बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन अन्त्यसँगै कोरोना संक्रमणको जोखिम बढ्यो

बुधबार, ०७ साउन २०७७, १९ : ०४
बुधबार, ०७ साउन २०७७

काठमाडौं । सरकारले मंगलबारबाट लकडाउन खुलेपछि सडकमा मानिसको चहलपहल बढेको छ । मंगलबार रातिदेखि १ सय २० दिनको लकडान खुलेसँगै काठमाडौं उपत्यकाका सडकमा बुधबार सवारी साधनको जाम हुन थालेको छ । 

सर्वसाधारण मानिस पनि बाहिर निस्किपछि बजारमा चहलपहल सुरु भएको छ । सडकमा सवारी जाम र फुट्पाथमा पैदल यात्रीको लर्को देखिएसँगै कोरोना संक्रमण जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

गत चैत्र ११ गते ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सुरु भएको लकडाउन १ सय २० पछि खुले पनि कोरोना संक्रमणको जोमिख कायम नै छ । सरकारले एकै पटकमा लकडाउनको अन्त्य गर्दा संक्रमणको दर बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । लकडाउन एकै पटकमा अन्त्य गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ टोलीका एक सदस्यले असन्तुष्टि जनाए । 

अव्यवस्थित तरिकाले लकडाउनको अन्त्य गरेको ती स्वास्थ्य विज्ञले बताए । उद्योगी व्यवसायीको दवाबमा आएर एकै पटकमा लकडाउन खोलिएको देखिन्छ । अझै एक–ढेड हप्ता को अवस्था हेरेर जोर बिजोर प्रणालीलाई कायम राखेर निर्णय लिन सकेको भए एकै पटकमा सडकमा निजी तथा भाडाका सवारी साधनको चाप नहुने उनी बताउँछन् । 

सिसिएमसीको छलफलमा लकडाउन कायम राख्ने वा खुल्ला गर्ने भन्ने विषयमा विज्ञ समूहको सहभागिता रहे पनि उनीहरुको सुझावलाई व्यवास्ता गरिएको विज्ञहरुले बताएका छन् । 

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय अरिपक्क भएको जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले बताए । नेपालमा कोरोना संक्रमणको वास्तविक अवस्था पत्ता नलगाई अन्त्य गरिएको लकडाउनको नतिजा सही नआउने उनी बताउँछन् । 

कोरोना परीक्षणको दायरा खुम्चाएको अवस्थामा राजधानी लगायत देशका ७० जिल्लाामा कोरोना संक्रमित देखिइरहेको बेला हतारमा लकडाउन अन्त्य गरिकाले देशमा संकट उत्पन्न हुन सक्ने पाण्डेले चेतावनी दिए । 

छिमेकी राष्ट्र भारतमा कोरोनाका संक्रमण दर कम नभएसम्म नेपालमा कोरोना संक्रमित देखिन नछाड्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विभिन्न संचार माध्यम मार्फत बताउँदै आएको अवस्थामा जनस्वास्थ्य विज्ञहरुसँग पर्याप्त छलफल नगरी लकडाउनको अन्त्य गर्दा कोरोना संक्रमणको झन जोखिम बढ्ने देखिन्छ ।

 भारतीय सिमा जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमितको संख्या बढेको अवस्थामा नेपाल सरकारले तयारी बिना हतारमा लकडाउन अन्त्य गरिनुले नेपाल झन जोखिममा परेको जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे बताउँछन् ।

 सरकारले कोरोना परीक्षणको दायरालाई बढाएर समुदायमा कोरोना संक्रमणको स्थिती बुझेर लकडाउन अन्त्य नगरेकाले विद्यमान अवस्थामा जोखिम कायम रहेकाले सबैले सावधानी अपनाएर दैनिक गतिविधीलाई अगाडि बढाउन पर्ने स्वास्थ्य वैज्ञानिक समीरमणि दिक्षित बताउँछन् । 

१ सय २० दिनसम्मको लकडाउनले देशको अर्थतन्त्रदेखि   जनताको रोजीरोटी गुमेको अवस्थामा लकडाउन अन्त्य भए पनि सबैले पूर्ण सावधानी अपनाएर वर्तमान समयमा अगाडि बढ्नुको विकल्प नभएको डाक्टर दिक्षित बताउँछन् । 

‘नेपाल कोरोना संक्रमण कम वा बढी भन्ने कुरा हामीलाई थाहा हुँदैनन्’, उनले भने, ‘नेपालको परीक्षणको दायरालाई बढाउनुको साटो घटाउँदै गएको छ ।’ 

लकडाउनको अन्त्य भयो भनेर आत्तिनु भन्दा अहिलेका अवस्थामा कसरी अगाडि बढ्ने भन्ने कुरा सबैले ध्यान दिन जुरुरी भएको उनी बताउँछन् । 

कोरोना प्रभावित राष्ट्र भएर हवाई मार्ग, सडक मार्ग र स्थाल मार्ग भएर नेपाल प्रवेश गर्नेहरुलाई राज्यले उच्च निगरानीमा राख्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । 

उनका अनुसार नेपालमा चाडपर्व नजिकिएकाले कोरोनाबाट जोगिनका लागि सुरक्षित तरिकाले घरमै मनाएर सुरक्षा सतर्कता अपनाउनुपर्छ ।

‘काम नपरेसम्म घर बाहिर नसक्ने, घर बाहिर निस्कन परेमा सही तरिकाले मास्कको प्रयोग गर्ने, कार्य क्षेत्रसँगै पसलमा जाँदा दुरी कार्यम गरेर काम गर्ने, चस्मा, पंजाको प्रयोग गर्ने, साबुन—पानीले बेला–बेलामा हात धुने वा सेनिटाइजरको प्रयोग गर्नु पर्छ,’ डा. दीक्षितले भने ।

देशका कोरोना प्रभावित क्षेत्रबाट राजधानी प्रवेश गर्ने नागरिक परीक्षण विना काठमाडौं छिरेका छन् । परीक्षणको दायरा नबढाएको अवस्थामा कोरोना संक्रमण फैलिनका लागि धेरै संक्रमितको हुनुनपर्ने भएकाले सबैले ध्यानपूर्व सावधानी अपनाउँनुको विकल्प नभएको दिक्षित बताउँछन् ।

सरकारले सीमा नाकासँगै राजधानी प्रवेश गर्ने सीमा क्षेत्रमा पनि परीक्षणसँगै कडाइ गर्नुपर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप