शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमाथि अमेरिका र बेलायतको एकैसाथ हमला, गतिरोध बढ्ने आशंका

बुधबार, ३१ असार २०७७, ०८ : ०७
बुधबार, ३१ असार २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक आदेश पारित गर्दै हङ्गकङको विशेष दर्जा समाप्त गरेको जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पको व्यवहार चीनप्रति लगातार कडा हुँदै गएको छ ।

ह्वाइट हाउसमा पत्रकासँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भने, ‘अब अमेरिकाले चीनसँग जस्तो व्यवहार गर्दै आएको छ, हङ्गकङसँग पनि ठ्याक्कै त्यस्तै गर्नेछ ।’

ट्रम्पले हङ्गकङमा अधिकारको उल्लंघन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने नयाँ अध्यादेश पारित गरेको पनि जानकारी दिएका छन् ।

चीनले हङ्गकङमा नयाँ सुरक्षा कानून लागू गरेपछि अमेरिकाले विशेष दर्जा खारेज गरेको हो ।

मंगलबारको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘कुनै विशेष दर्जा छैन, कुनै विशेष आर्थिक छुट छैन र संवेदनशील प्रविधीको कुनै कारोबार छैन ।’

बेलायती उपनिवेश रहेको हङ्गकङले चीनमा विशेष दर्जा र केही यस्ता अधिकार प्राप्त गरेको छ जुन मुख्य चीनका जनतालाई समेत दिइएको छैन ।

तर हालका वर्षमा चीन हङ्गकङ प्रति कडा भएको छ । केही दिन अघि लागू गरिएको नयाँ सुरक्षा कानूनलाई थुप्रै हङ्गकङबासीले यो स्वायत्त क्षेत्रको विशेष दर्जा समाप्त हुन लागेको अनुमान गरेका छन् ।

बेलायतले हङ्गकङलाई सन् १९८९ मा चीनलाई सुम्पिएको थियो । त्यतिबेला एक सम्झौता अनुरुप हङ्गकङलाई विशेष दर्जा दिइएको थियो । तर चीनको आलोचना गर्नु अपराध हो भनेर व्याख्या गर्ने नयाँ सुरक्षा कानून लागू भएपछि हङ्गकङमा धेरे कुराको परिवर्तन भएको छ ।

ह्वाइट हाउसमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिङसँग कुराकानी गर्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।

हङ्गकङको विशेष दर्जा समाप्त गर्दा के हुन्छ ?

अमेरिकी राष्ट्रपतिको यो कदम हङ्गकङमा संचालित अमेरिकी कम्पनीका लागि टाउको दुखाई हुनसक्छ । यसको संख्या १३ सय बढी छ ।

अमेरिकी नागरिक हाल भिसा बिना नै हङ्गकङको यात्रा गर्न सक्छन् । अब उनीहरुले चीनको कडा भिसा नियमको सामना गर्नुपर्ने हुन्छ ।

हङ्गकङको उत्पादनमा अमेरिकामा कम कर लाग्थ्यो । अब यो समाप्त हुनसक्छ जसका कारण अमेरिका र हङ्गकङबीच हुने अर्बौं डलरको व्यापार प्रभावित हुनसक्छ ।

विश्लेषकका अनुसार एक विश्वव्यापी आर्थिक हबको रुपमा हङ्गकङको पहिचान बिस्तारै बिलाउन सक्छ । चीनका लागि यो अन्तरराष्ट्रिय वित्तिय बजारको ढोका पनि हो अब यो बन्द हुनसक्छ ।

चीन भर्सेस पश्चिमी देशः

हङ्गकङमा चीनको नयाँ सुरक्षा कानूनको विषयमा पश्चिमी देश रुष्ट छन् । मंगलबार बेलायतले चिनियाँ कम्पनी ह्वावेसँग फाइभ जीका लागि लिँदै आएको प्रविधिको करार समाप्त गरेको थियो ।

बेलायती सरकारको नयाा निर्णयका अनुसार देशका मोबाइल प्रदायक कम्पनीमाथि ३१ डिसेम्बरपछि चिनियाँ कम्पनी ह्वावेबाट कुनै उपकरण खरिद गर्न प्रतिबन्ध लगाइएको छ । यसका साथै, सन् २०२७ सम्म ब्रिटिश मोबाइल प्रोभाइडरले आफ्नो नेटवर्कबाट ह्वावेका सबै फाइभ जी किट हटाउनुपर्नेछ ।

सरकारको यो निर्णयको जानकारी हाउस अफ कमन्सको प्राविधिक मामिलाका मन्त्री ओलिवर डाउडेनले दिएका छन् । उनले यो निर्णय लागू गर्दा देशभरी फाइभ जीको व्यवस्था लागू गर्न एक वर्ष ढिलाई हुने पनि जानकारी दिए । यतिमात्रै होइन, यो निर्णयले देशभरी दुई अर्ब पाउन्डको अतिरिक्त बोझ पनि बढ्ने उनले बताए ।

अमेरिकाको दबाबमा आएर बेलायती सरकारले यो निर्णय लागू गरेको अनुमान गरिँदै छ ।

जनवरी २०२० मा एक लामो कठिन लडाईंपछि बेलायती सरकारले चिनियाँ कम्पनी ह्वावेलाई फाइभ जी नेटवर्कको संवेदनशील कोरबाट बाहिर राख्ने र अन्य भागमा ३५ प्रतिशत बजारसम्म मात्रै ह्वावेको हिस्सेदारी सिमित हुने घोषणा गरेको थियो ।

क्यानडा र चीन आमने–सामने

उता क्यानडाले पनि क्यानडाले गत हप्ता हङ्गकङसँग आफ्नो प्रत्यर्पण सन्धि स्थगित गरेको थियो र सेनाका लागि आवश्यक सर–सामानको निर्यात पनि प्रतिबन्ध लगाएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले शुक्रबार यसको घोषणा गरेको थियो ।

चीनले नयाँ सुरक्षा कानून पारित गरेसँगै पश्चिमका थुप्रै देश यसविरुद्ध आवाज उठाइसकेका छन् । तर चीनमाथि यसको असर देखिएको छैन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले आफ्नो ताजा बयानमा भनेका छन्, ‘चीन कडा शब्दमा यसको निन्दा गर्छ र यो मामिलामा पछि पनि जवाफ दिने अधिकार राख्छ । र यसको जे पनि परिणाम हुनेछ यसका लागि क्यानडा जिम्मेवार हुनेछ । चीनमाथि कुनै पनि प्रकारको दबाब कहिले पनि सफल हुनेछैन ।’

चिनियाँ प्रवक्ताले हङ्गकङको नयाँ सुरक्षा कानूनको बचाउन गर्दै भने, ‘क्यानडाको गलत प्रतिक्रिया र उसले जे कदम उठाएको छ त्यसले ‘एक देश, दुई सिस्टम’ को प्रावधानलाई लामो समयसम्म स्थायित्वका लागि मद्दत पुर्याउने कुरालाई नजरअन्दाज गरिरहेको छ ।’

चिनियाँ प्रवक्ताले थपे, ‘क्यानडाले गरेको आफ्नो गल्तीलाई तुरुन्त सच्याउन चीन आग्रह गर्दछ र चीन–क्यानडाको सम्बन्धलाई थप क्षती हुनबाट जोगाउन हङ्गकङ र चीनको आन्तरिक मामिलामा कुनै प्रकारको दखल दिन बन्द गरोस् ।’

जबदेखि क्यानडाले चीनको कम्पनी ह्वावेका सीफओ (चीफ फाइनेन्सियल अफिसर) मेंग वाङ्जोलाई सन् २०१८ मा पक्राउ गरेको थियो, त्यति बेलादेखि चीन र क्यानडाबीचको कूटनीतिक सम्बन्ध खराब हुन थालेको थियो । चीनले क्यानडाका दुई नागरिक हिरासतमा लिएको थियो जसमध्ये एक पूर्व कुटनीतिज्ञ पनि थिए ।

स्रोतः बीबीसी   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप