शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा त्रिपक्षीय छलफल : ओली–प्रचण्डको वार्तामा थपिए माधव नेपाल

बिहीबार, ०१ साउन २०७७, ११ : ३६
बिहीबार, ०१ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल सुरु भएको छ । 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ११ बजेपछि सुरु भएको छलफलमा आज नेता नेपाललाई पनि सहभागी गराइएको हो । 

नेता नेपाललाई समेत वार्तामा वोलाएपछि आजको छलफलले निकास दिन सक्ने आशा जागेको नेताहरुले बताएका छन् । दुई अध्यक्षबीच हुदै आएको वार्तामा बरिष्ठ नेता नेता नेपाललाई समेत सहभागी गराइपछि केही सहमति भएर निष्कर्षउन्मुख हुनसक्ने नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिए । 

‘वार्ताहरु बाक्लो बन्न थालेका छन् । सकारात्मक पनि बन्दै गएको भन्नेसम्म बुझिएको छ । यसले पनि सकारात्मक संकेत दिएको छ भनेर बुझ्न सकिन्छ । शीर्ष नेताहरु लागेपछि कुरा नमिल्ने भन्ने हुँदैन’, नेता नेम्वाङको भनाइ छ । 
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तीनजना नेता बसेर सहमति खोज्न सक्ने भन्दै त्यसपछि मात्रै के हुन्छ भनेर भन्न सक्ने बताए । 

‘उहाँहरु बस्दै हुनुहुन्छ । वार्तामा के हुन्छ भन्ने कुरा बसिसकेपछि मात्रै थाहा होला’, प्रवक्ता श्रेष्ठले भने, नेकपाका लाखौँ नेता कार्यकर्ताको भावनाअनुसार अघि बढ्नुहुन्छ भन्ने मलाई लागेको छ ।’

यसअघि ओली–प्रचण्डबीच पटकपटक भएका वार्तामा सहमति जुट्न नसकेपछि आजको वार्तामा नेता नेपाललाई समेत सहभागी गराउन दुई नेता सहमत भएका हुन् । 
बुधबार करिव ३ घण्टा ओली प्रचण्डबीच वार्ता भएपनि कुनै सहमति जुट्न सकेको थिएन । 

शुक्रबार बस्ने स्थायी समिति बैठकअघि सहमतिको बिन्दु पहिल्याउन ओली र प्रचण्डबीच भएका यसअघिका वार्तामा ओलीले राजीनामा नदिने अडान राखेपछि सहमति जुट्न सकेको छैन । गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिएपनि उनी आफूले राजीनामा नदिने बताउँदै आएका छन् । 

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पक्षमा छन् । 

नेताहरुबीच पार्टी एकताअघिको २०७५ जेठ २ मा भएको सहमति अनुसार अघि बढ्ने कि २०७७ मंसिर ५ को सहमतिअनुसार अघि बढ्ने भन्नेमा मतभेद छ । प्रचण्डसहतिका नेताहरु जेठ २ को सहमतिअनुसार ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली मंसिर ५ को सहमति अनुसार नै अघि बढ्नुपर्ने बताउँदै आएका छन् । 

जेठ २ मा ५ वर्षे कार्यकालमा आधा-आधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति छ भने मंसिरमा पुरै समय ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको एकता महाधिवेसनसम्म प्रचण्डले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो । 

तर, दुवै सहमतिलाई नयाँ ढंगले व्याख्या गर्दै त्रिपक्षीय सहमतिका आधारमा अघि बढ्नुपर्ने वरिष्ठ नेता नेपाल पक्षको भनाइ छ । नेता नेपालले यसअघि नै एक पद एक जिम्मेवारी लागू गर्नुपर्ने भन्दै सचिवालय बैठकमा नोटअफ डिसेन्ट राख्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप