मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आन्तरिक रणनीति बनाउन खुमलटार र बालुवाटारमा छुट्टाछुट्टै छलफल

बिहीबार, ०१ साउन २०७७, १९ : १९
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद थप जटिल बन्दै गएको छ । अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा  वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा पनि नेताहरुले पुरानै अडान राखेर सहमति नहुँदा विवाद जटिलतातर्फ धकेलिएको हो ।

बिहीबार दिउँसो बालुवाटारमा तीन नेताबीच भएको वार्ता सकारात्मक नभएपछि बालुवाटार र खुमलटारमा नेताहरु आफु निकटका नेताहरुसँग आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन् । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु र ओली पक्षका नेताहरु बालुवाटारमा छलफलमा जुटेका हुन् । 

बालुवाटारमा ओलीसहित महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ लगायत सहभागी छन् ।  त्यसैगरी खुमलटारमा बरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शक्य, भीम रावल, जनार्दन शर्मा लगायतका नेताहरुबीच छलफल भएको हो । 

यसअघि एक्लाएक्लै वार्ता गरेका ओली प्रचण्डले बिहीबार वरिष्ठ नेता नेपाललाई पनि वार्तामा सहभागी गराएका थिए । त्रिपक्षीय वार्तामा समेत नेताहरुले आआफ्नै अडान दोहोर्याएका थिए । यद्यपि यसअघि नै तय भएको शुक्रबारको स्थायी कमिटी बैठक भने नरोक्ने सहमति भएको छ ।

बिहीबार पनि प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए भने ओलीले आफु राजीनामा नगर्ने बरु स्थायी समिति बैठक फेस गर्ने बताएका थिए । 

प्रचण्डसहितका नेताहरु ओलीलाई प्रधानमन्त्री या अध्यक्षमध्ये एकबाट राजीनामा गराउने अडानमा छन् । यसमा खासगरी नेपाल समूहले एउटा पद छाड्नै पर्ने अडान लिएको छ । उता दाहाल समूहले पार्टी एकताका क्रममा सरकार र पार्टी सञ्चालनका लागि भएको आलोपालोको सहमति कार्यान्वयन हुनै पर्ने अडान राख्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप