शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अयोध्या प्रकरण : पार्टीभित्र एकपछि अर्को विवादमा प्रधानमन्त्री ओली

बालुवाटार वार्तामा प्रचण्डले उठाए प्रश्न
मङ्गलबार, ३० असार २०७७, १७ : २२
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । अयोध्या र रामको जन्म भूमिबारेको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली थप विवादमा तानिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार अयोध्याबारे दिएको अभिव्यक्तिको सत्तारुढ दल नेकपाकै शीर्ष नेताहरुले विरोध र आलोचना गरेका छन् ।  यअसघि आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन चलखेल गरेको अभिव्यक्ति दिएर विवादित बनेका ओलीले भारतको चर्को अर्को आलोचना गर्दै ‘सत्यमेव जयते कि सिंहमेव जयते’ भन्दै टिप्पणी गरेका थिए । 

अहिले फेरि ओली अयोध्या र राम नेपालमै जम्मिएको भन्दै बिना प्रमाण बोलेपछि विवादमा तानिएका हुन् । जसको नेपालदेखि भारतसम्म विभिन्न टिकाटिप्पणी र आलोचना भएको छ । यही प्रकरणलाई जोडेर नेकपाकै शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्ति फिर्ता लिएर  आत्मालोचना गर्नुपर्ने बताएका छन् । पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई अयोध्याबारेको अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न सुझाएका  छन् ।

‘ नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ’, गौतमले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईँले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ ।’ 

गौतमले यस विषयमा ओलीले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका लागेकोमा नभन्दै हिजो तथ्य र प्रमाण बिना त्यसलाई सार्वजनिक गरिछाडेको बताएका छन् ।

गौतमले यदि त्यस्तै भएपनि तथ्य, प्रमाण जुटाएर प्रधानमनत्रीले नभई कुनै इतिहासकारबाट सार्वजनिक गर्नुपर्नेमा त्यसो नगरी प्रधानमन्त्री आफै जान्ने भएको भन्दै असन्तुष्टि जनाएका छन् । 

‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु,’ गौतमले लेखेका छन् ।

गौतमले अरु के लेखेका छन् फेसबुकमा ?

~~राम जन्मभूमि र विवाद~~
नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क.केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।
क.केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँ चाहदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो ।
भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ । संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पु¥याउने क्रियाकलाप गर्न कसैले हुदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौ ।
राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।
३० असार, २०७७

त्यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लक्षित गर्दै नेपालका राजनीतिक पार्टी, नेता र नेपालीको अपमान र अवमूल्यन गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

मंगलबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले आलोचनात्मक चेतबिना तथ्य नहेरी, तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्याग्न सुझाव दिएका छन् । 

उनले यस प्रकारको प्रवृतिबाट नयाँ पुस्तालाई हामी के सिकाउदैछौ भनेर प्रश्न पनि गरेका छन् । 

‘नयाँ युवा पुस्तालाई हामी के सिकाउँदैछौ ? देशभक्त र विवेकी बनौँ’, श्रेष्ठको भनाइ छ । 

‘केही त्यस्ता ‘परस्त’ होलान्, लडौँ । तर हरहमेसा ‘षडयन्त्र सिद्धान्त’ आविष्कार नगरौँ । आन्तरिक राजनीतिक प्रयोजनले यसो गर्नु त अपराध नै हुन्छ’, प्रवक्ता श्रेष्ठले ट्वीटरमार्फत भनेका छन् । 

यस्तो छ प्रवक्ता श्रेष्ठको ट्वीट 

यसैबीच नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ओलीमा सामन्ती सोच हावी भएको भन्दै उनले ५ वर्षसम्म सरकारको नेतृत्व गरे नेकपा नै ध्वस्त हुने बताएका छन् ।

सहाना प्रधान प्रतिष्ठानको आयोजनामा सोमबार भएको अन्तरक्रिया र सोही दिन एक टिभी कार्यक्रममा बोल्दै नेता खनालले यस्तो दावी गरेका हुन् । 

प्रचण्ड माैन 

यसैबीच प्रधानमन्त्रीको अभिव्यक्तिबारे कार्यकारी अध्यक्ष प्रचण्ड हालसम्म मौन छन् । तर मंगलबारको ओलीसँगको वान टु वान वार्तामा प्रचण्डले यसविषयमा कुरा राखेको स्रोतले बताएको छ । यद्यपी यसविषयमा खुलेर कुरा नभएको बताइएपनि प्रचण्डले प्रधानमन्त्रीको टिप्पणीले समस्या निम्त्याउन सक्नेभन्दै चिन्ता व्यक्त गरेका थिए । 

यसअघि आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतले षड्यन्त्र गरेको ओलीले अभिव्यक्ति दिँदा प्रचण्डले प्रतिवाद गर्दै भारतले नभइ आफूले राजीनामा मागेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप