शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रुको पर्खाइमा फेवातालका डुंगा व्यवसायी

शुक्रबार, ०९ साउन २०७७, २० : २४
शुक्रबार, ०९ साउन २०७७

पोखरा । १२० दिन लामो लकडाउन सकिएको छ । लकडाउन खुलेसंगै व्यापार व्यवसाय पनि खुलेका छन् । बिहीबारदेखि जिल्ला भित्र सार्वजनिक सवारी पनि चल्न थालेका छन् । यद्यपी, फेवातालका डुंगा व्यवसायीको अवस्था भने अझै उस्तै छ । 

४ महिना लामो लकडाउन खेपेका फेवाका डुंगा व्यवसायी भने लकडाउनमै छन् । साङ्लोले बाधेर राखिएका डुंगामा भरिएको पानी र लेउ फालेर डुंगा व्यवसायी बसि रहेका छन् । 

करिब ३५ वर्षदेखि फेवातालमा डुंगा चलाउदै आएका देवप्रसाद ढकालले डुंगामा भरिएको पानी र लेउ फाल्नु बाहेक अरु काम हुन नसकेको बताए । यसअघि, ०७२मा भुकम्प आएको बेलामा केही समय डुंगा नचले पनि अहिलेजस्तो महिनौं काम विहिन भएर बस्नु परेको दिन उनको स्मरणमा छैन । ‘भुकम्प आउँदा अलिअली भाथ्यो,’ उनले भने, ‘त्यसपछि त यसरी खालि बस्नु परेको त सम्झनै छैन ।’

डुंगा सञ्चालनमा आए पनि पहिलेकै अवस्थामा फर्किन भने लामो समय लाग्ने उनको ठम्याई छ । डुंगा चलाएर जिविका चलाउदै आएका डुंगा व्यवसायी र चालकहरूको अवस्था अहिले नाजुक भएको उनले बताए । 

‘केही पनि छैन अहिले त । डुंगा चल्दा २÷३ हजारको व्यापार हुन्थ्यो, अहिले त एक सुका पनि भाको छैन,’ उनले भने, ‘डुंगा व्यवसाय फेरि पुरानै अवस्थामा आउँछ जस्तो मलाई त लाग्दैन ।’

ढकालका ५ वटा डुंगा फेवातालमा चल्छन् । उनी आफैंले पनि डुंगा चलाउन छाडेका छैनन् । एउटा डुंगाको दुई देखी तीन लाख रुपैयाँ  पर्छ । 
अर्का डुंगा व्यवसायी डम्बर नेपालीले डुंगा नचल्दा हातमुख जोर्न पनि समस्या पर्न थालेको बताए । उनी १७ वर्षदेखि फेवातालमा डुंगा चलाउदै आएका छन् । 

डुंगा व्यवसाय सञ्चालनमा आए पनि पर्यटकहरु नआउदा डुंगा व्यवसायी पहिलेकै अवस्थामा तत्काल आउन नसक्ने उनले बताए । ‘पहिले त डुंगा खाली बस्नै पर्थेन,’ दुखेसो पोख्दै उनले भने, ‘४ महिना भै सक्यो अझै पनि के हुने हो था छैन । भात खान पनि गाह्रो भाछ । पर्यटक नआउञ्जेल त कसरी डुंगा चल्ला र !’ 

अहिले फेवातालमा ८ सय हाराहारीमा डुंगा सञ्चालनमा छन् । ती मध्ये ४ सय डुंगा व्यवसायी स्वरोजगार छन् भने २ सय हाराहारीमा चालक छन् । फेवा डुंगा व्यवसायी समिती मातहत सञ्चालनमा रहेका डुंगामा भरिएका पानी र लेउ फाल्नु बाहेक अरु कुनै उपयोगमा आउन सकेको छैन ।

नेपाल सरकारले लकडाउन घोषणा गर्नु अघि चैत ९ गते नै समितिले डुंगा नचलाउने निर्णय गरेको थियो । समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार महामारी नियन्त्रण को लागि सरकारले लकडाउन घोषणा गर्नु अघि नै समितिले यस्तो निर्णय गरेको थियो ।
 
अन्य क्षेत्र सञ्चालनमा आइ सक्दा पनि ठप्प डुंगा व्यवसायी सरकारको आधिकारिक निर्णय पर्खेर बसेका छन् । ‘हामी त सरकारको निर्णय पर्खेर बसेका छौं,’ अध्यक्ष नेपालीले भने, ‘सरकारको निर्णय बिना केही पनि हुने भएन । सरकारले चलाउने निर्णय गर्याे भने हामी चलाउन तयार छौं ।’ 

डुंगा व्यवसाय सञ्चालनमा ल्याउन चुनौतीपूर्ण भए पनि सञ्चालनमा ल्याउनु पर्ने बाध्यता रहेको उनले सुनाए । डुंगा सञ्चालनमा ल्याउनको लागि आवश्यक सुरक्षाका उपाय पनि तयार पारिएको उनको भनाइ छ ।

‘ज्वरो नाप्ने थर्मल गन पनि हामीले मगाएका छौं । अरु सुरक्षाका उपायहरू मास्क, सेनिटाउजरको पनि हामीले प्रयोग गर्ने छौं, मन्दिरमा पनि धेरैबेरसम्म क्युमा नराख्ने लगायतका कुरा भै रहेको छ,’ उनले भने ।  
लकडानले रोजगारी खोसिएका डुंगा चालकहरुलाई राहत सामग्री पनि वितरण गरिएको उनले सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप