शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

मङ्गलबार, ३० असार २०७७, १० : २०
मङ्गलबार, ३० असार २०७७

आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो ।

विसं २०६३ पुस २० गते सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक मोरङ डाँगीहाटका ४५ वर्षीय नातीकाजी सुवेदी र श्रीमती सानु सुवेदीलाई कामदार सर्लाहीका जयकिशोर साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए । साह पक्राउ परे पनि राना अझै फरार छन् । उक्त घटना सिआइबीले सोमबार सार्वजनिक गरेको हो ।

सःमिलका मालिकले काम बिगारेको भन्दै गाली गरेको विषयमा त्यसको बदला लिन उनीहरुले सुवेदी दम्पती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी निर्ममतापूर्वक आक्रमण गरेका थिए । सोही चोटका कारण सुवेदी दम्पतीको मृत्यु भएको र छोरा भने बाँच्न सफल भएका थिए ।

घटनापछि दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनऊमा गई दुई वर्षसम्म सँगै बसेका थिए । प्रताप राना अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधारकार्डलगायतका कागजात बनाई पहिचानसमेत बदलेर भारतको लखनऊमा बस्दै आएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । 
 
सिआइबीले आफ्नो स्थापनाकालदेखि नै उक्त घटनालाई प्राथमिकतामा राखी अनुसन्धान गरिरहेकामा घटनामा गम्भीर घाइते भई बाँच्न सफल विलभ सुवेदीसँगको निरन्तर सम्पर्क र सूचनाका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी हुलिया सनाखत गरेर उनलाई पक्राउ गरिएको थापाले बताए । अर्का फरार व्यक्ति पनि छिट्टै पक्राउ पर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप