शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गति लिँदै दुईपाङ्ग्रे सवारीको बजार, कसैको व्यापार बढ्न थाल्यो, कोही ‘रिभाइभ’ नजिक

मौद्रिक नीतिलाई कुर्दै चारपाङ्ग्रे सवारी
बिहीबार, ०१ साउन २०७७, २१ : ३८
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । सरकारले ३ महिनासम्म लकडाउन घोषणा गर्दा अटोमोबाइल्स डिलरहरुलाई एउटै चिन्ताले सताउँथ्यो, ‘लकडाउन होउञ्जेल त ठीकै छ, त्यसपछि व्यवसाय कसरी धान्ने ?’ अझै पनि सवारीसाधनलाई विलासी मान्ने हाम्रो समाज  र त्यही समाजले निर्देशित गरेको सरकारी संयन्त्र छ । लकडाउनपछिको देशको आर्थिक सन्तुलनलाई धान्न विदेशी मुद्रा खर्च हुने यस्ता सवारी साधनहरुमा नीतिगत अवरोध गर्ने सम्भावना थियो ।

 अर्कोतर्फ लकडाउनका कारण रोजगारी गुमाएका र भएको बचत समेत सकिने अवस्थामा सवारीसाधनको माग कम हुँदै जाने अवस्था समेत अनुमान गरिएको थियो ।  योबीचमा ५० हजार डलरभन्दा महँगा सवारीको आयात बन्द गर्नुबाहेक सरकारले पनि सवारीसाधनको आयातलाई निरुत्साहन गर्ने ठूलो नीति लिएन । घट्दो आयात र जेठ महिनामा बढेको रेमिट्यान्स आप्रवाहका कारण विदेशी मुद्राको अवस्था सुध्रिँदै जाँदा सरकारले अटोमोबाइल्समैत्री नीतिलाई कायमै राख्यो । अझै दुईपाङ्ग्रे सवारीसाधनलाई यसअघि दिइएको सुविधामा कुनै कटौती गरेन । 

त्यही सुविधालाई नेपालमा दुईपाङ्ग्रे सवारीसाधनको डिलरसिप गर्दै आएका कम्पनीहरुले आंशिक रुपमा लकडाउन खुल्नेबित्तिकै ग्राहकमैत्री प्रोडक्टहरु लञ्च गर्न थाले । तत्काल धेरै डाउनपेमेन्ट गर्न नसक्ने ग्राहकलाई २० प्रतिशतको डाउनपेमेन्टमै शून्य प्रतिशत ब्याजमै किस्ताको सुविधा दिनेदेखि एकैपटक क्षमता हुनेलाई क्यासब्याक अफरसम्मका योजनाहरु ल्याएर सबै प्रकारका ग्राहकलाई तान्ने नीति उनीहरुले लिए । त्यसैको फलस्वरुप अहिले दुईपाङ्ग्रे सवारीको बिक्री बढ्न थालेको छ । 

असार महिनामा बजारमा रहेका प्रचलित ब्राण्डहरुमध्ये केही कम्पनीहरुको बिक्री अघिल्लो वर्षको हाराहारीमै पुग्यो । केही ब्राण्डहरु अघिल्लो वर्षकै हाराहारीमा पुग्ने चरणमा छन् भने एकाध कम्पनीहरुको बिक्री अघिल्लो वर्षभन्दा पनि धेरै भइसकेको छ ।

टिभिएस टु–ह्विलर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका बिक्री प्रबन्धक दीपक अग्रवाल लकडाउन खुलेपछिको बिक्री अघिल्लो वर्षको तुलनामा २० देखि २५ प्रतिशतले बढेको बताउँछन् । ग्राहकमैत्री हुनेगरी नगद छुट र शून्य प्रतिशत ब्याजसहितका प्रोडक्टका कारण ग्राहकहरुको आकर्षण बढेको उनको विश्लेषण छ । 

 

बजारको अर्को चर्चित ब्राण्डको रुपमा रहेको बजाज ब्राण्डको मोटरसाइकल बिक्री गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनीका सेल्स म्यानेजर विक्रम पौडेल बजाज मोटरसाइकलको बिक्रीमा उतारचढाव देखिए पनि अनुमान गरेजस्तो बजार ठप्प हुने अवस्था नदेखिएको बताउँछन् । 

‘असार महिनामा राम्रै बिक्री भएको छ, सोधखोज गर्नेहरु पनि आउनुभएको छ । यसले गर्दा भोलिका दिनमा राम्रो होला भन्ने आशा गर्न सकिन्छ,’ सेल्स म्यानेजर पौडेल भन्छन्, ‘अवस्था सामान्य नभए पनि बजार ठप्प भयो भनेर बस्नुपर्ने अवस्था छैन ।’

कसरी सम्भव भयो ‘भी–सेप’ रिभाइभ ? 
कुनैपनि असामान्य अवस्थाका कारण एकैपटक खस्किएको बजार अवस्था सहज भएपछि तत्कालै माथि आउन सुरु गर्छ भने त्यो अवस्थालाई बजारलाई ‘भी–सेप’ रिभाइभ भनिन्छ । अर्थात्, भी आकारजस्तै खस्किएको बजारले पुनः आफ्नो स्थान लिने ठाउँतिर आउन थाल्छ । अहिले नेपालमा दुईपाङ्ग्रेकोे बजारमा त्यही भी आकारको रिभाइभ सुरु भएको विश्लेषण गर्न थालिएको छ । 

यसरी दुईपाङ्ग्रे सवारीको बजार माथि उकासिनुमा मुलतः ३/४ वटा कारण रहेको विश्लेषण सम्बन्धित बिक्रेताहरु बताउँछन् । ती कारणहरुमा सरकारी नीतिको सहजीकरण, ग्राहकमैत्री प्रोडक्टको सिर्जना, सार्वजनिक सवारी र जोरबिजोर प्रणालीको विकल्प तथा सुधार हुँदै गएको बजारलाई प्रमुख कारण मानिएको छ । 

अहिले सरकारले दुईपाङ्ग्रे सवारीसाधन २० प्रतिशत डाउनपेन्टमै बिक्री गर्नसक्ने सुविधा दिएको छ । त्यतिमात्रै नभएर ग्राहकको रुचिअनुसारको किस्ता अवधि र किस्ताको रकम कायम गर्न समेत अहिले उदार व्यवस्था गरिएको छ । सोही व्यवस्थाका कारण बिक्रेताहरुलाई ग्राहकमैत्री प्रोडक्ट ल्याउने अवसर मिलेको छ । 

त्यसो त बिक्रेताहरुले पुरानै शैलीमा व्यापार गर्दै आएको र ग्राहकको क्षमता र रुचिलाई विचार गर्न नसकेको भए अहिलेको जस्तो अनिश्चित अवस्थामा व्यापार यसरी सहज हुँदै जाने अवस्था नआउन पनि सक्थ्यो । त्यसमा डिलरहरुको बिक्री योजनाले मुख्य रुपमा काम गरेको बिक्रेताहरु नै बताउँछन् । 

आंशिक रुपमा लकडाउन खुले पनि सार्वजनिक सवारी नचलेको अवस्थामा यसअघि मोटरसाइकल÷स्कुटर किन्ने क्षमता भएर पनि किन्न नसकेकाहरु पनि कोभिड–१९ को जोखिमपछि आफ्नै सवारी चढ्न उद्दत देखिएका छन् । यसमा सार्वजनिक सवारी नचलेको कारणले भन्दा पनि त्यस्तो सवारी चढ्दा हुनसक्ने जोखिमको कारणले त्यस्ता ग्राहकहरु आकर्षित भएको हुनसक्ने समेत उनीहरुको विश्लेषण छ । 

त्यस्तै, कार चढ्नेहरुले जोरबिजोर प्रणालीका कारण दिनदिनै यात्रा गर्नको लागि विकल्पको रुपमा पनि केही त्यस्ता सवारीसाधन खरिद गरेको समेत पाइएको छ । 

लकडाउन खुलेपछि अहिले आम नागरिकहरुमा एक प्रकारको कन्फिडेन्स बढ्दै गएको छ । कोभिड–१९ कै कारणले विश्वभर रहेको लकडाउन संक्रमण नसकिँदै सुरु हुनुले यही महामारीका कारण अर्थतन्त्र पुनः लकडाउनमा नजाने अनुमानका साथ त्यस्तो कन्फिडेन्स बढेको हो । त्यो कारणले पनि अहिले यो बजारको अवस्था सहज देखिएको हुनसक्ने उनीहरुको भनाइ छ । 

मौद्रिक नीति कुर्दै चारपाङ्ग्रे सवारी
अहिले जति सजिलो दुइपाङ्ग्रे सवारी साधनलाई छ, त्यति चारपाङ्ग्रेलाई छैन । चारपाङ्ग्रे सवारीको बजार दुईपांग्रेको जस्तो नहुनुमा मुख्यतया सरकारको नीति नै बाधक देखिएको छ । 

हाल निजी प्रयोजनका लागि कार किन्नेले सुरुमै ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ । बाँकी ५० प्रतिशतका लागि मात्रै बैंकहरुले फाइनान्सिङ गर्न सक्छन् । मुख्यतया यसमा सुधार हुनुपर्ने माग अटो व्यवसायीले राख्दै आएका छन् । त्यसबाहेक ऋणको पुनर्संरचना तथा सहुलियतपूर्ण ऋणका लागि नीतिगत व्यवस्था गर्न नाडा अटोमोबाइल्स एशोसिएसनले माग गर्दै आएको छ ।

यद्यपि लकडाउन खुलेपछि यसको बजारले पनि सुधारको संकेत देखाएको भने छ । बिक्रेता कम्पनीहरुले ल्याएको स्कीमका कारण अहिले ग्राहकहरुले यसमा चासो दिन थालेका छन् । 

सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटर्सकर्पका सेल्स म्यानेजर करुण शाक्य भन्छन्, ‘लकडाउन खुलेपछि बिक्रेताहरुले जसरी प्रोएक्टिभ प्रोडक्टहरु ल्याए, यसले ग्राहकलाई तान्यो । एकपटक के रहेछ, हेरिहालौं÷बुझिहालौं भन्ने उनीहरुलाई लागेको छ ।’ 

उनले ग्राहकले किनिहाल्ने अवस्था भने आइनसकेको बताए । ‘अहिलेसम्म किन्ने निर्णय गरिसकेको अवस्था भने देखिँदैन, मौद्रिक नीतिले लोनमा सहज बनाइदिन्छ कि भन्ने प्रतिक्षामा उहाँहरु रहनुभएको देखिन्छ,’ उनले भने । सामान्यतया किन्ने क्षमता भएका ग्राहकले नै चासो दिने भएकोले ग्राहकको पछिल्लो चासोले सकारात्मक बन्ने अवस्था बनाएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप