शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी र डुबानको चपेटामा प्रदेश २ : ज्यान जोगाउन रातभर अनिदो बस्नुपर्ने बाध्यता

सप्तकोशीमा वर्षकै उच्च बहाब, बाग्मतीको बाँध ‘डेन्जर जोनमा’
मङ्गलबार, ०६ साउन २०७७, १२ : १२
मङ्गलबार, ०६ साउन २०७७

केही दिनदेखिको निरन्तर वर्षाको कारण प्रदेश २ का आठवटै जिल्ला पूर्णरुपमा प्रभावित छन् । प्रदेश २ मा प्रत्येक वर्ष बाढी र डुबानका कारण जनधनको ठूलो क्षति हुने गर्छ । यसवर्षपनि अविरल वर्षासँथै विभिन्न भूभाग जलमग्न हुनुका साथै डुबानमा परेको खबर छ ।

बाढीले धनजनको क्षति हुन सक्ने भन्दै प्रभावित क्षेत्रका तराईवासीको रात अनिदो हुन थालेको छ । वर्षा नरोकिए तराईकोबस्ती नै डुबानमा पर्ने खतरा छ । अझ बाग्मती नदी र सप्तकोशीमा बढेको पानीको सतहले रौतहट, सुनसरी र सप्तरीका स्थानीय बासिन्दामा बाढीको त्रास सिर्जना भएको छ । 

बाढीका कारण प्रदेश २ मा २१९ घर विस्थापित र ८४५ मानिसहरु प्रभावित भएका २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले बताए । त्यसैगरी प्रदेश २ मा ५०० घर तथा ३२ सय भन्दा बढी मानिसहरू उच्च जोखिममा रहेका छन् । 

व्यापारीहरूले आफ्ना सामानहरू सुरक्षित स्थानतर्फ सार्न थालेका छन् । अघिल्लो वर्षमा यसरी नै बाढीबाट ठूलो क्षति बेहोरेको पीडा त छँदैछ, त्यसमा पुनः बाढी आउने त्रास थपिएसँगै स्थानीय व्यापारीहरू निकै हतोत्साही छन् । बाढीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार अग्रसर हुनुपर्ने डीआईजी सिंहको भनाइ छ । 

सप्तकोशीमा वर्षको उच्च बहाब
त्यस्तै सप्तकोशी नदीमा पानीको सहत बढ्दै गएपछि ५६ मध्ये ४५ वटा ढोका खोलिएको छ । कोशीमा ३ लाख ३० हजार क्यूसेकमा प्रतिसेकेण्ड पानी बग्छ । यसलाई मध्यम खतरा भनिन्छ । तर, मंगलबार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ ।

३ लाख ३० हजार क्यूसेकमा कोशीमा पानी बगेको प्रहरी प्रमुख सिंहले बताए । उनले भने, ‘यो वर्षकै उच्च मापन हो ।’ ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कतासाथ रहन सूचित गरेको छ ।

बाग्मती नदीको बाँध ‘डेन्जर जोनमा’
मंगलबार बिहानसम्म बाढीले बगाएर उखु, धान र मकै बाली लगाएको खेतीयोग्य जमिन कटान गरिरहेको अवस्था छ । कोशी र बाग्मती नदीमा पानीको बहाव बढ्दै जाँदा नजिकका बस्तीहरु जोखिममा परेका छन् । रौतहटको पूर्वमा बग्ने बाग्मती नदीको बाँध फुट्ने खतरा रहेको स्थानीयहरुको भनाइ छ । 

बाँध फुट्ने खतरा भएसँगै तीनवटै सुरक्षा निकायका कर्मचारीहरु घटनास्थलमा खटिएका डीआईजी सिंहले बताए । उनले भने, ‘बाग्मति नदीको बाँध फट्नसक्ने भएकाले तीनवटै निकायको सुरक्षाकर्मीहरुलाई ‘हाइअलर्ट’ बस्स्न भनिएको छ ।’ गौर नगरपालिकाको महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी पस्ने भएकाले सर्तकर्ता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ । 

यस्तै गौर चन्द्रनिगाहपुर सडकखण्डअन्र्तगत सपगढास्थित कजवेमा पानीको बहाव निकै तीव्र भएपछि साना सवारीसाधनहरूको आवागमनसमेत रोकिएको छ । सो स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई डोरीको सहाराले गन्तव्यतर्फ जान सघाइरहेका छन् । 

सप्तरी, धनुषा, महोत्तरी र सर्लाहीमा क्षति 
डीआईजी सिंहका अनुसार बाढीका कारण रौतहट, महोत्तरी, सप्तरी, सुनसरी धनुषा र सर्लाही जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । सिंहले भने, ‘सप्तरी, धनुषा, महोत्तरी र सर्लाहीको केही घरहरुमा बाढीले क्षति पुर्याइसकेको छ ।’

सप्तरीको डाक्नेश्वरी, खडक, हनुमाननगर नगरपालिका, महादेवा गाउँपालिका, तिलाठीकोईलाडी गाउँपालिका बाढीको उच्च जोखिममा छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका, महादेव गाउँपालिका, बलान बिहुल गाउँपालिका र बाढीले क्षति समेत पुर्याएको सिंहले बताए । 

त्यस्तै महोत्तरीको मठियानी नगरपालिका र जलेश्वर नगरपालिका पनि क्षति पुर्याएको छ । महोत्तरीको जलेश्वर नगरपालिका, मनरा शिसवा नगरपालिका, महोत्तरी गाउँपालिका पनि बाढीको जोखिममा रहेको सर्तकता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ । 

सर्लाहीको लालबन्दी नगरपालिका र मलंगवा नगरपालिकासँगै धनुषाको मिथिला नगरपालिका पनि बाढीका कारण प्रभावित रहेको डीआईजी सिंहको भनाइ छ । सिंहका अनुसार सर्लाहीको ईश्वरपुर नगरपालिका, चक्रघट्टा, विष्णु, कोडैना, ब्रह्मपुरी गाउँपालिका उच्च जोखिममा छ । 

त्यस्तै रौतहटको गौर, इशनाथ, राजपुर, परोहा, चन्द्रनगर नगरपालिका पनि बाढीले प्रभावित भएको छ । सिरहाको सिरहा र लहान नगरपालिका तथा नवराजपुर गाउँपालिका, धनुषाको नगराइन नगरपालिका, मुखियापट्टी मुसहर्निया गाउँपालिका पनि अति नै प्रभावित रहेको सिंहले बताए ।

त्यसैगरी बाराको कलैया उपमहानगरपालिका, फेटा, सुवर्ण गाउँपालिका पनि प्रभावित भएको छ । यता पर्साको पर्सागढी नगरपालिका, जगनाथपुर, बहादुरमाई गाउँपालिका पनि प्रभावित भएको छ ।    
 

साउन ५ गते कहाँ के भयो ? (प्रदेश प्रहरी कार्यालयको विवरण)
 

१. सप्तरी
साउन ५ गते छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुर बस्ने गजानन्द रायको फुसको गोठ घर वर्षाको कारण भत्कियो । रायको ३५ वर्षीया श्रीमती सुशीला देवी घाइते भइन् । घाइते सुशीलादेवीलाई तत्कालै गजेन्द्र नारायण सिंह अस्पताल लगियो । त्यस्तै रायको घरभित्र रहेका एक गाई, एक गोरु र ६ बाख्रा पुरिएको प्रहरीले जनाएको छ । अन्न्दाजी एक लाख ५० हजार रुपैयाँ बराबरको क्षत्री भएको र उद्दार कार्य भइरहेको छ । 

सोही दिन बिहान १० बजेको समयमा महादेवा गाउँपालिका– चिम्टी बस्ने जेगेन्द्र खंगको एक तल्ले एक कोठे फुसको घर वर्षाको कारण भत्कियो । घर पूर्ण रुपमा क्षति भएको छ । यद्यपी मानवीय तथा चौपाय क्षती नभएपनि ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

दिउँसो ३ः ३० बजेको समयमा अविरल वर्षाको कारण तिलाठीकोईलाडी गाउँपािलका–१ स्थित खाडोखोलामा पानीको वहाव बढेसँगै बेलही गाउँमा पानी पस्यो । ७ घरधुरी डुबानमा परेपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । उक्त स्थानमा स्थानीयसँग समन्वय गरी बाँध बाँध्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । 

सोही समयमा बलान गाउँपािलका– बिझिया टोलमा रहेको भुतही बलानखोलाको पूर्वपटीको बाँध अविरल वर्षा र उक्त खोलामा आएको बाढीको कारण १५० मिटर बाँध कटान गरेको छ । प्रहरीका अनुािर खोलाबाट ७०० मिटर पूर्वमा रहेको खोलामा स्थानीयसँग समन्वय गरी बाँध बाँध्ने कार्य भइरहेको छ ।
 

२. महोत्तरी
अन्दाजी २ः४५ बजेको समयमा मठियानी नगरपालिका–२ सिर्सियास्थित राधेकृष्ण रायको इंट्टाको घरको वाल अविरल वर्षाको कारण भत्कियो । घर पूर्ण रुपमा क्षति भएको प्रहरीको भनाइ छ । घरभित्र रहेकी रायको श्रीमती वर्ष ६० की सुशीलादेवी वालको ईट्टा लागेर घाइते भएकी छन् । घाइतेलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । वाल भत्किँदा ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

दिउँसो १ः५० बजेको समयमा जलेश्वर नगरपालिका–१२ स्थित थरुवाही टोलका अजेश्वर मण्डलको खपराले छाएको भुईतल्ले कच्ची घर अविरल वर्षाको कारण भत्कियो । घर पूर्ण रुपमा क्षति भएको छ । ६० हजार बराबरको धनमाल क्षति भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

३. सर्लाही
साउन ५ गते लालबन्दी नगरपालिका–४ जर्वापानी खोलाको छेउमा बस्ने रवीन्द्र चौधरकिो टाटी र माटोले बनाएको एक तले कच्ची घरमा अविरल वर्षाको कारण सामान्य क्षति भएको छ । घरमा पानी पसेर लत्ताकपडा तथा अन्नपात भिजेपनि मानवीय क्षति भएको छैन । चौधरकिो परिवारमा सात जना रहेको हाल छिमेकीको घरमा बसिरहका छन् । 

सोमबार अविरल वर्षाको कारण मलंगवा नगरपालिका–५ स्थित लखनदेही खोलामा आएको बाढी भाडसर गाउँमा पस्यो । सो स्थानमा बसोबास गर्ने २७ घर डुबानमा परेको छ । अन्दाजी १४७ जनालाई छिमेकीको घरमा लगेर राखिएको छ । यसअघि असार २७ गते पनि २७ घर नै डुबानमा परेको थियो । 

४. धनुषा
निरन्तरको वर्षाले मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित रहेको तालुब २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरको जग्गामा निर्माणधिन रहेको इंट्टाको पर्खालमा क्षति पुर्याएको छ । अविरल वर्षाको कारण जगधारखोलामा आएको बाढीले कटान गरी १६० फिट लम्बाई पर्खाल भत्किएको प्रहरीले जनाएको छ । 

हरेक वर्ष डुबानको चपेटामा पर्ने तराई यो वर्ष पनि डुबानको चपेटामा छ । बाढी, डुबान, कटान प्रत्येक वर्षको समस्या हो । तराईका मानिसहरू उक्त प्राकृतिक प्रकोपको क्षति भोग्न बाध्य छन् । गत वर्ष आएको बाढीका कारण ३८ जना मानिसको मृत्यु भएको थियो । १ अर्बभन्दा बढीको भौतिक संरचना क्षति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप