शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारका रोहिङ्गा लडाकूद्वारा एक महिने युद्धविराम घोषणा, ज्यादति भएको हल्लामात्र– सुकी

आइतबार, २५ भदौ २०७४, १६ : ५८
आइतबार, २५ भदौ २०७४

याङ्गुन । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एकपक्षीय रुपमा एक महिने युद्धविरामको घोषणा गरेका छन् । 

“अराकान रोहिङ्गा सल्भेसन आर्मी (एआरएसए) ले सरकारी सेनाको आक्रमणबाट बच्न अस्थायी युद्धविराम घोषणा गरेको छ”, एआरएसएले आफ्नो आधिकारिक अकाउन्टमा ट्विट गरेको छ । 

युद्धविरामका बेला मानवीय सहायतका लागि युद्धबाट प्रभावित क्षेत्रमा जान पनि पाइने व्यवस्था गरिएको पनि उक्त ट्विटमा उल्लेख गरिएको समाचारमा जनाइएको छ । 

सम्पूर्ण सहयोगी निकाय तथा मानवताबादीहरुले मानवीय संकटमा परेका पीडितहरुलाई सहयोग गर्न सक्नेगरी खुल्ला गरिएको सो समुहले जनाएको छ । युद्धविराम आउदो अक्टोबर ९ तारिख सम्म मात्र रहने पनि उक्त संगठनले स्पष्ट पारेको छ । 

यस विषयमा म्यानमार सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । दुई हप्तादेखि भइरहेको हिंसामा परी ठूलो सङ्ख्याका रोहिङ्गा समुदायका मानिसहरु विस्थापित भएकाले मानवीय सहायताको आवश्यकता देखिएको छ । 

एआरएसएले सिधै पाठकसम्म पुग्नेगरी ट्विटरबाट वक्तव्य दिएको यो पहिलो पटक हो । आइतबार जारी वक्तव्यमा अटा गल्लाहले हस्ताक्षर गर्नुभएको छ । उहाँ म्यानमार र बङ्गलादेशको सिमाना क्षेत्रमा खटिएका ती लडाकूहरुका कमाण्डर हुनुहुन्छ । 

सुरुमा स्थानीय हाराकाह अल याक्विनका नामबाट चिनिने एआरएसएले गत अगस्ट २५ को आसपासमा उत्तरी राखिन राज्यका झण्डै ३० ओटा प्रहरी कार्यालयमा हजारौँ लडाकूलाई परिचालन गरेर आक्रमण गरेको थियो । 

बङ्गलादेशमा विस्थापित भएका रोहिङ्गा शरणार्थीहरुले सुरक्षाकर्मी र राखिनका आदिवासी बौद्धमार्गीहरुले सयौँ गाँउमा आगजनी गरेका थिए । 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समूदायमाथि भएको यस आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन । विस्थापित यी व्यक्तिहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार विना नै बसेका छन् । 

म्यानमार सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबीगर्दै आएको छ । सरकारले हल्लाको पछि नलाग्न र देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ । 

ज्यादति भएको भन्नु हल्लामात्र– सुकी 

उता म्यानमारका बिदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादति गरेको भनी दुष्प्रचार मात्र गरेको बताउनुभएको छ । 

उहाँले पछिल्लो समयमा म्यानमारका केही सोसियल मिडिया एवम् विदेशी मिडियाले सैनिक ज्यादती भएको भनेर यसको गलत रुपमा प्रचार गरिरहेका बताउनुभएको समाचारमा जनाइएको छ । 

उहाँले त्यस समुदायका नागरिकका बस्तीमा आगजनी गरिएको भन्नेजस्ता समाचारहरु आएकोमा त्यसको खण्डन गर्नुभएको छ । उहाँले यस्तो कुनै दुव्र्यबहार उनीहरुमाथि नभएको पनि स्पष्ट गर्नुभयो । 

विदेशमन्त्री सुकीले ती समाचारहरु आतङ्ककारीलाई सहयोग पुग्नेगरी आएका गुनासोगर्दै त्यस्तो कुनैपनि ज्यादतीको समाचार आफूले थाहा नपाएको पनि स्पष्ट गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ । 

बङ्गलादेश छिर्ने क्रममा डुंगा डुब्दा चारको मृत्यु 

उता प्राप्त एक अर्काे समाचारअनुसार म्यानमारबाट बङ्गलादेशतर्फ रोहिङ्गाहरु जाने क्रम अहिले पनि जारी नै रहेको बताइएको छ । सो क्रम शनिबारसम्म जारी छ– विविभन्न अन्तर्राष्ट्रिय समाचार समितिहरुले जनाएका छन् । 

यसरी जाने क्रममा शनिबार राति डुंगा डुबेको र त्यसमा रहेका चार जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस समाचारको स्वतन्त्र पुष्टी हुन बाँकी रहेको भनिए पनि नाफ नदीमा डुंगा डुबेर भएको क्षतिको समाचार टेलिभिजनहरुले देखाइरहेका छन् । 

प्राप्त समाचारअनुसार म्यानमारबाबाट भागिरहेका रोहिङ्गा जातिका शरणार्थी बङ्गलादेश जाने क्रममा शनिबार राति अर्काे एक डुंगा डुबेको हो । त्यसमा रहेका यात्रुमध्ये चार जना शरणार्थीको ज्यान गएको हो । 

म्यानमारको राखिन राज्यमा पछिल्लो समय हिंसा भड्किदै गएका कारण यहाँबाट भागेर बङ्गलादेश जाने क्रम पनि बढेको छ । त्यसका कारण यहाँका कैयौँ नागरिकले दुःख पाएका छन् । 

गएको एक हप्ताभन्दा लामो समयदेखि हरेक दिन बिहानैदेखि रोहिङ्गा समुदायका नागरिक नाफ नदी भएर बङ्गलादेशतर्फ भागेर जाने क्रम सुरु भएको छ । 

कैयौँ डुंगा डुबेका कारण दर्जनौँको ज्यान गइसकेको छ । नाफ नदी म्यानमार र बङ्गलादेशको सीमामा पर्दछ । त्यस क्षेत्रमा सुरक्षाको प्रबन्ध गरिएको भनिए पनि दुर्घटनाहरु पनि भएका छन् । 

विशेषगरी माछामार्ने काममा प्रयोग गर्ने गरिएका साना खालका डुंगामा चढेर उनीहरु हतार हतार बङ्गलादेशतर्फ भाग्ने गरेको देखिन्छ । यसका कारण पनि धेरै नागरिक हताहत भएका बताइएको छ । 

रोहिङ्गाहरु गएको अगष्ट २५ तारिखदेखि यसरी भागेर त्यसतर्फ जाने गरेका हुन् र अहिलेसम्ममा यहाँका तीन लाख जति शरणार्थीका रुपमा बङ्गलादेश पुगिसकेका छन् । रासस/एएफपी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप