शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पार्टी सामान्य स्थितिमा छैन, एमाले दर्तामा ओलीकै सक्रियता देखियो’

पार्टी विवेक हो, सरकार भनेको सत्ता : प्रचण्ड
शुक्रबार, ०९ साउन २०७७, २१ : ४३
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन् ।उनले नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनुु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको बताएका हुन् । प्रचण्डले पार्टी र सरकारबीचको सम्बन्ध राम्रो बन्न नसक्नुमा सामूहिक नेतृत्वको अभ्यासको अभाव भएको पनि बताए । 

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला शुक्रबार नेकपाका संस्थापक नेताहरु पुष्पलाल र नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पुष्पलाल, पार्टीको अवस्था, सरकार र पार्टीबीचको सम्बन्ध लगायतका विषयमा यस्तो धारणा राखेका हुन् । सो कार्यक्रममा प्रचण्डले राखेको धारणाको सम्पादिन अंशः 

पुष्पलालको बिडम्बनापूर्ण स्थिति 
आठ सालमा पुष्पलाललाई महासचिवबाट हटाउनु, १० सालमा उहाँलाई महासचिव हुनबाट रोकिनु, २०१४ सालमा पार्टीको नीति र कार्यदिशा उहाँकै पारित हुने नेतृत्वचाहिँ रायमाझीले गर्ने । जो माझी प्रवृत्ति भन्छौँ हामी, बडो बिडम्बनापूर्ण स्थिति पुष्पलालले भोग्नुपर्यो । 

विचार, सिद्धान्त, नीति पुष्पलालको पारित भएको छ । नेतृत्व त्यो नीति विरोधी मान्छेको छ । तपाईंहरुले हेर्नुभयो भने तपाईँहामीले पनि हिजोआज त्यस्तै त्यस्तै भोगेको हो कि ? नीति एउटा पारित हुने नेतृत्व अर्कोले गर्ने भएको हो कि ? हामीभित्रको समस्याको चुरो त्यतै कतै पो छ कि ? भनेर हेर्न जरुरी छ भन्ने मलाई लाग्छ । 

पार्टी विवेक, सरकार सत्ता
पार्टी भनेको विवेक होे । सरकार भनेको सत्ता हो । विवेक र सत्तामध्ये कुन प्रधान हो भन्यो भने कम्युनिस्ट विचार, मार्क्सवाद र हामी सबैले मान्ने कुरा विवेकले सत्ताको नेतृत्व गर्नुपर्दछ । त्यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्दछ भनेकै हो । सत्ताले पार्टीमाथि हैकम जमाउनेजस्तो स्थिति भयो भने त्यो हाम्रो वैज्ञानिक मान्यता भन्दा बाहिरको कुरा हुन्छ । 
तपाईँ हामीले यो दुई वर्षको अवधि हेर्यौँ भने विवेकले सत्ताभन्दा पनि सत्ता विवेकमाथि हावी हुने हो कि ?समूहको अधिनस्त व्यक्ति हुने ठाउँमा कतै व्यक्तिको अधिनस्त समूह भएर जाने खतरा पो पैदा भएको हो कि ? तपाईंहरुले यसलाई पक्कै विचार गर्नुभएको होला । समूह अन्तरगत व्यक्ति हुने हो । त्यसकारण सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको सिद्धान्तलाई कम्युनिस्ट पार्टीभित्र स्थापित गर्न मार्क्सकै पालादेखि बल गरिएको हो । 


नक्साबारे बैठकबाटै मुख्यसचिवलाई फोन 
जब नक्साको विषय उठ्यो र हिन्दुस्तान (भारत) ले नेपालको भूभागलाई समेत गाभेर नक्सा निकाल्यो । म त्यतिबेला जे भएपनि कार्यकारीको रुपमा स्थायी समिति बैठकको अध्यक्षता गर्दै थिएँ । भारतले हाम्रो भूमि मिचेर नक्सा निकालेको छ यो बिल्कुल गलत भएको छ त्यसकारण हामीले हाम्रो भूमि (उनीहरुको भूमि होइन, उनीहरुको एकइन्च भूमि हामीलाई चाहिएन । ) एक इञ्च पनि छोड्न सक्दैनौँ भन्ने उद्घोषसहित स्थायी समितिको बैठकबाट तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ भनेर निर्णय गर्यौँ । र, मैले सरकारलाई यो नक्सा प्रकाशन गर्न ढिलो गर्नुहुँदैन भनेँ । मंसिर २९ गतेबाट स्थायी समिति बैठक सुरु भएकोमा नक्सा निकाल्ने कुरा गरियो । तर, सरकारले भूमि नक्सा निकाल्ने भन्दा भूमि नै फिर्ता गर्ने कुरा गरेको तपाईंहरुले सुन्नु नै भयो । पहिला उनीहरुले नक्सा निकाले हामी पनि नक्सा निकालिहालौँ अनि भूमि पनि फिर्ता गर्ने काम पनि हामीले गर्नैपर्छ भन्ने थियो ।

तपाईंहरुलाई थाहा छ, माघमा बसेको केन्द्रीय समिति बैठकले पनि नक्सा छिटोे प्रकाशित गर्नुपर्यो भनेर निर्णय गर्यो र नक्सा छिटो प्रकाशित गर्न सरकारलाई सुझाव दियो । तर, अन्तिममा आउँदासम्म पनि नक्सा प्रकाशनको तयारी भएको देखिएन । अन्तिममा नीति कार्यक्रमसम्बन्धी राष्ट्रपतिको सम्बोधन हुने दिन बिहान एकैछिन बसेको सचिवालको बैठकमा हामीहरुले नक्सा प्रकाशित गर्नेकुरा नीति कार्यक्रममा पर्नैपर्यो भन्यौँ र अन्तिममा प्रधानमन्त्रीजी पनि त्यसमा सहमत हुनुभयो । त्यसबेला बैठकबाटै मुख्यसचिवलाई फोन गरेर यो भाषा थप्नुपर्यो भन्यौँ ।


जुनबेला नीति तथा कार्यक्रम प्रेसमा छापिँदै थियो । त्यसरी नक्सा प्रकाशित गर्ने कुरा बैठकबाट पारित गरियो । एकजना कमरेडले भन्नुभयो, पार्टीले निर्णय गरेपछि कति राम्रो हुँदोरहेछ त ? पार्टीको निर्णय सरकारले मानिदिँदा त नक्सा प्रकाशित भयो, संविधान संशोधन भयो । सम्पूर्ण नेपालीहरु गौरवान्वित भए । जनतामा राष्ट्रिय एकताको प्रवल भावना देखापर्यो । पार्टीको निर्णयभन्दा बाहिर सरकारले काम गर्न खोज्दा कति धेरै विवादहरु जन्मिए ? कति धेरै अन्यौलहरु जन्मिए भन्ने कुरा राख्दै हुनुहुन्थ्यो । त्यसो भएर हामीले पार्टीको निर्णय सर्वोपरी कुरा भनेका हौँ । एक त त्यहाँ सामूहिक विवेकको अभिव्यक्ति भएको हुन्छ र त्यो विवेकलाई सरकारले पालना गर्दा राष्ट्रिय रुपमा निकै ठुलो कुरा हुन्छ भनेर अहिले हामी सवैले सरकारलाई त्यो विषयमा धन्यवाद पनि भनेका छौँ । किनकी प्रधानमन्त्रीले नमानिकन वैधानिकता प्राप्त हुन सक्दैनथ्यो । पार्टीले मात्रै निर्णय गरेर पुग्दैनथ्यो । त्यसको वैधानिक हैसियतको निम्ति सरकार चाहिन्थ्यो । यदि फेरि पार्टीको सामूहिक विवेकबाट भएको निर्णय पालन गरेको कुरा सवै व्यक्तिको खल्तिमा हाल्ने प्रयास भयो भने त्यो प्रयास इमान्दार प्रयास हुन सक्दैन । त्यसले फेरि अर्को दिग्भ्रम पैदा हुन्छ । त्यसकारण यो सिंगो राष्ट्रले गर्व गर्ने कुुरा हो । यो राष्ट्रिय एकताको प्रतिफल पनि हो ।

 कम्युनिस्ट पार्टीको सामूहिक विवेककोे प्रतिफल पनि हो र सरकारले पनि त्यसलाई वैधानिकता प्रदान गरेको हुनाले ऊ पनि धन्यवादको पात्र छ, यो सही कुरा हो । अनि त्यही पार्टी जसले योे नक्सा समयमै प्रकाशित गर्ने निर्णय गरायो उनीहरु राष्ट्रघाती या दलाल ? जसले यसलाई प्रकाशित गर्न यति महिना ढिला गर्यो उचाहिँ फेरि देवत्वकरण भन्ने हुन सक्दैन । हामी सवैले बुझ्नुपर्ने कुरा छ यो । त्यसो बनाइदियो भने त्यहाँ इमान्दारिता र पारदर्शीता भन्ने भएन । त्यहाँ विवेकले काम गरेको भन्ने हुँदैन । हामी यो कुरामा पनि सचेत हुन जरुरी छ । 

पार्टी संकटमा छ 

यहाँ पार्टी संकटमा छ । साँचो कुरा के हो भने अहिले ठिकठाक छ भनेर मैले भनेँ भने त्यो सत्य होइन । पार्टी संकटमा छ, किनकी हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रकृया हाम्रो पार्टीका अर्का अध्यक्ष (केपी ओली) समेतको सक्रियता र पहलमा भएको छ ।

 त्यसकारण यसले संकटलाई व्यक्त गरेकै छ । यो तपाइँहरुले देखिराख्नुभएको छ र सवैले देखेकै कुरा हो । अहिले देशभरी केही कार्यकर्ताहरुलाई नाराजुलुुसमा लगाउने कोसिस भएको छ । तपाईंहरुले यो पनि देखिराख्नुभएको छ, मुर्दावाद र जिन्दावादका नारा । हामी यो पार्टीलाई कसरी एकताबद्ध गर्ने भन्नेबारे छलफल गरिरहेका छौं, पार्टीलाई कसरी गति दिने भन्नेमा पनि हामी केन्द्रीत भएर छलफल गर्दैछौँ । तर देशभरी जुलुस भएको छ । हामीलाई साथीहरुले देशभरीबाट सोध्छन् अव हामी के गर्ने भनेर । तर हामीले धैर्य लिनुस् अहिले केही गर्नुपर्दैन भनेका छौँ । पार्टी एकताका पक्षमा उभिनुस् भनेर भनिरहेका छौँ । तर त्यस खालका प्रचारबाजी पनि भइरहेकाले पार्टीमा संकट छ भन्ने नै देखाएको छ ।


 पार्टी सामान्य स्थितिमा छैन । पार्टी एकता प्रक्रियामा हामीले केही आधारहरु बनाएका थियौँ । सबैभन्दा पहिला वैचारिक राजनीतिक आधार हो । वैचारिक ढंगले हामीले मार्क्सवाद लेनिनवादलाई हाम्रो निर्देशक सिद्धान्त हो भनेर सर्वसम्मत ढंगले मानेका छौँ भने राजनीतिक कार्यदिशाको रुपमा जनताको बहुदलीय जनवाद, एक्काइसौँ सताब्दीको जनवाद र माओवादसम्बन्धी मान्यतालाई विकसित गर्नुपर्छ, अबको नयाँ चरणमा परिमार्जित गर्नुपर्दछ भन्दै समाजवादउन्मुख जनताको जनवादलाई अहिलेको कार्यदिशा भन्यौँ । तर तपाईं हामीले हेर्यौँ भने अहिले कताकता फेरि हामी पछाडि फर्कन खोजेका संकेतहरु देखिएका छन् । केहीले एक्काइसौँ सताब्दीको जनवाद जिन्दावाद भन्यो भने या माओवाद जिन्दावाद भन्यो र त्यही हो भन्यो भने ? न महाधिवेशनको निम्ति छलफल ओपन गरिएको छ ? ओपन नगर्दै त्यसो भनियो या जनताको बहुदलीय जनवाद जिन्दावाद भनियो भने त्यो अगाडि गएको ठहरिँदैन । त्यो पार्टी एकताको पक्षमा उभिएको पनि ठहरिँदैन । त्यो पार्टी विभाजनतिर जबरजस्त भैरहेको कुरालाई मात्रै संकेत गर्छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप