मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग राउन्ड अप : अंकको कीर्तिमान बनाउने लिभरपुलको सपना अन्त्य

बिहीबार, ०१ साउन २०७७, ०६ : ५२
बिहीबार, ०१ साउन २०७७

प्रिमियर लिगमा एउटै सिजन सबैभन्दा धेरै अंक बटुल्ने कीर्तिमान बनाउने लिभरपुलको सपना आर्सनलले चकनाचुर बनाएको छ । दुई सिजनअघि म्यान्चेस्टर सिटीले बनाएको १ सय अंकको कीर्तिमान भंग गर्नका लागि लिभरपुलले लिगका बाँकी खेलहरु जित्नुपर्ने थियो । तर, आर्सनलसँग २–१ को हार बेहोरेपछि लिभरपुलको सपना अन्त्य भएको हो ।

खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । एन्ड्रु रोबर्टसनको पासमा साडियो मानेले खेलको २० औँ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । तर, भर्जिल भान डाइक र गोलकिपर एलिसनको गल्तीमा अलेक्सान्डर लाकाजेट र रेइस नेल्सनले एक–एक गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

दोस्रो हाफमा लिभरपुलले आक्रामक खेल प्रस्तुत गरेपनि थप गोल हुन सकेन । आर्सनलले लिभरपुललाई पराजित गरेको सन् २०१५ को अप्रिलपछि पहिलो पटक हो । योर्गन क्लप भने पहिलो पटक आर्सनलसँग पराजित भएका हुन् ।

उता, म्यान्चेस्टर सिटीले रेलिगेसनबाट बच्न संघर्षरत बोर्नेमाउथलाई २–१ गोलअन्तरले हराएको छ । सिटीको जीतमा डेभिड सिल्भा र गब्रियल जिसुसले एक–एक गोल गरे । बोर्नेमाउथका लागि डेभिड ब्रुक्सले सान्तवना गोल गरे । म्यानेजरका रुपमा पेप ग्वार्डिओलाको प्रिमियर लिगमा यो १५० औँ खेल थियो । यसमध्ये उनले १११ खेल जितेका छन् । 

यता, ह्यारी केनको दुई गोलको मद्दतले टोटनह्यामले न्युक्यासलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । सन ह्युङ मिनले खेलमा स्पर्सलाई अग्रता दिलाए पनि दोस्रो हाफमा म्याट रिचीले बराबरी गोल फर्काए । त्यसपछि केनले दुई गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

दुई गोलसँगै २६ वर्षीय स्ट्राइकरले ३५० खेलमा २०१ गोल गर्न सफल भएका छन् । जीतपछि स्पर्स लिगको सातौँ स्थानमा उक्लिएको छ र युरोपा लिग खेल्ने सम्भावनालाई कायम राखेको छ ।

अन्य खेलमा बर्नली र वुल्झसले १–१ को बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप