शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मिडियाको टिप्पणी : ओली विवादास्पद अभिव्यक्ति दिने नेता

मङ्गलबार, ३० असार २०७७, १५ : ११
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु धर्मावलम्बीले भगवानको अवतारका रुपमा मान्दै आएका रामको जन्म नेपालमै भएको दावी गरेपछि भारतीय मिडियाले उनलाई ‘विवादास्पद अभिव्यक्ति दिने नेता’ का रुपमा चित्रण गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रामको जन्म नेपालमै भएको दावी गरेका थिए । रामका पिता राजा दशरथको राज्य नेपालमै (वीरगञ्जको केही पश्चिमतिर) रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उनले नेपाल सांस्कृतिक अतिक्रमणमा पर्दै आएको जिकिरसमेत गरे । भारतको उत्तर प्रदेश राज्यमा रहेको अयोध्या रामको जन्मभूमि नरहेको तर्क गर्दै उनले त्यहाँबाट सीतासँग विवाह गर्न जनकपुर आउन त्यो बेला सम्भव नभएको बताए ।

उनका यी अभिव्यक्तिलाई भारतीय मिडियाले आफ्नो अनुकुल हुनेगरी व्याख्या गर्दै प्रधानमन्त्री ओलीको छवि ‘विवादास्पद अभिव्यक्ति दिने नेता’ का रुपमा रहेको उल्लेख गरेका छन् ।
हिन्दी भाषाको अखबार हिन्दूस्तान’को अनलाइन संस्करणमा प्रधानमन्त्री ओली आफ्नो कुर्सी जोगाउन अनेक तिकडम गरिरहेको आरोप लगाइएको छ । यसै क्रममा ओलीले भारतविरुद्ध बयानबाजी गरिरहेको उक्त अखबारको दावी छ ।

‘चीनको इशारामा हिँडिरहेका ओलीले जनताको सहानुभूति बटुल्नका लागि कहिले नयाँ नक्शा जारी गर्छन्, कहिले नेपालमा कोरोना भाइरस फैलिनका लागि भारतबाट आएका मानिसलाई दोषी देखाउँछन्,’ समाचारमा लेखिएको छ, ‘लगातार भड्काउपूर्ण भाषणमार्फत आफ्नो कुर्सी बचाउन खोजेका ओलीले भगवान राम भारतीय नभएर नेपाली रहेको दावी गरेका छन् ।’

अर्को भारतीय अखबार नवभारत टाइम्सले नेपालका प्रधानमन्त्री ओलीले फेरि अर्को विवादास्पद अभिव्यक्ति दिएको भन्दै अयोध्या मामिलामा ओलीले व्यक्त गरेका भनाइलाई समाचार बनाएको छ । ओलीले यसअघि आफूलाई पदबाट हटाउन भारत सक्रिय भएको आरोप लगाएको उसको भनाइ छ ।

सोही अखबारले मंगलबार आफ्नो अनलाइन संस्करणमा भारतका सन्तहरुको संस्था ‘अखिल भारतीय अखाडा परिषद’ का महन्त नरेन्द्र गिरीको प्रतिक्रिया पनि प्रकाशित गरेको छ जसमा रामको जन्म भएको अयोध्या भारतमै रहेको दावी गरिएको छ ।

महन्त गिरीले प्रधानमन्त्री ओलीलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन सुझाव दिएका छन् । अन्यथा नेपालमा रहेका आफ्ना शिष्यमार्फत सडक आन्दोलन गर्ने धम्की पनि उनले दिएका छन् । ‘हाम्रा लाखौं शिष्यलाई सडकमा उतारेर ओलीलाई एक महिनाभित्रै प्रधानमन्त्रीको कुर्सीबाट हटाउन सक्छौं,’ उनले भनेका छन् ।

दैनिक भाष्कर अखबारले पनि प्रधानमन्त्री ओलीले लगातार भारतविरोधी अभिव्यक्ति दिएको टिप्पणी गरेको छ । दुई देशबीच सीमा विवाद चलिरहेको समयमा ओलीले अयोध्या मामलामा पछिल्लो अभिव्यक्ति दिएको उसको भनाइ छ ।

प्रधानमन्त्री ओलीका बारेमा विवादास्पद रिपोर्ट बनाएको भारतीय न्यूज च्यानल ‘जी न्यूज’ को अनलाइन संस्करणमा पनि अयोध्याबारे ओलीले दिएको अभिव्यक्तिलाई लिएर टिप्पणी गरिएको छ ।

ओलीको पछिल्लो अभिव्यक्तिले भारतको कश्मीरदेखि कन्याकुमारीसम्म असन्तुष्टि बढाएको उसको भनाइ छ ।

राम मन्दिर ट्रस्टका महन्त दिनेन्द्र दासलाई उद्धृत गर्दै जी न्यूजको अनलाइन संस्करणमा लेखिएको छ, ‘भगवान राम अयोध्यामा सरयु नदी किनारमा जन्मिनुभएको थियो, नेपालमा संस्कृति परिवर्तनका लागि प्रयास भइरहेको छ ।’

उत्तर प्रदेश राज्यका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको ट्वीटलाई पनि समाचारमा स्थान दिइएको छ । उनले प्रधानमन्त्री ओलीका बारेमा आपत्तिजनक टिप्पणी गर्दै लेखेका छन्, ‘मर्यादा पुरुषोत्तम भगवान श्री रामजीको जन्मस्थललाई लिएर नेपालका कम्युनिस्ट प्रधानमन्त्री श्री केपी शर्मा ओलीजीको अमर्यादित बयानले उहाँको मानसिक दरिद्रतालाई दर्शाउँछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप