बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा जनकपुरधाममा प्रदर्शन

बुधबार, ३१ असार २०७७, १५ : ५७
बुधबार, ३१ असार २०७७

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल अयोध्या प्रदेश नम्बर २ को विरगंजस्थित ठोरी गाउँमा रहेको भनेर दिएको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ । सीताको जन्मथलो जनकपुरधाममा पनि प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिको विरोध भइरहेको छ ।

बुधवार जनकपुरधाममा हिन्दू परिषद नेपालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नगरमा प्रदर्शन गरेको हो । परिषदले प्रधानमन्त्री ओलीले आफ्ना अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरेको छ ।
हिन्दू परिषद नेपाल जनकपुर नगर कमिटीका अध्यक्ष मिथिलेश झाले धर्मको विषयमा राजनीति गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले आफ्ना अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने बताए । उनले वैदिक र सांस्कृतिक रुपमा ओलीले विश्वका करोडाैं  हिन्दू धर्मावलम्बी माथि हमला गरेको आरोप लगाए ।

हिन्दू परिषदले जनकपुरधामको रामानन्द चोकबाट ¥याली निकाल्दै नगरको विभिन्न भाग परिक्रमा गरी जनक चोकमा पुगेर कोणसभामा गरेको थियो ।

कोणसभामा परिषदका अध्यक्ष मिथिलेश झा, नागरिक समाजका मुरली मनोहर मिश्र लगायतका वक्ताले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

त्यस्तै प्रेस काउन्सिलका सदस्य नवलकिशोर यादवले पनि भगवान रामको जन्मस्थल भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको सरयुग नदीको किनारामा रहेको र सीताको जन्म मिथिलाको तत्कालीन राजधानी हालको जनकपुरधाममा भएको बताए ।

रामनन्दीय वैष्णव संघका महासचिव समेत रहेका प्रेस काउन्सिल सदस्य नवल किशोर यादवले प्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेका कुराबाट विश्वका हिन्दूहरुको आस्थामाथि नै प्रहार हुनु दुर्भाग्यपूर्ण रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले नागरिक समाज, साधु समाज, स्थानीय युवा क्लव, पत्रकार लगायतसँग विमर्श गर्न बैठक आह्वान गरेका छन् । सोही बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप