शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लवका कार्यकर्ता बनेर चन्दा माग्ने युवक पक्राउ

बुधबार, ३१ असार २०७७, १७ : २९
बुधबार, ३१ असार २०७७

घोराही । ज्यान मार्ने धम्की दिँदै ८ लाख ६५ हजार चन्दा माग्ने दूई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्याला मजदुरीको काम गर्ने बबई गाउँपालिका वडा नं. ५ सिमगैरा निवासी २८ वर्षीय भास्कर वली र १९ वर्षीय केवल वली रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहकाअनुसार उनीहरुले बबई गाउँपलिका वडा नं. ५ हापुरे बजार निवासी २६ वर्षीय ललित गौतमको परिवारबाट उक्त चन्दा रकम माग गर्दै त्यो नदिए ज्यान लिने धम्की दिँदै आएका थिए ।

गौतमको हापुरे बजारमा गौतम ट्रेडर्स एण्ड सप्लायर्स नामको हार्डवयर पसल छ । उनका बुवा निमकान्त गौतम प्राय पसल हेर्छन् । विप्लव समूहको नामबाट असार २४ गते हस्तलिखित पत्र लेखेर भास्करले गौतमको घरको मुल ढोका अगाडि तीन दिनभित्रै बुझाउन ताकेतासहितको पत्र छोडे । गौतम परिवारले वास्ता नगरेपछि भास्करले असार २६ गते रातको ११ बजे निमकान्त गौतमलाई फोन गरि धम्काए । मागेजति रकम नदिए उनीसहित घर परिवारका सदस्यको ज्यान लिने धम्की दिए ।

आफु र घर परिवारको सुरक्षाको लागि गौतमले सम्वाद थाले । उनले ५० हजार चन्दा दिन राजी भए । यो कुरा गोप्य रुपमै मिलाउने प्रयास भइरहेको थियो । धम्की दिँदै आएका व्यक्तिले ५० हजार रकम अस्वीकार गरे र तोकिएको रकम नदिए परिवार नै सखाप पारिदिने चेतावनी दिए ।

गौतम परिवारलाई परेको समस्या एकान दुई कान गर्दै प्रहरीसम्म पुग्यो । त्यसपछि प्रहरीले गोप्य रुपमा गौतमलाई फोन गरेर धम्काउने व्यक्तिको कल डिटेल्स खोजी ग¥यो । उक्त नम्बर केवल वलीको नाममा थियो । असार २९ गते वलीलाई प्रहरीले पक्राउ गर्यो । असार ३० गते भास्कर वली पक्राउ परे । धम्क्याउन प्रयोग भएको सिम नम्बर र मोवाईल पनि बरामद भयो । अनि बल्ल चन्दा आतंको राज खुल्यो ।

पक्राउ परेका विरुद्ध दाङ देउखुरी जिल्ला अदालतबाट मंगलबार दश दिने म्याद थप गरि थप अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ । इप्रका तुलसीपुरका प्रवक्ता चक्रडम्बर पालले उनीहरुविरुद्ध आपराधिक लाभ अन्तर्गतको कसुरमा मुद्दा चलाएर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप