केन्द्रीय संस्करण

नेकपामा आवश्यक शल्यक्रिया

person explore access_timeअसार ३०, २०७७ chat_bubble_outline0

उत्कर्षमा पुगेको नेकपाभित्रको विवाद यतिबेला केही मत्थर जस्तो देखिएको छ । आन्तरिक बहसको उत्कर्ष सडकमा समेत व्यक्त भएको थियो । यो बहसलाई लिएर पार्टीभित्र र बाहिर व्यापक तरङ्ग उत्पन्न भएको थियो । देशभित्र मात्रै होइन यो बहसलाई लिएर कूटनीतिक जगतमा समेत निकै ठूलो तरङ्ग उत्पन्न भएको थियो ।

कतिपयले यसलाई फुट र विभाजनका रूपमा समेत व्याख्या गरेका छन् । परिस्थिति यसरी विकास भयो कि पार्टी स्थायी समिति बैठक चलिरहँदा आन्तरिक छलफल र बहस बाहिरै छताछुल्ल रूपमा आइपुगे । एउटा जीवन्त पार्टीमा छलफल बहस हुनु स्वाभाविक र सामान्य विषय नै हो । तर आन्तरिक विषयलाई लिएर सडकमा जुन किसिमका गतिविधिहरु भए त्यसले पार्टीलाई गम्भीर मोडमा पुर्याएको अनुमान सहजै गर्न सकिन्छ । बैठक भित्र र बाहिर नेताहरुले गरेका गतिविधि र भएका र छलफल हेर्दा परिस्थितिको गम्भीरतालाई अनुमान गर्न सकिन्छ । 

 जारी पार्टी स्थायी समिति बैठक पटकपटक स्थगित भएको छ । दुई अध्यक्ष बीचका बारम्बारका भेटघाट निष्कर्षविहीन भइरहेका छन् । यसरी बैठक स्थगित भइरहनु र अन्तै कतै सहमतिको गृहकार्य भइरहनु कमिटी प्रणालीप्रतिको गम्भीर उपहास हो । स्थायी समिति बैठकलाई अनिर्णयको बन्दी बनाउनु र पार्टी एकता विरोधी गतिविधि माथिदेखि तलसम्म देखिइरहनु राम्रो सङ्केत होइन । तत्काल सहमतिले मूर्त रूप लिने सम्भावना पनि देखापरेको छैन । पार्टीको यही गम्भीर अवस्थामा देशीविदेशी शक्तिकेन्द्रहरूले आफ्ना राजनीतिक दाउपेच सफल पार्ने कोसिस गरिरहेका छन् । कम्युनिस्ट पार्टीको एकता र झण्डै दुई तिहाइ जनमत प्राप्त सरकारबाट देशमा नयाँ राजनीतिक र आर्थिक क्रान्ति हुने अपेक्षा गरेका लाखौँ नेताकार्यकर्ता र जनसमुदाय यस्ता गतिविधिबाट निराश भएका छन् । 

नेकपा एकीकरणको शैशव कालमै छ । आधारभूत रूपले सैद्धान्तिक मूल्यमान्यता एक भए पनि साङ्गठनिक, राजनीतिक र वैचारिक दृष्टिले भिन्न ऐतिहासिक पृष्ठभूमिसहित नेकपा एकीकरण भएको हो । एकताको ऐतिहासिक दस्तावेजमा दुवै पक्षले आफ्नो नकरात्मक विरासतलाई छोडेर एकताको नयाँ सैद्धान्तिक धरातलमा उभिने सङ्कल्प गरेका हुन् । त्यो नयाँ धरातल कुनै काल्पनिक वा अव्यावहारिक छैन । विचार र दृष्टिकोण स्पष्ट छ । सैद्धान्तिक अवधारणा सपाट छ । अहिले नै बुझाइमा एकमत हुन बाँकी रहेका सैद्धान्तिक र राजनीतिक महत्त्वका विषय आगामी महाधिवेशनले स्पष्ट गर्ने कुरा पनि निश्चित गरिएको छ । तर पनि नेकपामा पटकपटक विवाद उत्पन्न भइरहेको छ । एकता प्रक्रियाले पूर्णता नपाउँदै यो स्तरको विवाद हुनु अथवा पार्टीमा फुटको अभ्यास हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

नेपालको कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनका अनेकौँ शृङ्खलाहरु पार गर्दै अघि बढिरहेको छ । यो अवधिमा पार्टी एकताका धेरै मोडेलहरु पनि नेपालमा प्रयोग भइसकेका छन् । फुट र विभाजनको इतिहास हेर्दा ती कहिले वैचारिक–राजनीतिक कारणले भए भने कहिले सामान्य व्यावहारिक कारणले पनि भएको देखिन्छ । त्यसो त नेपाली राजनीतिमा क्रियाशील पार्टीहरु सबैको इतिहास उस्तै उस्तै प्रकृतिको छ । एकताका लागि भने निकै ठूलो मिहिनेत गर्नुपरेको इतिहास छ । नेकपा निर्माणमा गरिएको मिहिनेत इतिहासमा एकताका लागि गरिएका सबैखाले प्रयत्नहरुको समुच्च रूप हो । यो प्रयास जनताद्वारा समेत अनुमोदित भएको हुनाले यो एकता नेपालको इतिहासमै सबैभन्दा ठूलो महत्त्वको रहेको छ । यसलाई जोगाएर नेकपालाई कम्युनिस्ट मूल्य, मान्यता र आदर्शको जगमा टेकेर सुन्दर भविष्यको मार्गमा लैजानुपर्ने जिम्मेवारी र दायित्व मूलतः नेतृत्वको काँधमा आएको छ । 

यतिबेला नेकपाभित्रको विवादलाई कतिपयले सतही र हल्का रूपमा लिएका छन् । शक्तिको बाँडफाँट र कुर्सीको खेल भनेर गलत व्याख्या गरिरहेका छन् । कतिपयले यो बहसलाई सामान्यीकरण गरेका छन् । नेकपा भित्रको अहिलेको बहस वास्तवमै दूरगामी महत्त्वको रहेको छ । पार्टी निर्माणको प्रारम्भिक चरणमै गर्ने अभ्यास परम्परागत र गलत विरासतको निरन्तरता भयो भने नेकपालाई नाम मात्रको एकताको स्वरूप त दिन सकिएला तर लाखौँ नेता र कार्यकर्ताहरुको नेतृत्व गर्दै राष्ट्रका तमाम चुनौतीहरूको सामना गर्न लायक कम्युनिस्ट पार्टी निर्माण गर्न असम्भव छ । नेकपाभित्रको आजको बहस पार्टीलाई साँच्चै कम्युनिस्ट पार्टीको मूल्यमान्यता र आदर्शमा टेकेर अगाडि बढाउने या परम्परागत गुटगत मानसिकताको गलत परम्परामा अघि बढाउने भन्ने हो । पार्टी एकताका मूल्य, मान्यता र प्रतिबद्धतालाई निष्ठापूर्ण ढङ्गबाट पालना गर्ने वा रणनीतिक स्वार्थको दाउपेचमा परिणत गर्ने भन्ने हो । पार्टीभित्रै विभेदको अवशेष कायमै राखेर जाने वा सबै नेता कार्यकर्ताहरूको सहभागितामूलक नयाँ मार्गमा अघि बढ्ने भन्ने हो । 

आज नेकपामा गम्भीर समस्या देखा परेका छन् । हजारौँ इमानदार नेता कार्यकर्ताहरु जिम्मेवारीविहीन भएर बसेका छन् । पार्टी एकताका कामहरुले पूर्णता पाएका छैनन् । निश्चित गुटको सदस्य भएका कारणले कतिपय नेता कार्यकर्ताहरुले दोहोरो तेहेरो जिम्मेवारी सम्हाल्नु परिरहेको छ । नेकपा नेतृत्वको सरकार भए पनि पार्टीले त्यसको स्वामित्व ग्रहण गर्ने अवस्था विकास हुन सकेन । सामूहिक निर्णय वा कमिटी प्रणालीबाट अघि बढ्ने भनिए पनि सरकारका कतिपय निर्णयहरु पार्टीका जिम्मेवार नेताहरुले निर्णय भइसकेपछि मात्रै जानकारी पाउने अवस्था विद्यमान छ । पार्टीका कुनै पनि निर्णय सरकारले लागू नगर्ने र सरकार केवल गुटको छायाको रूपमा विकास भइरहने हुनाले पनि नेकपाको अन्तरविरोधमा यसले मलजल गरिरहेको छ । यसले गर्दा सरकारले पार्टी चलाउने कि पार्टीले सरकार चलाउने भन्ने गम्भीर सैद्धान्तिक महत्त्वको विषय नेकपाभित्र विवादको एउटा महत्त्वपूर्ण एजेन्डा हो । 

राष्ट्रियताको सवालमा पार्टीले संस्थागत निर्णय गरेर अघि बढेको हो । भारतले अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर आफ्नो नक्सा  सार्वजनिक गरिसकेपछि पार्टीको केन्द्रीय समिति, स्थायी समिति र सचिवालयले औपचारिक निर्णय गरेर सरकारलाई नेपालको आफ्नो नक्सा सार्वजनिक गर्न निर्देशन गरेको थियो । तर त्यो विषयलाई प्रधानमन्त्री स्वयंको व्यक्तिगत पहलकदमी र बहादुरीको विषय बनाएर राष्ट्रवादको जामा पहिराउने कार्य गरियो । यसरी पार्टीलाई गौण र व्यक्तिलाई प्रधान बनाएर अघि बढ्ने परिपाटीले व्यक्तिवादको सेवा गर्दछ । व्यक्तिवादी विचार र चिन्तन विरुद्धको सङ्घर्ष आज नेकपाको अर्काे महत्त्वपूर्ण एजेन्डा हो । नेकपाले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई अङ्गीकार गरेको छ । यो सिद्धान्तले सबैखाले व्यक्तिवादी चिन्तन र प्रवृत्तिलाई अस्वीकार गरेको हुन्छ । त्यसैले पार्टीको यो बहस सैद्धान्तिक हो । यसले कमिटी प्रणाली र सामूहिक नेतृत्वको विकास गर्नेछ । 
नेपाल सामान्य प्रकृतिको राजनीतिक घटनाक्रमबाट अघि बढिरहेको छैन । एकीकृत राजतन्त्रात्मक शासन प्रणालीको अन्त्य, महान जनयुद्ध र ऐतिहासिक जन–आन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अर्थात् नेपाली राजनीतिले आफ्नो मौलिक पहिचानसहितको भविष्यको यात्रा तय गरेको छ । यस्तो गम्भीर कार्यका लागि विगतमा जसरी राजनीतिक पार्टीका बीचमा साझा सहमति निर्माण गर्दै अघि बढ्यो त्यसरी नै आगामी दिनमा पनि त्यस प्रकारको राजनीतिक सहमतिको आवश्यकता छ । पार्टीभित्रको आन्तरिक जीवनमा सहमति र समझदारी कायम हुन सकेन भने त्यस्तो सहमति हासिल गर्न सकिँदैन । नयाँ व्यवस्थाप्रति आम जनताको आशा, भरोसा र विश्वास वृद्धि गर्न लाग्नु पर्दछ । तर सरकारका गतिविधि हेर्दा त्यो दिशामा त्यति गम्भीर भएको देखिँदैन । जसले गर्दा आम जनतामा यो व्यवस्थाप्रति वितृष्णा पैदा हुँदै गएको देखिन्छ । नेकपाभित्रको बहसको विषय यो पनि हो । यदि समयमै यो विषयमा गम्भीरतापूर्वक सोचिएन भने जनताले बलिदान गरेर ल्याएको यो व्यवस्था नै धरापमा पर्न सक्दछ । 

नेकपाभित्र विवादको अर्काे कारण भनेको सुशासनको विषय हो । जनताले लडेर ल्याएको व्यवस्थामा विगतको शासन व्यवस्थामा झैँ राज्यको नीति र व्यवहार उस्तै प्रकृतिको देखिन्छ । नेपाली जनताले आफै संविधानसभा मार्फत लेखेको संविधान र कानुनको कार्यान्वयनमा जनताले देखिनेगरी परिवर्तनको आभास गर्न पाउनु पर्दछ । तर आज राज्यका हरेक निकाय सुधार र रूपान्तरण होइन कि झन् बढी जनतामाथि अन्याय र अत्याचारको भारी थोपर्ने खालका देखिन्छन् । हरेक क्षेत्रमा काण्डै काण्ड भएको समाचारहरु तथ्यसहित सार्वजनिक भइरहेका छन् । विकास निर्माणका काम असारे खेतीजस्ता भएका छन् । समाजमा ज्यादतीका विविध रूपहरु बढिरहेका छन् । तस्करी, कालोबजारी, मूल्यवृद्धि लगायतका समस्याहरु दिनानुदिन बढिरहेकै छन् । जनताको यही असन्तुष्टि नेकपाभित्रको बहसको अर्काे एउटा महत्त्वपूर्ण एजेन्डा हो । 

नेकपाभित्र बहसको अर्काे महत्त्वपूर्ण एजेन्डा भनेको पार्टी निर्माणको हो । जनवादी केन्द्रीयताको सिद्धान्तमा चल्ने पार्टी निर्माण गर्नुपर्दछ । पार्टीमा नयाँ नयाँ विचार र बहसलाई प्रवेश गराउनु पर्दछ । एउटा सच्चा कम्युनिस्ट पार्टीबिना नेपालको समाजवाद र समृद्धिको अभियानले पूर्णता प्राप्त गर्न सक्दैन । पार्टीलाई कुनै व्यक्ति वा गुटको स्वार्थ पूरा गर्ने माध्यम कदापि बनाउनु हुँदैन । पार्टीभित्र देखिएको व्यक्तिवाद, अराजकतावाद र नोकरशाही कार्यशैली विरुद्ध सङ्घर्ष गरेर रूपान्तरणको मार्गमा अघि बढाउनुपर्दछ । त्यसका लागि पार्टीमा जिम्मेवार पहलको आवश्यकता छ । पार्टी एकताको घोषणा गर्दा दुई वर्षभित्रमा एकता महाधिवेशन गर्ने भनिएको थियो । दुई वर्ष बितिसक्यो तर यही ताल हो भने आगामी दुई वर्षमा समेत महाधिवेशन हुने छाँटकाँट देखिँदैन । यसरी पार्टीलाई ठीक दिशामा अघि बढाउन सकिँदैन । हाल चलिरहेको नेकपाभित्रको बहसले यो गम्भीर विषयको समेत उपयुक्त निकास निकाल्नुपर्दछ ।

पार्टीभित्र यस्ता धेरै विषयहरु छन्, जसले बहसलाई उत्कर्षमा पुर्याएका छन् । पार्टीभित्र उठेका यस्ता गम्भीर सवाललाई अन्यत्र मोड्न एकथरी पार्टी नेतृत्व विषयान्तर गरिरहेको छ । आफै राजीनामाको एजेन्डा उठाउने र अरूलाई दोषारोपण गरेर कुर्सी बचाउन मरिहत्ते गर्ने कार्य भइरहेको छ । कहिले राष्ट्रपतिलाई महाअभियोग लगाइँदैछ भनेर हल्ला गर्ने कहिले पार्टी फुट र विभाजनमा जान्छ भनेर प्रचार गर्ने काम भइरहेको छ । पार्टीभित्रको आन्तरिक बहसबाट भाग्नका लागि विदेशी शक्ति केन्द्रको हवाला दिएर प्रचार गराइन्छ र सडकमा नारा जुलुस निकाल्न लगाइन्छ । पार्टीभित्र उठ्ने जीवन्त बहस र छलफलबाट पछि हट्नका लागि गरिएका यस्ताखाले गतिविधिले पार्टीको विधि र पद्धतिको नै खिल्ली उडाइरहेको छ । यसका बाबजुद पार्टीमा अहिले सबैखाले गलत क्रियाकलापका विरुद्ध एकढिक्का भएर विषय केन्द्रित बहसः गर्ने र पार्टीलाई रूपान्तरणसहित एकताबद्ध गर्नुपर्ने आवश्यकता छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गौरवपूर्ण इतिहासको जगमा खडा भएको नेपालको शक्तिशाली पार्टी हो । कम्युनिस्ट पार्टीको इतिहास निर्माणका लागि नेपाल आमाका दसौँ हजार वीर सन्ततिले आफ्नो जीवनको बलिदानी दिइसकेका छन् । सङ्घर्षका हरेक मोर्चामा सफल लाखौँ नेता र कार्यकर्ताको केन्द्रीकरण यो पार्टीमा छ । देश–विदेशमा रहेका करोडौँ नेपालीहरूको आशा भरोसा र विश्वास जनमतद्वारा यो पार्टीले प्राप्त गरेको छ । पार्टीलाई अझ बढी मजबुत बनाएर देशलाई आमूल परिवर्तनको मार्गमा लैजाने ऐतिहासिक दायित्व र जिम्मेवारी नेकपाको काँधमा छ । टुटफुट र विभाजनका अनेकौँ शृङ्खलाहरु नजिकबाट हेरिसकेको हुनाले नेकपा फुट र विभाजनमा जाने सम्भावना तत्काल देखिँदैन । त्यसैले बहस फुट र विभाजनको निम्ति होइन पार्टीलाई देश र जनताप्रति जिम्मेवार बनाउने विषयमा केन्द्रित हो । एकताको प्रारम्भिक चरणमा नै पार्टीमा जुन किसिमका रोग देखा परेका छन् त्यसलाई शल्यक्रिया गरेर नै पार्टीलाई एकताबद्ध र मजबुत बनाउन सकिन्छ । जुन अहिलेको अपरिहार्य आवश्यकता हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.