केन्द्रीय संस्करण
राजनीति

बालुवाटार बैठकमा सहमति जुटेन, ओलीले राजीनामा दिनुपर्ने प्रचण्ड–नेपालको अडान

person explore access_timeसाउन १, २०७७ chat_bubble_outline1

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको त्रिपक्षीय छलफल बिनानिष्कर्ष सकिएको छ । बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ । 
बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारेपनि ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका थिए । करिब साढे २ घण्टा चलेको बैठकमा आ–आफ्नै अडान कायम भएपछि बैठक त्यसै सकिएको थियो । 
यसअघि विवाद समाधानका लागि ओली र प्रचण्डबीच छलफल हुँदै आएकोमा आजको बैठकमा नेपाल पनि सहभागी रहेका हुन् । 

बुधबार समेत करिव ३ घण्टा ओली प्रचण्डबीच वार्ता भएपनि कुनै सहमति जुट्न सकेको थिएन । शुक्रबार बस्ने स्थायी समिति बैठकअघि सहमतिको बिन्दु पहिल्याउन ओली र प्रचण्डबीच भएका यसअघिका वार्तामा ओलीले राजीनामा नदिने अडान राखेपछि सहमति जुट्न सकेको छैन । गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिएपनि उनी आफूले राजीनामा नदिने बताउँदै आएका छन् । 

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पक्षमा छन् । 

नेताहरुबीच पार्टी एकताअघिको २०७५ जेठ २ मा भएको सहमति अनुसार अघि बढ्ने कि २०७७ मंसिर ५ को सहमतिअनुसार अघि बढ्ने भन्नेमा मतभेद छ । प्रचण्डसहतिका नेताहरु जेठ २ को सहमतिअनुसार ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली मंसिर ५ को सहमति अनुसार नै अघि बढ्नुपर्ने बताउँदै आएका छन् । 

जेठ २ मा ५ वर्षे कार्यकालमा आधाआधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति छ भने मंसिरमा पुरै समय ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको एकता महाधिवेसनसम्म प्रचण्डले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो । 

तर, दुवै सहमतिलाई नयाँ ढंगले व्याख्या गर्दै त्रिपक्षीय सहमतिका आधारमा अघि बढ्नुपर्ने वरिष्ठ नेता नेपाल पक्षको भनाइ छ । नेता नेपालले यसअघि नै एक पद एक जिम्मेवारी लागू गर्नुपर्ने भन्दै सचिवालय बैठकमा नोटअफ डिसेन्ट राख्दै आएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. July 16, 2020, 6:18 p.m. Desbhakta Nepal
    राजिनामा जनताले मागेका छैनन् नेताले मागेका हुन्। केपी ओलीको राजिनामा जति माग्छन् ओली बा त्यति त्यति नै शक्तिशाली हुँदै जान्छन्। एक बर्ष अघि रोपेको राजिनामा नामको बिरुवा अहिले अलि ठुलो भयो, भारतले काट भन्ने बित्तिकै किन काट्नु पर्ने ? यसमा भारतको कुनै भूमिका छैन भनेर कुनै जनता पत्याउन सक्ने अवस्था छैन। भारतमा मोदीका मिडियाले नेपालको प्रधानमन्त्रीको राजिनामा माग्ने, नेपालमा उनीहरुले नै पालेका नेताहरुले राजिनामा माग्ने, युवा नेताहरु बिलखबन्दमा पर्ने, राम्रो भएन। अब यसो गर्नुस् बरु, अबको प्रधानमन्त्री को हुने भनेर झापा, चितवन, काठमाडौँ र ईलाम ४ जिल्लामा नेकपाका सङ्गठित सदस्यहरुलाई भोट खसाल्न लगाउनुस। उनीहरुले जसलाई भन्छन त्यसैलाई बनाउनुस्। हारजित २० प्रतिसत र ८० प्रतिसतले हुनेछ। त्यो ८० प्रतिसत मत कसको हुनेछ राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति हेरेर आफै मुल्याकन गर्नुहोस, कमरेड महोदय। अरु उपाय छैन अब।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.