यहाँका कार्यकर्ता बताउँछन् । पौडेल र जोशीबीच सुरुदेखि नै सुमधुर सम्बन्ध भएको पाइँदैन ।

उनीहरू प्रायः एक कार्यक्रममा सँगसँगै बसे पनि कार्यकर्ताका लागि नौलो हुने गर्छ । २०२१ मा पहिलो पटक भेटवार्ता हुँदादेखि आफूहरुबीच सम्बन्ध राम्रो नभएको जोशीले रातोपाटीलाई बताए ।
यसबाट पौडेल र जोशीको लडाइँ राजनीतिमा लागेदेखि नै हुने गरेको बुझ्न सकिन्छ ।

०२३ मा गण्डकी छात्र समितिको सभापति हुँदादेखि नै पौडेल आफूविरुद्ध लागिरहेको जोशीको आरोप छ । पौडेलको विरोधका बाबजुद पनि त्यतिबेला आफूले सभापति जितेको उनले सुनाए । 

पौडेलले जेलमा हुँदा पनि आफूमाथि पूर्वाग्रही सोच पालेको जोशीले बताए । ०२७ मा पौडेल र जोशी भद्रगोल जेलमा २५ दिन एउटै खाटमा सुतेका थिए । तर पौडेलले जेलमा परेकाहरूको सूचीमा पत्रिका निकाल्दा आफ्नो नाममा नियतवस छुटाएको सुनाए । जोशीका अनुसार त्यतिखेर त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित ‘सङ्क्रान्ति’ पत्रिकाका सम्पादक पौडेल नै थिए ।

जेलको एउटै खाटमा सँगै सुतेर पनि पौडेलले आफ्नो नाम पत्रिकामा राख्नसमेत कन्जुस्याइँ देखाएर झेलभित्र पनि खराब नियत रहेको जोशीको आरोप छ  । तर जोशी र पौडेलको जेल बसाइ फेरि पनि सँगसँगै हुने गर्यो  । पौडेल र जोशी ०२४ र ०२७ मा गरी भद्रगोल जेलमा दुई पटक सँगै बसेका थिए ।

जोशीका अनुसार ०३६ मा पोखरा जेलमा र ०४२ मा गोरखा जेलमा नौ–नौ महिना सँगै बसेका थिए । गृह जिल्ला तनहुँको दमौलीमा पनि धेरै पटक पौडेलसँगै जेल जीवन बिताएको जोशीले सुनाए ।

पौडेलले खराब नियतका कारण जेलभित्र पनि आफूहरुबीच सम्बन्ध समधुर बन्न नसकेको उनको बुझाइ छ । जोशीले भ्रष्टाचार मुद्दा लाग्नुमा पनि पौडेलकै हात रहेको आफू निकटस्थहरूलाई बताउने गरेका पाइन्छ ।

तर जोशीले पौडेललाई बेलाबखत साथ दिँदै आएको पनि पाइन्छ । संसदीय दलको नेताका लागि जोशीले पौडेललाई सघाएका थिए । राजनीतिको उत्तराद्र्धमा पौडेल र जोशी मिल्छन् भन्ने धेरैलाई आशा थियो । तर ०७० मा पौडेलकै कारण जोशीले टिकट नपाएपछि उनीहरुबीच फेरि दूरी बढ्यो  ।

फेरि दुवै जना रोक छेकको रणनीतिमा उत्रिए । ०७२ मा भएको १३औँ महाधिवेशनमा जोशीले देउवालाई सघाउन पुगे । ०७४ मा भएको आमचुनावमा पनि उनी पौडेल पराजित गराउने रणनीतिमा मैदानमा उत्रिए । 

जोशी ‘माउ मात्र होइन चल्ला पनि हराउँछु’ भनेर खुलेआम लागे । फलस्वरूप तनहुँमा काँग्रेसले सबै क्षेत्र गुमाउन पुग्यो । पार्टी सभापतिदेखि र प्रतिनिधिसभा चुनावमा पनि पराजित हुनुमा जोशीको पनि विशेष हात रहेको पौडेलको बुझाइ छ । 

पौडेलले त्यसको तुष ०७५ पुसमा सम्पन्न महासमिति बैठकमा सहभागी हुनबाट वञ्चित गराएर पोखे । त्यतिले पौडेल सन्तुष्ट हुन सकेनन् । काँग्रेसमा ४ दशक राजनीतिक जीवन बिताएका जोशीलाई ५ वर्षका लागि निष्काशित पनि गराए । यसमा पौडेलसँगै देउवाको पनि हात रहेको जोशीको दाबी छ । आफूमाथि यत्रो अन्याय हुँदा पार्टीका अन्य नेताहरु नबोल्नुले दुखित देखिन्छन् ।

रातोपाटीसँग उनले भने, ‘शशांक कोइराला, शेखर कोइराला र सुजाताहरुका बाउका लागि मैले आफ्नो बाबुआमा नभनी जीवन हत्केलामा लिएर हिँडेको हो । उनीहरु किन चुप लागे ? यसमा म अरू धेरै बोल्ने पक्षमा छैन ।’

आफू राष्ट्रियता प्रजातन्त्र, बीपी कोइरालाप्रतिको आफ्नो  निष्ठालाई कायम राख्दै अगाडि बढ्ने उनले बताए । उनले भने, ‘राजनीति यस्तै हो । सङ्घर्षमय हुन्छ अगाडि बढ्ने हो । अरू केही सोचेको छैन । यो शेरबहादुर र रामचन्द्रको दुवैको पूर्वाग्रह हो । उहाँहरु छुद्र मानसिकता भएका मान्छे हो ।’

निर्वाचन क्षेत्र लफडा
साविक ३ वटा निर्वाचन क्षेत्र रहेको तनहुँ अहिले २ वटा निर्वाचन क्षेत्र भएको छ । ०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ नम्बर क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् ।

विगतमा आफैले छाडेको क्षेत्र नं १ का अधिकांश भूभाग समेटिएको क्षेत्र नं २ को भूगोलमा पौडेल २४ वर्षपछि फर्कन ०७४ मा फर्किए ।

पौडेलले छाडेपछि उनको विरासत नेता जोशीले सम्हाल्दै आएका थिए । जोशीले तनहुँ १ बाट ०५१ र ०५६ मा भएको संसदीय निर्वाचनमा जिते पनि ०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा उनी तेस्रो भए । १ नम्बर क्षेत्रमा आफ्नो हक दाबी राखेर २०७४ को सङ्घीय संसदको निर्वाचनमा पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी घोषणा गरेका थिए । त्यसपछि पहिले उम्मेदवारी खारेजीमा उभिएका पौडेलले जोशीमाथि पार्टीले पनि कारबाही हुनुपर्ने अड्डी कस्दै आएको थियो । 

कतिसम्म भने पौडेलले गत वर्ष २२ असारको केन्द्रीय समिति बैठकमा बहिष्कारको नीति लिएका पौडेलले जोशीलाई कारबाही गर्ने आश्वासन पाएपछि बैठकमा सहभागिता जनाएका थिए । तनहुँमा जोशीको अगुवाइमा बनेको

समानान्तर काँग्रेसको सङ्गठनका विषयमा छानबिनको एजेन्डा पेस भएपछि उनी बैठकमा सहभागी भए थिए । जिल्लामा पौडेलको पेलानमा परेको भन्दै जोशीकै अगुवाइमा डिल्लीराम अधिकारीको नेतृत्वमा समानान्तर जिल्ला समिति नै गठन गरिएको थियो । पार्टीले त्यसलाई पनि खारेज गरिसकेको छ । साथै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका, बागीका प्रस्तावक तथा समर्थक बनेकाहरु गरी २ सय ९८ जनालाई पाँच वर्षका लागि बर्खास्त गरिसकेको छ । 

जोशीको उदय र आगामी यात्रा
०२४ मा गण्डकी विद्यार्थी मञ्चबाट काँग्रेस राजनीतिमा उदाएका जोशी स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष, तरुण दल र काँग्रेस तनहुँ जिल्ला सदस्य, तनहुँ काँग्रेस उपसभापति र सचिव भए । जोशी १२ वर्ष वकालती पेसा गर्ने क्रममा तनहुँ बारको अध्यक्ष र पश्चिमाञ्चल बारको उपाध्यक्षसमेत भएका थिए । 

०४८ मा तनहुँ २ र ०५१ मा तनहुँ १ बाट निर्वाचित भएका जोशी शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षामन्त्री भए । ०५५ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री भएका उनी ०५५ पुसमा सामान्य प्रशासन मन्त्री भएका थिए । 

०५६ मा तनहुँ १ बाट निर्वाचित भएका उनी कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा जलस्रोतमन्त्री भए भने ०५६ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि गृहमन्त्री भए । तर केही समयपछि मन्त्रालय हेरफेर हुँदा उनी स्थानीय विकासमन्त्री पनि भए । ०५७ मा पोखरामा भएको १०औँ महाधिवेशनबाट जोशी सहमहामन्त्री भएका थिए ।

राजनीतिको उत्तराद्र्धमा जोशी काँग्रेसको राजनीतिबाट करिब विस्थापित हुने अवस्थामा पुगेका छन् । पार्टीको आगामी महाधिवेशन र आगामी आम चुनाव अब जोशीको बसमा रहेन । ५ वर्षका लागि पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी निष्काशित भएका जोशीको राजनीति अब माथि उठ्ने सम्भावना न्यून छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप