शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमण बढेपछि उपत्यकामा आइसोलेशन सेन्टर निर्माण गरिदै, तीन हजार बेड पुर्‍याइने

लक्षणविहीन संक्रमितलाई आइसोलेशन सेन्टरमा राखिने
बुधबार, ३१ असार २०७७, ०६ : ३६
बुधबार, ३१ असार २०७७

सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै आइसोलेशनमा बस्न सक्ने गरी नयाँ मापदण्ड जारी गरेको थियो । १४ दिनसम्म आइसोलेशनमा बस्ने संक्रमितमा लक्षण नदेखिएमा पुनः परीक्षण नगरिकन सरकारले घर पठाएको थियो । त्यस्तै, भारतबाट स्वदेश फर्किएका कतिपय नेपालीलाई १४ दिन क्वारेन्टानमा राखेर आरडिटी परीक्षण मात्र गरेर घर फर्किएका थिए ।

तर, पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि लक्षणविहीन कोरोनासंक्रमितलाई   आइसोलेशन सेन्टरमा राखिने भएको छ । लक्षणविहीन संक्रमितलाई अस्पताल भर्ना नगरेर आइसोलेसन सेन्टरमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले बताए ।

काठमाडौँ उपत्यकाका तीन ठाउँका आइसोलेशन सेन्टरमा करिब दुई हजार लक्षणविहीन कोरोना संक्रमितलाई राखिने छ । खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेसन सेन्टर बनाउने काम अघि बढाइएको उनले बताए ।

उपत्यकामा आगामी दिनमा संक्रमणको अवस्था हेरेर आइसोलेशन बेड संख्या थप गरेर करिब तीन हजारसम्म पुर्‍याउने योजना छ । संक्रमित बढ्न सक्ने देखिएपछि कोभिड अस्पतालहरुले धान्न नसक्ने भन्दै सरकारले आइसोलेशन सेन्टर बनाएको हो । खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेशन सेन्टरमा आवश्यकता परेको खण्डमा जुनसुकै बेला लक्षणविहीन कोरोना संक्रमितलाई राख्न सकिन्छ ।

लक्षण भएका कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिने छ भने लक्षणविहीन संक्रमितलाई आइसोलेशनमा राखिने प्रवक्ता डाक्टर गौतम बताउँछन् । मापदण्डअनुसार लक्षणविहीन कोरोना संक्रमित आफ्नो इच्छा अनुसार घरमा बस्न समेत पाउनेछन् ।

हाल पनि खरिपाटीमा हवाई उडानमार्फ्त स्वादेश आएकालाई राखिएको छ । यसअघि चीनमा कोरोना संक्रमणले महामारीको रुप लिएपछि गत फागुन ४ गते १ सय ८५ नेपाली विद्यार्थीलाई ऊहानबाट स्वदेश ल्याएपछि खरिपाटी क्वारेन्टाइनमा राखिएको थियो ।

काठमाडौं भक्तपुर र ललितपुरमा भेटिएका कोरोना संक्रमितलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल ललितपुर, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार हुँदै आएको छ ।

उपत्यकामा संक्रमतिको संख्यमा बढ्दै गएमा यी चार अस्पतालले धान्न सक्ने अवस्था हुँदैन । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्यमा बढ्दा अस्पताल भर्ना हुनका लागि बिरामीले समस्या भोग्दै आएका छन् । त्यसैले लक्षणविहिन संक्रमितलाई आइसोलेशन सेन्टरमा राख्ने निर्णय मन्त्रालयले गरेको हो ।

मंगलबारसम्मको तथ्यांकअनुसार ललितपुरस्थित पाटन अस्पतालमा आज ६५ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १ जना संक्रमितलाई आइसियूमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए ।

यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५२ जना संक्रमितको उपचार भइरहेको छ ।  टेकु अस्पतालमा ३० आइसोलेसन, २० जना आइसियू र २ भेन्टिलेटर रहेको अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मंगलबार ६७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ६७ जना कोरोना संक्रमतिको अवस्था सामान्य रहेको डिआइजी हरिशचन्द्र अधिकारीले बताए ।

उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले आइसोलेसन सेन्टर बनाउन थालेको हो । ७७ भन्दा बढि स्थानमा कोरोना संक्रमित भेटिएसँगै उपत्यकाको स्थानीयस्तरमा कोरोना फैलिएको हुन सक्ने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

त्यसैले नेपालमा कोरोना पुष्टि भएको ५ महिनापछि उपत्यकामा ११ दिनयता संक्रमितको संख्या बढेसँगै उच्च जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । उपत्यका कोरोना संक्रमितको संख्या हालसम्म ३ सय ५६ जना कोरोना संक्रमित छन् । काडमाडौँमा २ सय  ३५ जना, ललितपुरमा ७६ जना र भक्तपुरमा ४५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

जनघनत्व धेरै भएको उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै परीक्षणको दायरा फराकिलो बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । समुदायस्तरमा कोरोना फैलिएको हो कि होइन भनेर पत्ता लगाउन पीसीआर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ३ हजार मानिसको स्वाब संकलन गरिएको उनले बताए ।

कोरोना परीक्षणको नतिजाको आधारमा मन्त्रालयले योजना तथा रणनीति बनाएर अगाडि बढ्ने उनको भनाइ छ । उपत्यकामा घरबाहिर निस्कनेले सजकता नअपनाउँदा जोखिम झन् बढको सहप्रवक्ता डाक्टर अधिकारी बताउँछन् ।

घरबाहिर निस्कदा अनिवार्यरुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, भीडभाड नगर्न, सेनिटाइजर तथा साबुनपानीले हात धुन उनले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप